site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कसले किन्दैछ एनसेल, किन बाहिरिन खोज्यो आजियाटा ?

काठमाडौं । एसियाको अग्रणी दूरसञ्चार ग्रुपकारुपमा रहेको आजियाटा ग्रुप बहार्डले एनसेलको ८० प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको बताएको छ ।

नेपालमा बलियो दूरसञ्चार कम्पनीका रुपमा रहेको एनसेलबाट आजियाटा बाहिरिँदा यसले वैदेशिक लगानीका क्षेत्रमा गलत सन्देश दिने आकलन गरिएको छ । सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो ।

त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो ।  खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा । सन् २०१६ को अप्रिल १२  मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो ।

सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो ।

Global Ime bank

किन बाहिरियो आजियाटा

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा आगामी यात्रा चूनौतीपूर्ण भएकाले ग्रुप र लगानीकर्ताको हितमा यो निर्णयमा पुगेको बताएका छन् । दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुन्छ । 

२५ वर्षपछि ५० प्रतिशत भन्दा बढी विदेशी लगानी भएका कम्पनी पूर्णरुपमा सरकारी स्वामित्वमा आउने व्यवस्था ऐनमा छ । यसअनुसार सन् २००४ मा स्थापना भएको एनसेल अबको करिब ६ वर्षपछि सरकारी स्वामित्वमा आउनेछ ।

एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी छ । झन्झटबाट मुक्त हुन पनि आजियाटाले बाहिरिन खोजेको ठानिएको छ । अर्काे पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार घट्दै गएको छ । 

एनसेलले सन् २०२०/२१ मा ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।  सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सीम सब्सक्रिप्सनका आधारमा नेपालमा एनसेलको बजार हिस्सा ३८.०५ प्रतिशत छ । आजियाटाले सन् २०२७ सम्म अर्काे पुस्ताको डिजिटल च्याम्पियन बन्ने लक्ष्य रहेको उल्लेख गरेको छ ।

नेपालमा एनसेलबाहेक आजियाटाको मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंग्लादेश, कम्बोडिया र इन्डोनेसियामा पनि दूरसञ्चार कम्पनीमा लगानी रहेको छ । आजियाटा ग्रुपका अन्य डिजिटल उद्यमहरुमा लगानी र सञ्चालन छ । 

नेपालबाट बाहिरिँदा आफ्ना रणनीतिक प्राथमिकता हासिल गर्न झन सहज हुने र ग्रुपका लगानीकर्तालाई पनि फाइदा हुने आजियाटाको भनाइ छ ।  यसबाट उसले समग्र ग्रुपको हितका लागि नेपालबाट बाहिरिन खोजेको देखिन्छ ।

कसले किन्दैछ एनसेल ?

एनसेलको स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चरले नै बाँकी सेयर किन्ने टिकाटिप्पणी हुन थालेको छ । सुनिभेरा क्यापिटल सतिशलाल आचार्य र सचिनलाल आचार्यको स्वामित्वमा रहेको छ । बक्यौता तिर्न नसकेपछि केही महिनाअघि प्राधिकरणले खारेज गरेको स्मार्ट टेलिकमको स्थानीय साझेदार कम्पनीको स्वामित्वसमेत सचिनलाल आचार्यसँग थियो ।

एनसेलको सेयर किन्नेमा बजारमा अन्य इच्छुक लगानीकर्ता पनि हुन सक्ने सम्भावना छ । तर, आजियाटाले एनसेलमा रहेको सेयर कति मूल्यमा कसलाई बेच्दैछ भन्ने खुलाएको छैन । दूरसञ्चार क्षेत्रका एक सरकारी अधिकारीले आजियाटाले आफ्नो सेयर बिक्रीमा राखेको थाहा पाएको बताएका छन् । 

आजियाटा बाहिरिनु नबाहिरिनु उसको निजी अधिकारको विषय भएकाले कुनै नीतिका कारण विदेशी लगानीकर्ता बाहिरिएको त हैन कि ? भन्ने विषयमा टिप्पणी गर्न नसकिने ती अधिकारीको भनाइ छ । कम्पनीले सेयर बेच्ने निर्णय गरे पनि नेपाल दूरसञ्चार प्राधिकरणले अन्त्यमा अनुमति दिनुपर्छ ।  प्राधिकरणले यस विषयमा अहिले आजियाबाट कुनै औपचारिक जानकारी नआएको बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu