काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले सरकार गठनदेखि नै सत्ता र प्रतिपक्षीबीच सहमति चाहेको बताएका छन् ।
रामेछापको सुनापाति गाउँपालिका आयोजित कार्यक्रममा उनले गठबन्धन पूरै अवधि कायम रहने पनि दाबी गरे ।
“हामीले सदन सुचारु गर्न, शान्ति प्रक्रियाका बाँकी काम सहजतका साथ अघि बढाउन सत्ता पक्ष र प्रतिपक्षबीच हुन सक्ने सहमति होस् भन्ने सुरुदेखि नै चाहेका छौँ,” उनले राष्ट्रियसभामा एमालेलाई सिट दिन खोजिएकोतर्फ संकेत गर्दै भने ।
प्रधानमन्त्रीले सदन चलाउन सहज बनाउन केही महिनाअघि संघीय संसद्को समिति गठन गर्दा नै उदारता प्रदर्शन गरेको बताए । उनले प्रतिपक्षलाई लेखा समिति मात्रै दिने परम्परा रहेकोमा तीनवटा समिति दिइएको बताए । साथै सरकारका काममा अझै राम्रो गर्नुपर्छ भन्ने छटपटी रहेको उनले सुनाए ।