
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् ।
महाकाली–मेची अभियानका क्रममा मंगलबार बिहान उनले सो अवलोकनपछि आयोजनाको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए ।
अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने उल्लेख गरे । “...यहाँको कामको गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यसमा अलिकति मात्रै लापरबाही भयो भने राम्रो हुँदैन,” उनले भने, “यसमा एकदम राम्रोसँग काम अघि बढाउनुपर्छ । गुणस्तरमा कम्परमाइज गर्नु हुँदैन । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् ।”
भेरी–बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । न्युज एजेन्सी नेपाल