site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेन युद्ध : रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु 
प्रतीकात्मक तस्बिर

काठमाडौं । रुस–युक्रेन युद्धमा पछिल्ला साढे चार महिनामा रुसी सेनामा कार्यरत पाँचजना नेपाली मारिएका छन् ।  रुस–युक्रेन युद्धमा मारिने नेपालीमा कपिलवस्तु बाणगङ्गा–१ का रुपक कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार रोक्का र स्याङ्जाका प्रितम कार्की छन् ।
 
रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतका अनुसार रुपक कार्की र थपलियाको गत असारमा मृत्यु भएको थियो । मोक्तान, रोक्का र प्रितम कार्कीको कात्तिक २९ गते मृत्यु भएको थियो । 

रुसी सेनाले मस्कोस्थित नेपाली दूतावासलाई मारिएका नेपालीका बारेमा जानकारी गराउँदै शव नेपाल पठाउन सहजीकरणका लागि अनुरोध गरेको  छ । रुसी सेनाले गरेको अनुरोधमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै शव नेपालमा रहेका उनीहरूको परिवारसम्म पुर्‍याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।
 
दूतावासले असारमा मारिएका दुईजनाको शव व्यवस्थापनका लागि कात्तिक ३ गते र कात्तिकमा मारिएका तीनजनाको शव व्यवस्थापनका लागि मंसिर ८ गते कन्सुलर सेवा विभागलाई पत्र पठाएको थियो ।
 
“प्रस्तुत् विषयमा तपशिलमा उल्लेख नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,” मस्कोस्थित नेपाली दूतावासले कन्सुलर सेवा विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

शव व्यवस्थापनलगायत कार्यमा परिवारसँग समन्वय गर्नु पर्ने भएकाले रुसी सेनाबाट प्राप्त मेडिकल डेथ सर्टिफिकेट र सो को औपचारिक अंग्रेजी अनुवाद एवं अन्य कागजातहरू दूतावासले विभागलाई पठाएको छ ।
 
“शवको तत्काल व्यवस्थापनका लागि निजहरूको परिवार र यस राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन समेत अनुरोध छ,” पत्रमा भनिएको छ ।
 
पाँचैजना युक्रेनसँगको युद्धको क्रममा मारिएको जनाइएको छ । 

यसअघि नेपालले रुसी सेनामा नेपाली युवा भर्ती भएको कुरालाई स्वीकार गरेको थिएन । तर दूतावासले विभागलाई पठाएको पत्रमा स्पष्ट शब्दमा रुसी सेनामा कार्यरत रहेको अवस्थामा नेपाली युवाको मृत्यु भएको उल्लेख गरेको छ ।
 
सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसदिनबाट सुरु भएको रुस–युक्रेन युद्ध हालसम्म जारी छ । 

युद्ध सुरु भएसँगै नेपाली युवा रुसी र युक्रेनी सेनामा भर्ती हुन गएको समाचारहरू प्रकाशित भए पनि नेपाल सरकारले त्यसलाई स्वीकार गरेको थिएन । मस्कोस्थित नेपाली दूतावासले अप्रत्यक्ष रुपमा नेपाली युवा उल्लेख्य संख्यामा रुस आउन थालेको र अलपत्र परेको विज्ञप्तिमार्फत बताएको थियो ।
 
केही महिनाअघि मस्कोस्थित दूतावासले विज्ञप्ति जारी गर्दै मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपाली नागरिकलाई रुस लगि अलपत्र पार्नेक्रम बढेको र ‘बुझेर मात्र’ रुस आउन अनुरोध गरेको थियो । 

‘भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थी अनेकन समस्यामा पर्ने गर्नुभएको छ,’ त्यतिबेला दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘अतः विद्यार्थी भीसामा रूस आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अपिल गर्दछौँ ।’

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३७० जना पुरुष र १६ जना महिना गरी ३८६ जना नेपालीले रुस जान श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८२ जना नेपालीले रुस जान विभागबाट श्रम स्वीकृति लिएका थिए । सोही वर्ष १५६ जना नेपालीले युक्रेनजानका लागि श्रम स्वीकृति लिएका थिए ।
 
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा ३०४ जना नेपालीले रुस जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार साउनमा ५३, भदौमा १६१, असोजमा ४७ र कात्तिकमा ४३ जनाले रुस जान श्रम स्वीकृति लिएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro