site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'दुई कारण'ले बढ्यो नेप्से : के अब सेयर बजारले गति लिएको हो ?

काठमाडौं । लामो समयपछि धितोपत्र बजार मापक नेप्से परिसूचक आइतबार १११.२० अंक बढेर १९६३.९८ विन्दुमा बन्द भयो । आज बजारमा तीनपटक सकारात्मक सर्किट लागेको थियो ।

कारोबार सुरु भएको पहिलो पाँच मिनेटमै बजार ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । दोस्रोपटक बजार खुलेको दुई मिनेटमै ५ प्रतिशतले वृद्धि भएर ४० मिनेट र तेस्रोपटक बजार खुलेको २ मिनेटमा ६ प्रतिशतले बढेर कारोबार दिनभरिका लागि बन्द भएको थियो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर धितोकर्जाको जोखिम भार १२५ प्रतिशत कायम गर्ने जानकारी दिएको थियो । राष्ट्र बैंकले योबाहेक सेयर बजारमा खासै केही परिवर्तन गरेको छैन ।

तर, समीक्षापछिको पहिलो कारोबार दिन नै लगानीकर्तामा उत्साह छाएको देखिन्छ । लगानीकर्ता किशोरकुमार श्रेष्ठ राष्ट्र बैंकले समीक्षामार्फत केही लचकता देखाउँदा त्यसको प्रभाव आज देखिएको बताउँछन् । त्यसका साथै बैंकहरूको ब्याजदर घट्ने क्रममा भएकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको श्रेष्ठ बताउँछन् ।

“सरकार र गभर्नरको टियुनिङ नमिल्दा सेयर लगानीकर्तालाई चेपुवामा पारिएको थियो । तर, अहिले केही सकारात्मक संकेत देखाएकाले बजारमा केही हदसम्म सकारात्मक आउने देखिन्छ,” उनले भने, “भोलिको कारोबार दिनभरि नै हुन पायो भने बजार कति सकारात्मक छ भन्ने देखिन्छ । बजार अब २२ सयको विन्दु पार गर्ने देखिन्छ ।”

त्यस्तै, अर्का लगानीकर्ता पनि बजार सकारात्मक दिशातिर लाग्न सक्ने बताउँछन् । राष्ट्र बैंकको नीतिकै कारण बजार सकारात्मक र नकारात्मक हुने गरेकाले लगानीकर्ताको धैर्यतालाई सहयोग गर्ने खालको नीति राष्ट्र बैंकले अपनाएको पनि ती लगानीकर्ता बताउँछन् ।

तर, बजार निर्माताहरू बजारको बढाइबाट सन्तुष्ट देखिँदैनन् । “बजार बढ्नु त सकरात्मक कुरा हो । तर, यो धेरै टिक्दैन,” एक कर्मचारीले भने, “हामीले भन्न त मिल्दैन । तर, बजार टिक्छ जस्तो लाग्दैन ।”

कसरी लाग्छ सर्किट ब्रेक ?

सर्किट ब्रेकको व्यवस्था २०६४ सालपछि गरिएको हो । यसअघि भने बजार जति पनि बढ्न सक्ने व्यवस्था थियो । तर, २०६४ पछि पहिलो घण्टा ११ बजेदेखि १२ बजेभित्र बजार ४ प्रतिशत वृद्धि भयो वा घट्यो भने २० मिनेटका लागि बजार बन्द हुन्छ ।

त्यस्तै, दोस्रो घण्टा १२ बजेदेखि १ बजेभित्र बजार थप एक प्रतिशत विन्दु (कुल ५ प्रतिशत) बढ्यो वा घट्यो भने बजार ४० मिनेटका लागि बन्द हुन्छ ।

त्यस्तै, १ बजेपछिको करोबरामा थप एक प्रतिशत विन्दु (कुल ६ प्रतिशत) बजार बढेमा वा घटेमा दिनभरका लागि नै बजार बन्द हुन्छ ।

किन बढ्यो सेयर बजार ?

आज बजारमा तीनपटक सकारात्मक सर्किट लागेपछि बजार १२ बजेर ९ मिनेट जाँदा नै दिनभरिका लागि बन्द भयो । ११ बजेर ५ मिनेट जाँदा ४ प्रतिशत वृद्धि भएको बजार ११ बजेर २५ मिनेटसम्म बन्द भयो । ११ बजेर २५ मिनेटमा खुलेको बजार ११ बजेर २७ मिनेट जाँदा थप एक प्रतिशत विन्दुले बजार बढेर ४० मिनेट बन्द भएको थियो ।

त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार १२ बजेर ९ मिनेट जाँदा नै थप एक प्रतिशत विन्दु (कुल ६ प्रतिशत) ले वृद्धि भएर दिनभरका लागि नै बजार बन्द भएको थियो ।

आइतबार कुल तीनपटक सर्किट ब्रेक लागेपछि ९ मिनेट मात्र सेयर कारोबार भयो । ९ मिनेटमा ४८ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो ।

आज बजार बढ्नुमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा र ब्याजदरलाई लिइएको छ । आज दुईवटा बैंकले पुसको ब्याजदर सार्वजनिक गरेकाले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

बजार घटेको समयमा आम लगानीकर्ताले ध्यान दिँदैनन् । तर, बजार बढ्न थालेपछि लगानीकर्ता र कारोबार सक्रिय हुन्छ । त्यसले गर्दा पनि बजार बढ्न थाले पनि केही समयसम्म टिकिरहने बजारका जानकार बताउँछन् ।

बजार घटेको समयमा सेयर बजारको नाम नै कसैले सुन्न नचाहाने परम्परा नै बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरी अधिकारीले बताए । तर, बढेको समयमा घटेकोभन्दा बढीले नै चासो देखाउने गरेको उनी बताउँछन् ।

बजार बढ्दा जताततै सकारात्मक मात्र सञ्चार हुने हुँदा पनि त्यसको प्रभाव आम लगानीकर्ता र कारोबारीमा पर्ने गरेको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro