काठमाडौं । वीर अस्पतालमा पछिल्लो समय सामान्यदेखि महत्त्वपूर्ण ल्याब परीक्षण सेवा प्रभावित भएका छन् । दैनिक अत्यावश्यकीय सामग्री अभावको असर अस्पतालको सरसफाइदेखि ल्याब सेवासम्म परेको छ ।
ओपीडीमा बाँडिने टिकटदेखि बिरामीलाई लगाइने अक्सिजनसम्म अभाव हुने अवस्था अवस्था वीरमा देखिएको छ ।
सामान्यदेखि अत्यावश्यकीय ल्याब सेवा बन्द हुने अवस्थामा
शल्यक्रियाअघि गरिने महत्त्वपूर्ण परीक्षण पीटीआईएनआर वीरमा १० दिन बन्द रह्यो । बुधबार र बिहीबार अस्पतालमा रगतको सीबीसी परीक्षण पनि बन्द रह्यो । केही दिनका लागि पुग्ने रिएजेन्ट ल्याइएपछि बिहीबारबाट यी दुई परीक्षण पुनः सुचारु गरिएको प्रयोगशालाका एक कर्मचारीले बताए ।
तर, रिएजेन्ट पर्याप्त नहुँदा रगतसम्बन्धी विभिन्न परीक्षणहरू फेरि रोकिने अवस्थामा पुगेको छ । “दुई तीनवटा रिएजेन्ट ल्याइएको छ । तर, पर्याप्त छैन । यही अवस्था हो भने अबको केही दिनमा सबै परीक्षण बन्द गर्नुपर्ने अवस्था आउँछ,” ती कर्मचारीले भने ।
अस्पतालमा रगतको सामान्य परीक्षणसमेत नभएपछि बिरामी ट्रमा र नजिकका अन्य अस्पताल पठाउनुपरेको ती कर्मचारीले सुनाए ।
वीरमा दैनिक करिब तीन हजार बिरामी आउने गरेकोमा सात सयदेखि आठसय जनाको ल्याब परीक्षण गर्नुपर्ने हुन्छ ।
जनरल र मेडिकल सामग्रीको चरम अभाव
एक महिनाअघि वीरमा एक्सरे र एमआरआईका लागि फिल्म अभाव भएको थियो । केही समयका लागि जोहो भए पनि अहिले पुनः फिल्म सकिन लागेको स्टोरका एक कर्मचारीले बताए ।
“आयातकर्ताले थप सामान ल्याएका छैनन् । सीटी स्क्यान र एक्सरेमा प्रयोग हुने फिल्म अब एक सातालाई मात्रै बाँकी छ, नयाँ टेन्डर भएको छैन,” उनले भने ।
ल्याबमा नै प्रयोग हुने बार कोडसमेत अभाव हुने अवस्था आएको छ । अस्पतालमा सफाइ सामग्रीको अभाव हुँदा वार्डहरू पानीले मात्रै सफाइ गरिरहेको एक सफाइ कर्मचारीले बताइन् । जनरलतर्फ मंसिर महिनामा कुनै सामान निकासा गरिएको छैन ।
ओपीडी टिकट र अक्सिजन समेत अभाव हुने अवस्थामा
वीरमा पछिल्लो समय ओपीडीमा आउने बिरामीलाई काटिने टिकटसमेत अभाव हुने अवस्था आएको छ । अस्पतालले विशेष र सामान्य गरी दुईखाले टिकट प्रदान गर्दै आएको छ ।
वार्षिक पाँचदेखि सात लाख थान ओपीडी टिकट चाहिने भए पनि चालु आर्थिक वर्षमा खरिदका लागि ढिलो टेन्डर आह्वान हुँदा टिकट अभाव हुने अवस्था आएको जनरल स्टोरका एक कर्मचारी बताउँछन् । टिकट छपाइका लागि मंसिर २४ गते टेन्डर आह्वान गरिएको छ ।
नयाँ टिकट खरिदका लागि गत आर्थिक वर्षको असारदेखि नै माग गरिए पनि हालसम्म नयाँ खरिद हुन सकेको छैन । अब एक–दुई दिनलाई पुग्ने टिकट मात्रै स्टक रहेको स्टोरका कर्मचारी बताउँछन् ।
आयातकर्ताको ठूलो रकम भुक्तानी गर्न नसक्दा रोकियो सामान
स्रोत सुनिश्चित नभएको भन्दै अस्पतालले नयाँ टेन्डर खुलाएको छैन । जनरल र मेडिकल सामग्री आयतकर्ताले गत वर्षकै बक्यौता रहेको भन्दै थप सामग्री ल्याउन मानिरहेका छैनन् । नियमित बजेट साउनमा अउनुपर्ने भए पनि आउन ढिलाइ भएकाले टेन्डर नै अवरोध भएको र सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका प्रशासन प्रमुख बाबुराम घिमिरे बताउँछन् । स्रोत सुनिश्चित नभएकै कारण थप टेन्डर आह्वान गर्न नसिकएको उनको भनाइ छ ।
आयातकर्तालाई गत वर्षकै बक्यौता रकम १५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अस्पताल प्रशासनका एक अधिकारीले जानकारी दिए ।
“सप्लायर्सको ठूलो रकम भुक्तानी गर्न बाँकी छ, पुरानो भुक्तानी मागिरहेका छन्, दिन सकिएको छैन । जेनतेन काम चलाइरहेका छौँ,” ती अधिकारीले भने ।
घट्दो आय, बढ्दो आर्थिक भारले अस्पताल मारमा
घट्दो सरकारी अनुदान र बढ्दो खर्चले पनि वीर अस्पताललाई चरम आर्थिक संकटमा धकेलेको छ । अस्पताल प्रशासनका अनुसार सरकारबाट गत आर्थिक वर्षमा २६ करोड रुपैयाँ अनुदान दिइएकोमा चालु आर्थिक वर्षमा यो रकम एक करोड १६ लाख रुपैयाँमा सीमित भयो ।
नियमित अस्पताल सञ्चालनका लागि गत वर्ष एक अर्ब ४३ करोड रुपैयाँ छुट्याइएकोमा चालु आर्थिक वर्षमा यो रकम ७३ करोडमा झारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
अस्पतालको आन्तरिक आय गत वर्ष ६३ करोड रुपैयाँ रहेको तथ्यांक छ । अस्पतालको ७० प्रतिशत खर्च कर्मचारी व्यवस्थापनमा हुने गरेको छ ।
अस्पतालका जनरल बेड निःशुल्क गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको घोषणाले पनि अस्पताललाई आर्थिक भार थपिएको कर्मचारीहरू बताउँछन् ।
अस्पतालका सबै जनरल बेड निःशुल्क गर्दा सर्जिकल भवनमा थपिएका सबै बेड सञ्चालनमा ल्याउन नसकिएको कर्मचारी बताउँछन् ।
सर्जिकल भवनमा थपिएकासमेत गरी ९०६ बेड सञ्चालन क्षमता भए पनि हाल वीरमा ७०० बेड मात्रै चलिरहेका छन् ।
वीरमा बिरामीले जनरल बेडबापत दैनिक दुईसय रुपैयाँ शुल्क तिर्दै आएका थिए ।
कोभिडकालमा नियुक्त गरिएका २२४ जना नर्स तथा चिकित्सक गत असोज २१ गते हटाउने निर्णय गरेका मन्त्री बस्नेतले ६९ जना कर्मचारी अस्पतालकै मातहतमा थप्न निर्देशन दिए । ती कर्मचारीको पारिश्रमिकको व्यवस्था चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले गर्नुपर्ने छ । यसले वीरलाई थप आर्थिक भार परेको छ ।
त्यतिमात्र नभई बिदाइ गरिएका २२४ जना कर्मचारीको तलब रकम अस्पतालकै शोधभर्नाबाट दिनु भनी मन्त्रालयले पत्राचार गरेको थियो । तर, सोबापत्को रकम अहिलेसम्म अस्पतालको खातामा नआएको लेखा शाखाका कर्मचारी बताउँछन् ।
समस्या समाधानको पहल गरिरहेका छौँ : निमित्त निर्देशक
अस्पतालका सेवा प्रभावित हुनुमा आर्थिक अभाव नै मुख्य कारण रहेको अस्पतालका निमित्त निर्देशक डा. श्रवण कुमार थापा बताउँछन् ।
“केही केही सेवा प्रभावित भएको हो । तर, बन्द हुने अवस्था आएको छैन । यसको पछाडि आर्थिक कारण नै मुख्य हो, बजेट व्यवस्थापन र नयाँ खरिदका लागि सक्दो पहल गर्दै छौँ,” डा. थापा भन्छन् ।