site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दीमै अपराध ! तीन वर्षमा एसपीसहित ८९ ‘सिनियर अधिकृत’ नै कारबाहीमा

काठमाडौं । अपराधलाई कारबाही गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मी नै जघन्य प्रकृतिको अपराधमा संलग्न हुने गरेको घटना देखापरेका छन् ।  रसुवामा आइतबार मात्रै एक व्यक्तिलाई बेपत्ता पारेको आरोपमा दुई प्रहरी कर्मचारी हिरासत पुगे । 

रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई बेपत्ता पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण थारू हिरासत पुगेका हुन् ।

कुटपिट तथा झै–झगडा आरोपमा पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय धुञ्चे ल्याउँदै गर्दा तामाङले रोङ्गा दोभानको नजिक उत्तरतर्फको भीरबाट हाम फालेर बेपत्ता भए ।

उनी अझै फेला परेका छैनन् । तर, उनका परिवारले भने तामाङलाई प्रहरीले बेपत्ता पारेको भन्दै प्रहरीमा निवेदन दिएका छन् । त्यही निवेदनपछि रसुवा प्रहरीले आफ्नै कर्मचारी शाह र थारुलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार जिल्ला अदालत रसुवाले उनीहरू दुवैलाई जनही ६ लाख ५० हजार धरौटी बुझाउन आदेश दियो । तर, धरौटी बुझाउन नसकेपछि दुवैजना कारागार चलान भएका छन् ।

एक महिना अघिमात्रै २१ असोजमा काठमाडौं महाराजगञ्जमा भएको लुटपाट घटनामा प्रहरी कर्मचारीकै संलग्नता देखिएपछि असईसहित तीन जना पक्राउ परेका थिए । उनीहरुसमेत हाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटलमा संलग्न थिए । उनीहरुले सिन्धुलीका मदन पुरी र सन्तोष पुरीसँग निजी गाडीमा ठमेलबाट युवतीसहित बालुवाटार जाँदै गरेका कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका थिए ।

हुन त, सुन तस्करी तथा अवैध सामान ओसार–पसारमा सुरक्षा संगठनकै गाडीदेखि सुरक्षाकर्मी नै संलग्न हुने गरेको घटना सार्वजनिक नभएको होइन । सुन तस्करीमा प्रहरीका दर्जनौ अधिकारी एकै पटक जेल समेत पुगेका छन् । पछिल्लो समय चोरीदेखि लुटपाट तथा डकैतीमा समेत सुरक्षाकर्मी संलग्न हुने गरेको घटना बढ्न थालेको हो ।

३० कार्तिकमा अर्को सुरक्षा संगठन सशस्त्र प्रहरी बलका असईसमेत चोरी घटनामा पक्राउ परे । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरीको आरोपमा सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलामा कार्यरत असई रमेश भण्डारी पक्राउ परेका हुन् ।

उनीमाथि चोरी मुद्दामा अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी तालिमको दौरान दार्चलाबाट धनगढी आएको खुलेको छ ।

त्यसरी नै विभिन्न अपराधमा नेपाली सेनाका कर्मचारीसमेत मुछिदै आएका छन् । दुई वर्षअघि मात्रै महेन्द्र दल गण शिवपुरीमा कार्यरत सैनिक जवान गंगाधर ढकालले पैसाका लागि आफ्नै साथी सैनिक हवल्दार भरत गुरुङको गोली हानी हत्या गरेका थिए ।

भरतपुर निवासी ढकालले विदामा चितवन गएका धादिङका गुरुङको हत्या गरेका थिए ।  त्यबाहेक लागूऔषध तस्करीदेखि ठगी आरोपमासमेत सैनिक कर्मचारी पक्राउ पदै आएका छन् । सैनिक कर्मचारी संलग्न घटनाको अनुसन्धान गर्ने सेनाभित्र आफ्नो छुट्टै सैनिक अदालत समेत छ । जसको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरी गणले गर्ने गर्छ ।

आमजनताको सुरक्षामा खटिने सुरक्षाकर्मी नै अपहरण, लुटपाट तथा चोरी डकैती जस्ता घटनामा मुछिनु दुःखद भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

“सुरक्षा निकायका कर्मचारी नै अपराधिक गतिविधिमा संलग्न हुनु समाजका लागि खतरा हो । पछिल्लो समय सुरक्षा संगठनमाथि राजनीतिक हस्तक्षेप बढेको छ । जसकारण अनुुशासनमा बस्नुभन्दा शक्ति केन्द्रको पाउँमा पर्ने अवस्थाका कारण यो अवस्था आएको हो,” मल्ल भन्छन् ।

आचरण सुधारका लागि भर्ना छनोटदेखि सामान्य गल्ती गर्दा पनि रेकर्ड राख्ने चलन र आपराधिक मनोवृत्ति भएका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मल्लले बताए ।

आमसर्वसाधारण मानिसको तुलनामा सुरक्षा संगठनमा कार्यरत सुरक्षाकर्मीमा अनुशासन बढी हुन्छ । कठोर तालिम तथा संगठनभित्रको आफ्नै ‘चेन अफ कमाण्ड’ का कारण उनीहरु बढी अनुशासित हुने गरेका हुन् । हरेक सुरक्षाकर्मी संगठनभित्र चेनअफ कमाण्डमा रहनैपर्छ । 

संगठनको ‘चेन अफ कमाण्ड’मा रहन नसक्ने र अनुशासन पालना नगर्ने सुरक्षाकर्मीमाथि आन्तरिक रुपमा यातना नै हुन्छ ।

तीन वर्षमा कति प्रहरीलाई भयो कारबाही ?

यसरी संगठनको आचारणविपरीत र आपराधिक गतिविधिमा सशस्त्र प्रहरी बल र नेपाली सेना भन्दा नेपाल प्रहरीको संलग्नता बढी देखिएको छ ।  संगठनको आचरणविरुद्ध प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सम्म संलग्न देखिएका छन् ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार, पाँच हजार ८६६ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ । आर्थिक वर्ष २०७७–०७८ मा एक हजार ९८२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । त्यस्तै, २०७८–०८९ मा एक हजार ८६० जना प्रहरी कारबाहीमा परेका छन् ।

त्यस्तै ०७९–०८० मा दुई हजार २४ जना कारबाहीमा परेका छन् ।  यसरी कारबाहीमा परेकामध्ये ८९ जना सिनियर प्रहरी अधिकारी नै छन । जसमध्ये ६४ प्रहरी निरीक्षक १६ डीएसपी र १० एसपी छन् ।

यसरी आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कसूर हेरेर ग्रेड घटुवादेखि बर्खास्तसम्मका कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी र सेनामा पनि कारबाहीको संख्या प्रहरीको तुलनामा कम भएपनि शुन्य भने छैन ।

किन गर्छन् बर्दीको आडमा अपराध ?

अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरी तथा आम नागरिकको जीउधनको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मी आफैँ आपराधिक गतिविधिमा संलग्न हुँदै गएको तथ्य संवेदनशील छ । अनुशासनका लागि कठोर मानिएको सुरक्षाकर्मी व्यक्तिगत लोभ र चाँडो धनी बन्ने उच्च महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा संलग्न हुने थालेको सुरक्षा अधिकारीहरु बताउँछन् । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनाली भन्छन्, ‘‘संगठनमा रहेका खराब मनोवृत्तिका कर्मचारीलाई त्यहीअनुसारको कारबाही हुन्छ । अपराध गर्दा बर्दी लगाएको आडमा कोही पनि जोगिँदैनन् ।’’

पूर्वगृहसचिव गोविन्द कुसुमले सुरक्षाकर्मीमा आवश्यक परामर्श र तालिम आवश्यक रहेको बताए ।

“सुरक्षाकर्मी पनि हाम्रै समाजका उपज हुन् । उनीहरुले बर्दी लगाएपछि मात्रै त्यसको उजार भएको हो,’’ कुसुमले बाह्रखरीसँग भने, ‘‘तर, बर्दी लगाएपछि संगठनको मुख्य उद्देश्यलाई नै आत्मसात गर्नुपर्छ । त्यसका लागि सुरक्षाकर्मीलाई तालिमको आवश्यकता पर्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro