site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नांगा मान्छे र सुकेका दाउराहरू

जाडो छ
त्यसैले त केही मान्छेहरू
रहरले, करले या बलले
वस्त्र खोलेर सर्वांग भई
न्यानोका लागि भन्दै 
वन डुल्दै छन्
सुकेका दाउरा खोज्न 
आगो बाल्न, आगो ताप्न !

मौसम भन्नु यस्तै हो
यो जाडोको
वन त छ 
तर 
छ त पतझडको
मरेतुल्य छन् वृक्षहरू
अनि छन् भुईंभरि
रुखबाट खसेका
बल्न काबिल
सुकेका दाउराहरू !

Argakhachi Cement Island Ad

केही मान्छेहरू 
रहरले, करले या बलले
वस्त्र खोलेर सर्वांग भई
पहिलेजस्तै अहिले पनि
पछि पनि
हरेक जाडोमा
वन डुल्छन् 
सुकेका दाउराको खोजीमा 
आगो बाल्न, आगो ताप्न
न्यानोका लागि भन्दै ।

अनि,
पहिलेजस्तै अहिले पनि
पछि पनि
हरेक जाडोको
पतझडमा
मरेतुल्य वृक्षको फेदमा 
वरपर
असरल्ल भेटिन्छन्
बल्न काबिल
सुकेका दाउराहरू !
(बर्लिन, जर्मनी)
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्