सेनेटोरियममा आएको झन्डै एक महिना पुग्न थाल्यो । मलाई भने समय बित्न नसकी घस्रिरहेको एउटा लामो युगजस्तै महसुस भइरहेको छ । सबैका अनुहारमा एउटै भाव टाँस्सिएको छ, मानाैँ यहाँ आउनाको नियति नै यही होस् ।
तैपनि, सबै जानाजान एउटा शाश्वत सत्यको आँखामा छारो हाली बाँचिरहेका हुन्छन् – जीवनको मोह ! जीवन र मृत्युबीच बाँचिरहेका हुन्छन्, एक मुट्ठी सास सँगालेर ।
के भन्ने यसलाई – आत्मवञ्चना वा जिउनको निम्ति एउटा निर्वाह वा मृत्युबोधको सन्त्रासमा अस्तित्वबोधको छटपटी !
आएको दुईचार दिनपछि नै मेरा लागि यहाँका सबै चीजहरूबाट नौलोपनको पालिस उडेर जान्छ । यहाँको उराठलाग्दो दिनचर्या, अनिश्चितताको स्थितिमा भौँतारिरहेका मानिसको चेतना, निराशा र सन्त्रासको बोझले थिचिएका आत्मप्रवन्चित हाँसो, यही सबका बीच बाँच्छ जीवन यहाँ रहेसम्म ।
यस्तो उकुसमुकुसको परिवेशमा पनि कहिलेकाहीँ वर्षायाममा बादलबाट झलक्क झुल्केको घामजस्तै कतैबाट उन्मुक्त हाँसोको टड्कारो आवाज कानमा पर्छ । यसले वातावरणमा केही क्षणका लागि भए पनि सजीवता छरेर जान्छ ।
समय बिताउन म उर्दू शायरीको किताब पढ्दै हुन्छु । एउटा लाइनमा आई टक्क अड्न पुग्छु–
जिन्दगी जिन्दादिली का नाम हैं
बुजदिल क्या खाक जिया करते हैं
यहाँ सेनिटोरियममा मानिसहरूको बाँच्ने मोह देखेर मभित्र पनि जीवनप्रति तीव्र अनुराग जन्मिन थाल्छ । अनुरागमा सार्थकता पाउन जीवनले कसैको साथ खोज्ने गर्छ ।
सबै भाग्यमानी हुँदैनन् । कसैले पाउँछन्, कसैले गुमाउँछन् । कोही निरन्तर तलासमा भौँतारिरहन्छन् । अस्तित्वको अर्थ नै सापेक्षतामा हुन्छ ।
फिमेल वार्डको मिस प्रतिमालाई सम्झन्छु । यहाँ आउँदा हाड र छाला मात्र थिइन् । फर्किंदा चिन्नै नसकिने गरी जिउ लगाएर गइन् । यहाँ रहँदा उनलाई भेट्न आउनेहरू कुनै दिन खाली भएन । सधैँ हँसिलो अनुहारमा आत्मविश्वास झल्किन्थ्यो । औषधिले भन्दा यसैले उनको अस्तित्व संकटको सन्त्रासलाई जितेको हुनुपर्छ ।
‘...तल तीस नम्बरको हालत सिरियस छ,’ मेरो कानमा यो आवाज पर्छ । म दुवै हातले कान थुन्छु । मलाई लाग्छ, कसैले मेरो कानमा तातो लावा खन्याइदिएको होस् ।
जीवनप्रतिको मोह र बाँच्ने विश्वासलाई यसले कमजोर बनाउन खोज्छ । म उठेर एकातिर हिँडिदिन्छु, आफ्नो छरिएको विश्वासलाई बटुलेर सम्हाल्न ।
कोठामा फर्किन्छु । टेबलमा चिठी राखेको हुन्छ । खामबाहिरको लेखाइले नै चिन्छु चिठी कसको भनेर । पढ्न थाल्छु, मायाका कुराहरू हुन्छन् । आउन नसकेको असमर्थता, फेरि नसियतका लम्बेतान फेहरिस्त– यो गर्नू, यो नगर्नू आदि ।
र, अन्त्यमा स्वास्थ्यको राम्रोरी ख्याल राख्ने आग्रह र सम्झनाको मीठो म्वाइँ । चिठी पढ्दा पढ्दै म आफ्नो मुख हातले थुन्न पुग्छु, मानौँ आँखाले नदेख्ने क्षयका असंख्य कीटाणुहरू मेरो मुखबाट निस्केर ऊभित्र पस्न थाल्छ ।
‘निकै तल्लीन भएर पढ्दै हुनुहन्छ...,’ औषधि लिएर हेरिरहेकी सिस्टर फेरि भन्छिन्, ‘...को चिठी लाग्छ नि !’
म केही नबोलेर हाँसी मात्र दिन्छु ।
‘केके लेखेको छ, हामीलाई पनि सुनाउनुस् नि !,’ हाँस्दै उनले भनिन् ।
म चिठी उसको अगाडि राखिदिन्छु ।
‘धत्, तपाईंलाई लेखेको चिठी पनि हामीले हेर्न हुन्छ र !,’ औषधि ख्वाएर उनी हाँस्दै बाहिरिन्छिन् ।
यो अस्थायी प्रतिविम्ब बालुवामा पोखेको पानीजस्तै सुकेर जान्छ । फेरि उही नियास्रोपन र अत्यासलाग्दो क्षण परिवेशमा चारैतिरबाट पस्रेर आउँछ । जीवन एउटा रित्तो भाँडोझैँ फनफनी घुम्न थाल्छ ।
पैँतीस नम्बरको जस्तै मेरो फोक्सो पनि गलेर फतफती झर्न थालेको लाग्छ । भित्र र बाहिरको शून्यता एकाकार भएर एउटा महाशून्यको सिर्जना गर्छ । यसमा म र मरो अस्तित्व दुवै विलीन हुन्छ ! केही हुँदैन त्यहाँ अन्तरिक्षको नीरवताबाहेक ।
यहाँ प्रत्येक मानिस उपन्यासको पात्रजस्तै आ–आफ्नो भूमिका खेल्न दक्ष छन् । तर, कहिलेकाहीँ पात्रले आफूलाई नसुहाउने मुकुन्डो लाएको देख्दा दिक्क लाग्छ । किन यस्तो गर्नुपरेको होला ! यसले उसलाई दयाको पात्र बनाइदिन्छ ।
‘यही इच्छा र अभिलाषाले मानिसलाई एउटा क्यारेक्टरको रूपमा प्रस्तुत गर्छ,’ अन्तर्मनले सम्झाउँछ ।
‘यो त वलग्यारिटी होइन र !,’ म सोध्छु ।
‘हुनसक्छ,’ मन हाँसेर भन्छ, ‘यही नै त्यो पात्रको वास्तविकता र उसको भावना तथा कुण्ठाको यथार्थ प्रतिविम्ब होस् !’
यही सबबीच कुन बेला निदाएछु, थाहै भएन ।
बिहान भइसकेको रहेछ । सिस्टरको ‘टेम्प्रेचर’को आवाजले मेरो निद्रा खुल्छ ।
‘गुड मर्निङ, सिस्टर’ बाट यहाँको दिनचर्या सुरु हुन्छ । डाक्टरको राउन्ड, नयाँ ‘कम्प्लेन’ औषधि, इन्जेक्सन आदिबीच बिहानको व्यस्तता सुस्तरी चिप्लिँदै जान्छ । भित्तामा झुन्डिएको क्यालेन्डर हावाले फरफराइरहन्छ ।
सेनेटोरियममा रोगीहरू मलाई समयको भित्तामा उल्टो झुन्डिएको क्यालेन्डरजस्तो लाग्छ, जसका पानाहरू पल्टिन सकिरहेको छैन । ‘एक्सपायर’ भइसकेका क्यालेन्डरहरू...!
समयबोधले घोच्न थाल्छ । म छटपटाउँछु । तर, केही गर्ने विकल्प भेटाउँदिनँ । यहाँ धैर्य र प्रतीक्षाको निकै खाँचो छ । समयले धैर्य राख भन्छ । धैर्यले प्रतीक्षा गर भन्छ ।
तर, धैर्य राख्न कसलाई फुर्सत छ यहाँ ? समयको गतिसँग सबै दौडिरहेको हुन्छ । अन्यथा समयले किनारामा हुत्याइदिन्छ । मानिस हुनुको नियति सायद यही हो । बिचरा मानिस !
सिस्टरले इन्जेक्सन तयार पार्छे । म आफ्नो दुवै पाखुरा पालैसित छाम्छु, कतै नदुख्ने ठाउँ छ कि भनेर । सिस्टर मेरो आशय बुझ्छिन् । तातो सेक्न ‘हट वाटर ब्याग’ ल्याइदिन्छु भन्छिन् ।
‘दुख्न त दुखेन ?,’ इन्जेक्सन दिएपछि सोधिन् ।
‘तपाईं त मेरो इलाजको लागि इन्जेक्सन दिनुहुन्छ र यसको पीडा पनि क्षणिक मात्र रहन्छ । यहाँ त जानाजान अन्जान भएर घोचेका ती घोचाइहरू पो असह्य हुन्छन् सिस्टर ! जसले चेतनालाई सधैँ बिथोलिरहन्छ,’ म निर्लिप्त भावले भन्छु ।
‘सरको दार्शनिक कुरा बुझ्न साह्रै कठिन ! के मैडमले बुझ्नुहुन्छ ?,’ हाँस्दै सिस्टर सोध्छिन् । आफूलाई सहज पार्दै म पनि हाँसिदिन्छु ।
मानिसले यिनै दुःख, पीडा, सन्त्रास, एक्लोपन आदिको भोगाइमा आफ्नो अस्तित्व खोजिरहेको हुन्छ । अरूहरूको सापेक्षताबिना यो भोगाइको कुनै अर्थ वा अस्तित्व रहँदैन । मानिस त्यसैले सामाजिक प्राणी हुन पुग्छ ।
फूलदानमा ताजा फूलहरू ल्याएर सिस्टरले राखिदिन्छिन् । म धन्यवाद दिन्छु, शिष्टाचारवश । मैले छोए यी फूलहरू पनि क्षयले ग्रसित होलान् भन्ने डरले म त्यहाँ लेखिदिन्छु, ‘ब्युटी इज टु बिहोल्ड एन्ड एप्रिसिएट नट टु टच ।’
सुन्दरताप्रतिको कमलो भावको यो शिष्ट अभिव्यक्तिसित म पनि प्रभावित हुन्छु । सिस्टर लाज मान्दै ‘सरलाई हट वाटर ब्याग’ भन्दै जान्छिन् ।
क्वाटरअगाडिको चौरमा फूलका बोटहरूलाई कीराले साह्रै नाश पारेको हुन्छ । फूलहरूले बोल्न सक्ने भए आफ्नो पीडा भन्थे होलान् । ऊ त आफ्नो मनमोहक रङ र सुवासले अरूलाई खुसी मात्र दिन्छ ।
म डाक्टरसँग ती बोटहरूमा ‘इनसेक्टिसाइड’ छर्न आग्रह गर्छु । ‘रोग र कीराले फूललाई पनि पीडा हुन्छ,’ म डाक्टरलाई भन्छु । डाक्टर हाँसी मात्र दिन्छन् । उनको ‘स्टेथेसकोप’मा कान मात्र हुन्छ, हृदय हुँदैन ।
लन्चपछि यहाँ केही बेरका लागि चहलपहल रहन्छ । सबै आ–आफ्ना गन्थन लिएर ख्यालठट्टा गर्दै घाम तापेर बसिरहेका हुन्छन् । तल अफिसमा सहरबाट मोटर आएको हुन्छ ।
पोष्ट गरिदिनका लागि म चिठी दिन तल जान्छु ।
चिठी दिएर आएपछि वार्डमा घुम्न थाल्छु, बिनाकाम । उन्नाइस नम्बरको घरबाट मानिसहरू भेट्न आएका रहेछन् । रोग असाध्य भइसकेको छ भनेर डाक्टरले भनेका हुन्छन् ।
रोगी साह्रै दुब्लो देखिन्छ । मसिनो स्वरले ऊ कुरा गरिरहेको हुन्छ । उसकी छोरी टाँसिएर खाटमा बसेको देख्दा मेरो जिउ सिरिङ्ङ भएर आउँछ । ममता अन्धो हुन्छ भनेको यही नै होला ।
सिरकबाट दुई झिना हात निकालेर नमस्ते गरेको देख्छु ।
घुम्दाघुम्दै वार्डको एक छेउबाट अर्को छेउसम्म पुग्छु । प्रत्येक कोठा अनौठो भाव ओढेका अनुहारहरूको संग्रहालयजस्तो लाग्छ । आशा र निराशाका बीच पिङ खेलिरहेका यी अनुहारका भाव स्वास्थ्य विज्ञानले कति बुझ्छ, मलाई थाहा छैन । डाक्टरका स्टेथेस्कोपमा यस्ता अनुभूतिका स्पन्दन बुझ्ने क्षमता छ ?
डाक्टरले पनि ‘हामी आफ्नो तर्फबाट पूरा कोसिस गर्दै छौँ, ईश्वरमाथि भरोसा राख्नुहोस्...’ भनेको सुन्दा ईश्वरको जड्ता र विज्ञानको सान्दर्भिकताको सीमाको पहिचान कसरी गर्ने ?
गराहरूको भर्याङ चढ्दै माथि उक्लिँदै छु । भर्याङ ठाडो भएकाले म एकछिन सुस्ताउँछु ।
एक्कासि तलबाट रोएको आवाज आउँछ । म फर्केर हेर्छु । आवाज उन्नाइस नम्बरबाटै आएको हुन्छ ।
माथिबाट सबै डिलमा बसेर हेरिरहेका हुन्छन् । म गराको भर्याङबीच उभिएको हुन्छु । मलाई लाग्छ, म त्रिशंकुु भएर झुन्डिएर बसेको छु ।
भरखरै नमस्ते गरेका दुई झिना हातले मलाई समात्न खोजेको लाग्छ । म एक सासमा गराका भर्याङ उक्लेर माथि पुग्छु । सास फुल्न थाल्छ । म त्यहीँ थचक्क बस्छु ।
लन्चपछिको चहलपहल खल्लो भइसकेको थियो । एकछिनअघिको हलचल आ–आफ्नो कोठामा गएर विलीन हुन्छ । झिना हातोको सरल (?) मृत्युबारे सोच्दै म पनि आफ्नो कोठातिर लाग्छु ।
उसले अघि नमस्ते गरेको सायद अन्तिम बिदा...।
आफ्नो ओछ्यानमा आएर पल्टन्छु । निर्निमेष भावले शून्यमा केही खोज्ने कोसिस गर्छु । बाहिर घाम टन्न लागेको हुन्छ । यसले माहोलमा शिथिलता र नियास्रोपना थपिरहेको हुन्छ ।
कोठाअगाडिको रुखमा एउटा काग आएर नमिठोसँग कराउन थाल्छ । क्यार...क्यार...।
आवाज रोकिनासाथै लाग्छ, घस्रेर बितिरहेको समय एक्कासि टक्क अडिन गयो । सास फेर्न खोज्छु । फोक्सोमा चारैतिरबाट हावा छिरेको भान हुन्छ । फोक्सोको ठाउँ रित्तो हुन गएको अनुभव हुन्छ । सायद क्षयका कीटाणुले प्वालैप्वाल पारेको छ त्यहाँ...।
मभित्र हावैहावा भरिएर हलुको भएको अनुभव हुन्छ । बतासले उडाइ लग्छ कि भन्ने लाग्छ । म खाटलाई दह्रो गरी समात्छु ।
जिउ शिथिल भई ओछ्यानमा टाँसिन थाल्छु, चिप्लेकीरा टाँस्सिएझैँ च्याप्प...।
चिप्लेकीराले आफूलाई र्यालले छोपी सतहमा टाँसेजस्तै म पनि सहज हुनका लागि आफ्नो चारैतिर आत्मविश्वासको ‘ककुन’ निर्माण गरी अस्तित्व संकटको बोधबाट पलायन हुन खोज्छु ।
(रचनाकाल—२०२६/काठमाडौं)