
काठमाडौं । साहित्यकारद्वय मञ्जुल र गोविन्द गिरी ‘प्रेरणा’लाई ‘फोसवाल लिटरेचर अवार्ड’ प्रदान गरिएको छ । फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरको आयोजनामा भएको फोसवाल लिटरेचर फेस्टिभलमा सो अवार्ड दिइएको हो ।
फोसवालकी अध्यक्ष एवं साहित्यकार अजित कौर र भारतका निम्ति नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले दुवै सर्जकलाई उक्त अवार्ड प्रदान गरे ।
फोसवाल लिटरेचर अवार्ड नेपालका मञ्जुल, प्रेरणासहित बंगलादेशका प्रोफेसर फकरुल आलम, भुटानकी छादोर वांगमे तफा र श्रीलंकाका डा. कांडिय श्रीगनेशनले प्राप्त गरेका हुन् ।
यही डिसेम्बर ६ सम्म चल्ने सो महोत्सवमा नेपालका साहित्यकारहरू डा. अभि सुवेदी, विधान आचार्य, संस्कृति दुवाडी, नाज सिंह, भीष्म उप्रेती, डा. एकप्रसाद दुवाडी, मुकुन्द प्रयास, रोशन परियार, मञ्जुल र गिरी सहभागी रहेका प्रेरणाले जानकारी दिए ।