काठमाडौं । एक दिन दिनेश अधिकारीले गोविन्द मधुर आचार्यलाई भने– मसँग गीतको एउटा थिम छ, यसमा गीत लेखौँ, राम्रो हुन्छ जस्तो लागेको छ ।
दिनेशले भने– बिनादोष गल्ती स्वीकार्नुपर्ने अवस्थामा मान्छे कसरी बाँच्छ, त्यस्तो अवस्थामा ऊसँग प्रतिक्रियाका निम्ति कस्ता शब्दहरू होलान् ? दिनेशले गीतको थिम सुनाए । त्यसपछि दिनेश र गोविन्दले सुरु गरे गीत लेख्न ।
आरोपैआरोपले थिचिएर पीडित भएको व्यक्तिले के भन्ला ? अनि, दिनेश र गोविन्दलाई फुर्यो–
एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला...
म मरेको छैन, अझै म मरेको छैन...।
गीतको शब्द पूरा गर्न उनीहरूलाई करिब दुई महिना लाग्यो । योबीचमा दिनेश र गोविन्दबीच केही समय भेट पातलियो । त्यसैले दिनेशको थिममा गोविन्दले गीतलाई पूर्णता दिए ।
शब्दरचना सकिएपछि मिहिनेत गरेर संगीतका सुरहरूमा खेले गोविन्द । दुई दशकको अनुभवले उनलाई निश्चय नै खारेको छ । गीत एउटै भए पनि कम्पोजिसनमा भेरियसन दिए । उतारचढाव दिए, हाई लो रेन्ज चलाए । गमक, खिड्का र अदाहमा ध्यान दिए । सर्जक हुन्, पूरै चित्त त किन बुझ्थ्यो र ? तर, यत्तिको कम्पोजिसनले शब्दलाई न्याय गर्छ भन्ने लाग्यो ।
गीत रेकर्डिङको तयारी सुरु भयो । घट्टकुलोस्थित तरंग रेकर्डिङ पुगे गोविन्द ।
गीत रेकर्डिङ गर्दै उनलाई गजबको प्रतिक्रिया आयो । स्टुडियोकै रेकर्डिङ र मिक्सिङ गर्नेले उनलाई भने– दाइ, यो गीत मलाई दिनुस्, अडियो भिडियो के–के कसरी बनाउनुपर्छ, त्यो सबै जिम्मा र खर्च मेरो भयो ।
गायक इन्द्र जिसीले भने– यो गीत मलाई दिनुस्, म लगानी गरेर भिडियो बनाएर बजारमा ल्याउँछु । तर, गोविन्दले दिएनन् ।
“मैले गीत रेकर्ड गर्दा स्टुडियोमा जति हुनुहुन्थ्यो, सबैले आठ/दशपटक दोहोर्याएर गीत सुन्नुभयो,” गोविन्द करिब तीन महिनाअगाडि फर्किए ।
गीत धेरैले मागे, तर गोविन्दले दिएनन् । किन ?
अरूलाई दिँदा कसरी गीत मर्छ, उनी यसका पटक–पटकका भुक्तभोगी हुन् । “गीत किन्नेले गीत होइन, बजार हेर्नुहुन्छ । गीतको शब्द र संगीतले कसलाई खोज्छ, कसको स्वरमा खुल्छ भन्दा पनि बजारमा को चलेको छ, त्यो हेर्नुहुन्छ,” गोविन्द भन्छन्, “कसरी चल्ने गीत बनाउने भनेर प्रि–प्लान गरेर लाग्नुहुन्छ । त्यसले गीतलाई न्याय गर्दैन ।”
त्यसैले उनले निर्णय गरे– जेसुकै होस्, म यसपटक अडियो मात्रै बजारमा ल्याउँछु ।
गीत मन पराइए पछि भिडियो बनाउँला भन्ने थियो । त्यसमाथि गोविन्दको गीत हेर्नेभन्दा पनि सुन्ने खालकै थियो ।
“सम्भवतः म भिडियो बनाउँथे पनि होला, तर यसअघि मैले लगानी गरेका भिडियोको रिटर्न्स लगानीको एक प्रतिशत पनि नआएपछि मैले योपटक त्यो आँट गर्न सकिनँ,” गोविन्द भन्छन् ।
त्यसपछि गोविन्द पुगे दाङ अर्थात् आफ्नै गृहजिल्ला । धान हरियो हुने समय थियो । त्यही धानबारीमा सामान्य क्यामेरामार्फत गोविन्दले गीत लिप्सिङ गरे ।
आफ्नै युट्युब च्यानलमार्फत उनले गीत ‘म मरेको छैन...’ सार्वजनिक गरे । आठ दिनसम्म युट्युबमा गीतका भ्युज चार हजार पनि पुगेको थिएन ।
“जब टिकटकमा गीतका क्लिप्स लोकप्रिय हुन थाले, टिकटकमा भिडियो बन्न थाले, त्यसपछि रिलिजको १४ दिनपछि गीत युट्युबको ट्रेन्डिङमा आयो,” गोविन्द भन्छन्, “टिकटकमा दिनहुँ थुप्रै भिडियो बनिरहेको थियो । टिकटक प्रयोगकर्ताबाट राम्रो फिड्ब्याक आइरहेको थियो, त्यही बेला टिकटक ब्यान्ड भयो ।” टिकटक ‘ब्यान्ड’ भएपछि अडियो प्लेटफर्मबाट आउने आम्दानी घटेको उनी सुनाउँछन् ।
टिकटक ब्यान्ड भयो, गोविन्दको गीत भने लोकप्रिय भइरहेको छ । राम्रो प्रतिक्रिया पाउनेक्रम जारी छ ।
०५९ सालदेखि सांगीतिक करिअरमा होमिएका हुन्, गोविन्द । दोहोरीदेखि आधुनिकसम्मका गीत गाउँछन् । उनले सांगीतिका सुरमा आफ्नो गला खेलाउन सुरु गर्दा लोकदोहोरीको बजार लोभलाग्दो थियो । स्वाभाविक रूपमा उनले पाइला त्यतै मोडियो । पछि उनले दोहोरीसँगै चलचित्रदेखि आधुनिक गीतसम्म गाए । शब्द र संगीत भर्न थाले ।
‘कान्छीको रुमाल खस्यो पानीमा...’ लोकपपबाट गायनयात्रा सुरु गरेका गोविन्दको स्वरमा १५० भन्दा धेरै गीत रेकर्ड भइसकेका छन् । गोविन्दको स्वर, शब्द र संगीत गरेर ५०० भन्दा धेरै गीत छन् ।
उनको स्वर आधुनिकमा अलि बढी ‘सुट’ भयो । गोविन्द पनि आधुनिकमै धेरै रमाउन थाले । त्यसपछि उनी आधुनिकमै व्यस्त हुन थाले ।
घर दाङ, कर्मथलो काठमाडौं । गोविन्द काठमाडौं–दाङ गरिरहन्छन् । तर, जब ‘म मरेको छैन...’ रिलिज भयो, त्यसपछि भने उनलाई गायनदेखि संगीतसम्म अफर बढ्यो । त्यसैले उनी अहिले काठमाडौंमै छन् । रेकर्डिङमै व्यस्त छन् ।