यो साता ३ दिन गैँडाकोट बसेर राजधानी फर्केँ । सन्दर्भः थियो स्व. तिलकप्रसाद सापकोटको प्रथम वार्षिकीका केही कार्यक्रम र कवि सरस्वती तिमिल्सिनको कवितासङ्ग्रहको विमोचन ।
सापकोटा विकास र सामाजिक अभियानका एक अग्रणी । जनउत्सुकता, जागरण र जनपरिचालनका खप्पिस अगुवा ।
तात्कालीन नवलपरासी कांग्रेसका संस्थापक नेतामध्ये एक । उनको निधन भएको एक वर्ष । वार्षिक स्मृतिमा आयोजित अनेकौं कार्यक्रममा सहभागी हुन त्यो परिवारबाट प्रेमपूर्वक प्राप्त निम्तो र सहभागिताको आग्रह मेरा लागि निकै प्रिय र सम्मानको विषय थियो ।
यसमा मिसियो सरस्वती तिमिल्सिनाको निम्तो । सरस्वती आफैँ पनि पछिल्लो पुस्ताकी राजनीतिकर्मी र कवि पनि । उनको नयाँ कविताकृति ‘पाइला पाइलामा पाइला टेकेर’ विमोचन कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठानले आयोजना गरेको थियो ।
प्रतिष्ठानसँग राष्ट्रिय ख्याति आर्जेका उपल्ला स्रष्टाको समूह छ । संयोग एकै पटक मिल्यो । सबै जना भेटिए सँगसँगै । सापकोटाका सन्दर्भमा नयाँ कुरा थाहा पाउने हुटहुटी थियो । उनी नवलपरासी कांग्रेसका संस्थापक त हुन् नै यससँगै वागलुङ कांग्रेसको पनि नेतृत्व गरेको ।
वनारस पुगेर बीपीकै हातबाट पार्टीको क्रियाशील सदस्यता लिएको । बीपीकै निर्देशनअनुरूप काम गरेको ।
स्कुलहरू र त्यसमा पनि रात्रीकालीन स्कुलसमेत खोलेको । कृषि उपज र आधुनिकीकरणका लागि बजार व्यवस्थापन गरेको । स्थानीय विकास र भौतिक संरचना निर्माणमा योगदान रहेको । संस्कृत गुरुकुल सञ्चालन गरेको । कुलो, पैनी चलाएको । खानेपानी र सिञ्चाइको व्यवस्था गरेको ।
कृषि, शिक्षा, सञ्चार र सहकारीका लागि संस्थागत काम गरेको । विसं २०१९ सालमै शैक्षिक पत्रिका ‘प्रकाश’ प्रकाशन गरेको । विसं २०३६, २०४२ र २०४६ मा पटक पटक जेल परेको ।
विसं २०४८ मा पार्टीका तर्फबाट नवलपरासीमा चुनाव लडेको । कुनै दिन गिरिजाप्रसाद कोइरालाले बोलाएर ‘तिलक, बीपीपुत्र तिम्रो जिम्मा लगाएको छु, चुनाव जिताएर ल्याउनू’ भन्ने आग्रह गरेको र डा.शशाङ्क उनको जिम्मा लगाएको ।
डा. शशाङ्कले त्यहीँबाट लगातार चुनाव जितिरहेको तर स्वयं तिलकप्रसादले भने पार्टीमा कहिल्यै अवसर नपाएको वा नलिएको । २७ वर्ष निरन्तर डायरी लेखेर त्यही आधारमा पुस्तक प्रकाशित गरेको ।
विपक्षीसहित सबैले आदर्श मानेको । स्वयं बीपीले पत्याएको, आदिआदि । यी सन्दर्भ र सूचनाहरू केही उनै सापकोटाका पुत्र पत्रकार कृष्ण सापकोटामार्फत र केही अन्य सन्दर्भबाट थाहा पाएको थिएँ । सापकोटाका परिवारजनले विभिन्न सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरे । प्रत्येक कार्यक्रममा उपस्थित कांग्रेस र गैरकांग्रेसजनको अनुहार नियाल्दै गएँ, सके जति संवाद पनि गर्दै गएँ ।
तीन दिनसम्म चलेको औपचारिक अनौपचारिक कार्यक्रमका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्व महामन्त्री तथा सांसद डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित कांग्रेसको प्रदेश तथा केन्द्रीय तहको ठूलै समूह त्यहाँ पुग्यो ।
जिल्ला र त्यस भेगका अधिकांश नेता, कार्यकर्ताको राम्रो उपस्थिति थियो । पारिवारिक तहमा भएको त्यो तहकै जत्तिको उपस्थिति त अचेल कांग्रेस नामको पार्टीकै आयोजनामा स्थानीय स्तरमा कुनै सभा आयोजना गरे पनि नहुनसक्छ ।
ती कार्यक्रमका समाचार सञ्चारमा आएकै छन् । मलाई त्यही कुरा लेख्नु पनि छैन तर ३ दिनको बसाइमा त्यहाँ पुगका कांग्रेसजन, तिनले स्वर्गीय तिलकप्रसाद सापकोटा र त्यो परिवारप्रति दर्शाएको प्रेम र त्यहीँबाट लगातार ४ पटक सांसद भएका डा. कोइराला, कवि सरस्वतीको कविताकृति विमोचन गर्दा मञ्चमा सँगै भेट भएका गगन थापा र थापाको पार्टी कांग्रेससँग जोडिएका केही सन्दर्भतिर अलि बढी जोडिन्छु ।
सिधै नेपाली कांग्रेस र सापकोटा परिवारको कुरा गर्नुअघि अलि कति कुरा सरस्वतीको गरौँ । विसं २०४७ साल थियो । त्यतिखेर म जागिर खोज्दै काठमाडौँको एउटा स्कुल भानुभक्त मेमोरियल पानीपोखरी पुगेको थिएँ । मेरो कक्षा परीक्षण हुने भयो ।
मलाई लिएर हेडसर आफैँ र नेपाली विषयका केही अन्य शिक्षक कक्षा ७ को सेक्सन ‘सी’मा पुगे । त्यही कक्षामा जानुको अर्थ त्यहाँ भएका विद्यार्थीहरू स्कुलभरिकै ‘एक्स्ट्रा’ मानिएका रहेछन्, आगोजस्ता चर्का ।
तीमध्ये केही विद्यार्थी अझै सम्झन्छु । जस्तो सरस्वती तिमिल्सिना, श्याम मिश्र, प्रवीण तुलाधर, प्रणिता कोयू, सृष्टि शाह, सङ्गीता प्रसाईआदि ।
तिनीहरूले मेरो कक्षा मन पराए पनि र मलाई नै त्यही सेक्सनको ‘टिचर’ बनाउन दबाब दिए । जागिरे भएँ । ती दिनमा ती विद्यार्थीहरूसँग पाठ्यपुस्तकको विषयभन्दा बढी साहित्यिक संवाद, लेखन र अभिव्यक्ति कलामाथि बहस र अभ्यास हुन्थे ।
त्यही सम्झना र प्रेमको तन्तु तानेर सरस्वतीले मलाई बोलाएकी थिइन् । संयोग एकैपटक परयो स्वर्गीय सापकोटाको वार्षिकी पनि । त्यो परिवारले शोकको समवेदनालाई साहित्यको संवेदनासँग जोड्न खोज्यो ।
गोविन्दराज विनोदीजस्ता उच्चस्तरका साहित्यिक मनीषीको साथमा तिनले वार्षिकीको दिन श्रद्धाञ्जली स्वरूप कवि गोष्ठीको आयोजना गरे । स्थानीय 'विजय खबर' पत्रिकाले प्रकाशित गरेको विशेषाङ्कको विमोचन पनि त्यही बेला भयो ।
त्यतिका नेताहरू उपस्थित हुँदा पनि त्यो विशेषाङ्क सार्वजनिक गर्न र साहित्यिक कार्यक्रमको नेतृत्व गर्न सापकोटा परिवारले कवि नै रोजेका थिए र परिवारजनले भनेका थिए – ‘तिलकबा साहित्यलाई सधैँ राजनीतिभन्दा माथि राख्नुहुन्थ्यो । उहाँको ‘यात्रा निरन्तर’ पुस्तक प्रकाशित छ र यो उहाँको डायरी हो । एउटा मान्छेले २७ वर्षसम्म लगातार डायरी लेखेको कतै भेटिएको छैन । यो एउटा रेकर्ड होला कि ?’ यसरी परिवारजन उत्साही पनि थियो ।
त्यहाँ पुगेका कांग्रेस नेता कसैसँग मैले खासै संवाद गरिन र भेटिन पनि । रक्तदान कार्यक्रमका लागि प्रमुख अतिथि रहेका कांग्रेस पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालासँग कार्यक्रम सुरु हुनुपूर्वको छोटा भेटमात्रै हो तर महामन्त्री गगन थापासँग भने एकै मञ्चमा सँगै भएकाले केही लामो कुरा हुने मौका जुर्यो ।
बीपी साहित्य महोत्सवका बेला थापासहितको कांग्रेस नेतृत्वलाई केही हदसम्म नजिकबाट हेरेको थिएँ । नत्र त्यसअघि उनीहरूसँग खासै भेट पनि थिएन र संवाद पनि हुँदैनथे तर थापासँगको भेट भने पुरानो हो ।
नेविसंघको महामन्त्री थापादेखि पार्टीको महामन्त्री थापासम्म आइपुग्दाको भेटमा उनमा रहेको एउटै विशेषता हो - विनम्रता । उनी नेविसंघमा रहँदाभन्दा पार्टी केन्द्रीय सदस्य हुँदा विनम्र लाग्थे । पार्टी केन्द्रीय सदस्य हुँदाभन्दा अचेल महामन्त्री हुँदा झन् विनम्र देख्छु ।
दुनियाँ सबैसँग सबैको समान सम्बन्ध नहोला तर उनीभित्र व्यक्तिगत तहको सम्मानको जुन विनम्रता छ त्यो समसामयिक राजनीतिमा धेरै कममा मात्र भेटिन्छ ।
उनका पार्टीका उनीजस्तैहरूले हाम्रो पार्टी महान् छ, कोही नभए पनि फरक पर्दैन । पार्टी छोड्नेहरूले छोडे हुन्छ, गए हुन्छ भनेर कतिलाई ललकारेको पनि सुनेको छु तर उनीमा त्यो अहङ्कार छैन वा देखिएको छैन ।
उनले त्यसदिन कि जहाज छोड्नुपर्थ्यो कि पुस्तक विमोचन समारोह । जहाज छोडेर राति गाडीमा फर्के तर पुस्तक विमोचन गरेर साहित्यकारहरूसँग संवाद गर्न छोडेनन् । उनले भने – ‘एउटा पुस्तक विमोचनमा जानु भनेको एकैपटक धेरै पुस्तक पढ्नुजस्तो हो । आज धेरै कुरा सिकेँ ।’ सिके कि सिकेनन् म भन्न सक्तिनँ तर साहित्यप्रतिको उनको सम्मानको चर्चाले भने उनी फर्केपछि पनि ठाउँ पाइरह्यो ।
...
अब तिलकप्रसाद र कांग्रेसी संवेदनामा फर्कौँ । स्व. तिलकप्रसादको स्मृतिमा स्थानीय विजय खबर पत्रिकाले विशेषाङ्क प्रकाशित गरेको छ । राजधानीबाहिर यसरी विशेषाङ्क प्रकाशित गरेको मलाई याद छैन ।
त्यसमा उनकै पार्टी कांग्रेसका सभापति शेरबहदुर देउवा, तिलकप्रसादसँग सँगै जेल बसेका राधाकृष्ण मैनालीदेखि उनका परिवारजनसम्मका सम्झना छन् । डा. शशाङ्क कोइरालाले तिलककै कारण ४ पटक चुनाव जितेँ भनेका छन् । डा. कोइरालाले उनलाई पितासरह आदर्श र प्रेरणा भनेका छन् र गुरुको सम्मान दिँदै जति काम गर्न सकेँ उनैको निर्देशनमा गरेँ भनेका छन् ।
यहीँनेर बहसको एउटा विषय उठ्नु जरुरी छ । के तिलकहरूको कर्म अरू कुनैहरूको जीवन उठाउनकै लागि बनेको हो ? नागरिक र सामाजिक संगठन निर्माण, चेतना विस्तार र विकासको जागरणको मूल सुक्दै गयो भने झण्डा टाँगेको घरले मात्रै लोकतन्त्र नामको गायत्री जप पूरा होला त ?
मान्छेमा विभेदविरुद्ध लड्ने पार्टी नै मान्छेमाथि विभेद गर्छ भने ? एउटा जमात निर्माणका लागि अर्को जमात प्राप्तिका लागि बाँचेको मान्छ भने ? राणा शासन फालेको दाबा गर्ने पार्टीमै वंश परम्परा जीवित हुन्छ भने ?
बाउपछि छोरा र छोरापछि नातिलाई माला लाउन नपाए कतिका हात काम्छ भने ?
तर, पौरखमा उठेका छोरालाई पनि फेरि कतै बाउकै कारण पक्ष विपक्षको किनारा लगाइन्छ भने ? लोकतन्त्र नामको अभ्यास कसरी लोकतान्त्रिक हुन्छ ?
कांग्रेस राणाको वंशवादविरुद्ध लड्यो तर ऊ आफैँ आज पनि रगत र वंश परम्परा धानिरहेछ । पञ्चायतको निरङ्कुशताविरुद्ध लड्यो तर ऊ आफैँभित्रको पार्टीजीवन पूर्ण लोकतान्त्रिक छैन ।
मान्छे मान्छे एक हो भनेर मानवीय स्वतन्त्रताको पक्षमा लड्यो तर त्यहाँ अझै शासक र शाषित दुई वर्ग छन् ।
नत्र डा. शशाङ्क नै सुरक्षित ठाउँ खोजेर नवलपरासी किन जानु परेको ? ४ पटक उनैले मात्र चुनाव किन लड्नु परेको ? र त्यहाँका सबैहरू सहयोगी भएरमात्रै किन पछिपछि कुदिरहनु परेको ? स्थानीयले आफूले लगाएको बाली आफूले काट्न किन नपाएको ? यसको अर्थ हो राजनीतिमा संवेदना मर्दै जानु । अरूको अस्तित्व अस्वीकार गर्नु । र संगठन यान्त्रिक हुँदै जानु ।
सुशील कोइराला आदर्श र सादगी नेता मानिन्छन् र तुलनात्मक रूपमा हो पनि । उनी १२ औँ महाधिवेशनमा सभापति लड्ने भए । उनको घोषणापत्र बनाउने एउटा टिम बन्यो । पार्टी अफिस र बसेको ठाउँमा समेत कार्यकर्ताको भीड भएपछि गोप्य ठाउँ खोजेर पत्रकार रमेश विष्टको घरमा गोप्य वैठक चले ।
उनको घोषणा पत्रलगायतको डकुमेन्ट तयार भयो । पढ्दै उनलाई सुनाउँदै गरे । त्यतिखेर नेपाल प्रेस युनियनबाट अध्यक्षसहित ५ जना प्रतिनिधिका रूपमा पार्टी महाधिवेशनमा सहभागी हुन्थे ।
केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्दा कोइरालाकै डकुमेन्ट लेख्ने पनि परे । रहर गरेर बसेका तर प्रतिनिधि छनौटमा नपरेका केही त बाहिर छँदै थिए । तिनले गएर सुशील कोइरालालाई भने प्रेस युनियनले सबै देउवाको मान्छे ल्यायो, तपाईँलाई एक भोट पनि आउन्न ।
उनले आँखै अघिल्तिर आँखै अगाडि आफ्नै घोषणा पत्र लेखिरहेको मान्छेलाई पनि देउवाको देखे र युनियनको त्यो निर्णय मान्दिनँ भनिदिए । कांग्रेसमा आँखाभन्दा कान शक्तिशाली छ । त्यो विवाद मतदानको दिनसम्म पुग्यो र अन्त्यमा ती प्रतिनिधिलाई बल्लबल्ल स्वीकार गरियो ।
गज्जब त के छ भने फेरि तिनैले तिनै सुशीललाई भोट हाले । यसका भुक्तभोगी र साक्षी पत्रकार तारानाथ दाहाल र समीर जंग शाह छन् । कुरा शेरबहदुर देउवाको पनि उही हो । तेह्रौं महाधिवेशनमा एउटा टिमले शेरबहादुर देउवाको डकुमेन्ट बनाइदियो ।
घोषणापत्रमात्र होइन महाधिवेशनका सबै प्रतिनिधिका नाममा एकएक पत्र तयार भए । नाकाबन्दीको त्यो समय सडकमा गाडी कम थिए । पेट्रोल डिजेलको हाहाकार थियो । त्यतिखेर बिहानै कतै बसेर उनका डकुमेन्ट बनाउने लामो समयसम्म खाएको कालो चियाको पैसा समेत शेरबहदुरको नाममा तिरिएन ।
सुदृढ कांग्रेसका लागि दृढ देउवा लेख्ने हातले उठाएको कालो चियाको पैसा पनि त्यही लेख्नेले आफ्नै खल्तीबाट तिरयो । यो कुरा शेरबहादुर कहाँ पुग्दा पनि पुगेन र आफ्ना लागि कसले काम गरयो स्वयं शेरबहादुरलाई थाहा पनि छैन ।
यसका साक्षी सांसद तथा कांग्रेसकै मुख्य सचिव कृष्ण पौडेल छन् । त्यसपछि शेरबहादुर दुईपल्ट सभापति र दुईपल्ट प्रधानमन्त्री भए । उनलाई वा उनको टिमलाई लागेको हुनुपर्छ कार्यकर्ता वा सहयोगीको जन्म नै नेतालाई सहयोग गर्न भएको हो । यो सहयोग अझै जारी रहनुपर्छ ।
चौधौं महाधिवेशनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित हुँदा हार्नेमध्येका एक हुन् वर्तमान अर्थमन्त्री प्रकाशशरण महत । उनको योगदान, क्षमता, पार्टीमा क्रियाशीलता र सक्रियताका विषयमा मेरो कुनै टिप्पणी छैन । उनी अब्बल क्षमताका अपरिहार्य व्यक्तित्व नै हुन् तर पार्टी प्रतिनिधि पङ्तिबाट महामन्त्री त हारेकै हुन् नि !
यसरी हारेको केही दिनमा केन्द्रीय सदस्य भए, त्यसको केही दिनमा समानुपातिक सांसद भए, त्यसको केही दिनमा कार्यसम्पादन समितिको सदस्य भए, त्यसको पनि केही दिनमा पार्टी प्रवक्ता र त्यसको पनि केही महिनामा अर्थमन्त्री भए ।
लाग्छ, उनीजस्ता केहीको जन्म शासक हुन र अन्य केहीको जन्म पार्टीभित्र शासित हुन त भएको होइन ? पार्टी पङ्ति र गैँडाकोटमै उठेको सबैभन्दा ठूलो प्रश्न यो रहेछ ।
तिलकप्रसाद सापकोटाको परिवारजनका पनि कुरा यस्तै छन् शायद । उनको परिवारबाट केशवप्रसाद सापकोटा गत महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उमेद्वार भए । तिलकप्रसाद महाधिवेशनस्थलमा जान सकेनन् । अक्सिजनको सहारामा उनी घरमै थिए तर छोरो महाधिवेशन प्रतिनिधि भएको खबर सुन्न पर्खिरहेका थिए ।
डा. शशाङ्क बोकेर चार चार पटक चुनाव जिताउने तिलकको छोराप्रति कोइराला इतरलाई माया हुने नै भएन, भोटै हालेनन् तर डा. शशाङ्ककै टिमलाई पनि आफैँभित्र भाग पुगेन तिलकका पुत्र केशवलाई भोट किन दिनु ? दिएनन् र महाधिवेशन प्रतिनिधि हराइदिए ।
छोरोले महाधिवेशन प्रतिनिधि पनि हारेको, त्यही पनि उनै शशाङ्ककै टिमले हराएको समाचारले अक्सिजनको सहारामा ओच्छ्यानमा लडिरहेका तिलकको मनलाई छोयो कि छोएन होला ? तर लाग्छ डा. कोइरालालाई भने यो खेलको हेक्का पनि छैन । कांग्रेस नेताले पीए राख्ने होइन पीएले नेता चलाउने पार्टी हो ।
सापकोटाको वार्षिकीको बेला घर पुग्ने, भेट्ने र विशेषाङ्कमा लेख्ने अक्षरको मूल्य कति छ ? त्यो परिवार के सोच्दो हो ? गैँडाकोट बसुन्जेल यही प्रश्नको उत्तर खोजिरहेँ । मञ्चमा सँगै बसेर सबै कुरा गर्न अनुकूल थिएन र गर्न पाइनँ पनि तर गगनको पुस्ता कि यी प्रश्नहरूको उत्तर दिन तयार हुनुपर्छ कि सिद्धिन ?
गगनजी तपाईँका सहकर्मीहरूले झैँ दुईचारले छोडेर केही हुन्न हाम्रो पार्टी हामी चलाउँछौँ भन्नुहुन्छ भने त जय नेपालबाहेक केही भन्न सकिन्न तर पार्टीलाई नागरिकको पुँजी मान्नुहुन्छ भने बीपीपुत्र तिलकप्रसादलाई जिम्मा लगाएपछि अरू सबै बिर्सेका गिरिजा नबन्नू, आफ्नै घोषणापत्र लेख्नेलाई विपक्षीको हो कि भनेर त्यो हदसम्मको आँखाशून्य र कानवादी पनि नबन्नू, तपाईँकै लागि काम गरिहेको तपाईँकै टिम भोकै राखेर समाजवादको व्याख्या नगर्नू र आजसम्म तपाईँभित्र देखिएको त्यो शिष्ठ शालीनतालाई मर्न नदिनू !
बाँकी त नेता हुने पनि तपाईँ र तपाईँहरू, पार्टी पनि तपाईँ र तपाईँहरूकै । सानेपाको पार्टी अफिसमा बसेर को को मेरो हो भनेर टाउको गनिरहँदा कांग्रेसको हातमा त्यही पार्टी अफिस र अफिसमात्रै बाँकी रहला नि !
लाग्दैछ, निष्ठाको सत्य त कवितामा रहेछ । कम्तीमा सरस्वती तिमिल्सिनाले आफ्नो कविताकृति विमोचनको बेला ३३ वर्षअघि कविता सिकाउने गुरुलाई सम्झिइन् र बोलाइन् तर राजनीति सँगै हिँडेकोलाई कसरी सक्ने होला भनेर सोचिरहन्छ ।