site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई वर्षदेखि सुन तस्करीमा थिए चन्द्र घले, काठमाडौं–दुवई २४ पटक ओहोरदोहोर

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित पक्राउ परेका गोरखा बारपाकका चन्द्र्रबहादुर घले करिब दुई वर्ष अघिदेखि नै सुन तस्करीमा संलग्न रहेको तथ्य खुलेको छ । 

प्रहरी र भन्सार कार्यालयको प्रारम्भीक अनुसन्धानले घलेले लामो समयदेखि सुन तस्करी गर्दै आएको खुलाएको हो । प्रहरी स्रोतबाट प्राप्त घलेको ट्राभल रेकर्डले पनि सो कुराको पुष्टि गर्छ ।  ४५ वर्षीय घले पहिलोपटक २९ मे २०२२ मा दुवई उडेको देखिएको छ । उनी दुवईबाट त्यो बेला नै दुई दिनपछि १ जुनमा फर्किएका थिए ।

त्यस्तै दोस्रोपटक २९ जुनमा गएर २ जुलाईमा फर्किएको देखिएको छ ।  त्यसको २५ दिनपछि उनी फेरि २७ जुलाईमा दुवई उडे ।  उनी त्यो बेला पनि तीन दिनपछि नै नेपाल फर्किए । उनी ३० जुलाईमा नेपाल फर्किएको खुलेको छ ।

Dabur Nepal
NIC Asia

यो क्रम उनको निरन्तर देखिन्छ । चौथोपटक भने उनी करिब एक महिनाको अन्तरालपछि मात्रै दुवई उडे ।  यो पटक उनी १ सेप्टेम्बरमा गएर फेरि तीन दिन मै फर्किए । उनी ४ सेप्टेम्बरमा नेपाल फर्किए । पाँचौपटक उनी १३ सेप्टेम्बरमा गएर १६ मा फर्किए । 

त्यस्तै छैठौं पटकमा उनी अक्टोबर १२ मा गएर १६ मा फर्किए । सातौंपटक उनी करिब एक महिनाको अन्तरालमा फेरि दुवई उडे । उनी त्यो बेला ९ नोभेम्बरमा गएर फेरि तीन दिनपछि १३ मै फर्किएको खुलेको छ ।

यो क्रम उनको यतिमै सीमित छैन । २०२३ मा पनि उनी पाँचपटक दुवई पुगेको खुलेको छ ।  प्रहरीको प्रारम्भीक अनुसन्धानले उनी सुन तस्करीकै लागि दुवई पुग्ने गरेको देखिएको छ । २०२३, ७ फेब्रुअरीमा दुवई गएर १० मै उनी नेपाल फर्किएका थिए । 

त्यसपछि भने उनी करिब तीन महिना दुवई गएनन् ।  घले १० मे मा गएर १३ मे मा फर्किएको खुलेको छ । त्यसको फेरि चार महिना पछि ३ सेप्टेम्बरमा गएर ५ मा नेपाल फर्किए ।  यो क्रम उनले जारी राखे १५ अक्टोबरमा गएर १८ मा फर्किए । 

पाँचौंपटक उनी ४ डिसेम्बरमा गएर ८ मा फर्किएका थिए । त्यसबेला उनी १४ किलो सुनसहित पक्राउ परेका हुन् । प्रहरीको रेकर्डअनुसार उनी २४ पटक ओहोरदोहोर गरेका छन् । घलेलाई यो पटक भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । 

फ्लाई दुवईको एफजेड ५७३ को उडानबाट बिहीबार राति ११ः५६ बजे त्रिभुवन विमानस्थल ओर्लिएका उनले १४ किलो सुनसमेत ल्याएका थिए ।  प्रहरीको प्रारम्भीक सोधपुछका क्रममा घलेले आफू सुनको भरीयामात्रै रहेको बयान दिएका छन् । 

हाल बरामद भएको १४ किलो सुन गोरखाकै मीनबहादुर घलेको भएको बयान दिएका छन् । सोही बयानको आधारमा प्रहरीले मीनबहादुरलाईसमेत पक्राउ गरिसकेको छ ।  मीनबहादुरले भने सुन आफ्नो नभएको इन्कारी बयान दिएका छन् । 

प्रहरीले चन्द्र घले र मीनबहादुरको कनेक्सनबारे अनुसन्धान थालेको छ ।  चन्द्रले दुई–दुई किलोका सातवटा सुनका बिस्कुट शरीरमा लुकाएर ल्याउने क्रममा पक्राउ परेका हुन् । उनीले प्रत्येकपटक सुन तस्करी गरेबापत ६० हजार रुपैयाँ पाउने गरेको बयान अनुसन्धान टोलीलाई दिएका छन् । 

चन्द्र घले सयौँ किलो सुन तस्करी गरेको आशंका प्रहरीको छ । तस्करीमा भन्सार कार्यालकै कर्मचारीकोसमेत सेटिङ हुनसक्ने आशंका गरिएको छ । सो तस्करी प्रकरणबारे अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समितिसमेत नै गठन भएको छ ।

जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समय तालिका दिइएको छ ।

१४ किलो बरामद भएको दुई दिनमै फेरि ६ किलो बरामद

चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको दुई दिनपछि नै फेरि दुवईबाट नै काठमाडौं आएको सोही फ्लाई दुवईको एफजेड ५७३ कै उडानबाट शनिबार राति ११ः५६ बजे साढे ६ किलो सुनसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

विमानस्थल प्रहरीका एसपी पदम विष्टका अनुसार भन्सार एरिया पार गरिसकेको अवस्थामा सुनको धुलो बनाएर ल्याइएको सुन बरामद भएको हो ।  एसपी विष्टका अनुसार कालो प्लास्टिक भित्र बेरेर सुन ल्याएका इजिप्टका नागरिक ३२ वर्षीय महोमद महोमद ल्यासिनसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ परेका अन्य दुई जना सुडानी नागरिक हुन् ।  उनीहरुको भूमिका शंकास्पद देखिएपछि पक्राउ परेका हुन् ।  शुक्रबार नै प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं भित्रिने नाका नागढुंगाबाट दुई किलोसहित तीनजना पक्राउ गरेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro