काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै जीवन्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।
काठमाडौँमा मंगलबार हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले भने, “हुलाक टिकटले इतिहास जोगाउछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्त गर्छ ।”
सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताको सन्तति हुन् । उनी भारतबाट वाणिज्यशास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत हुन् । प्रशासन, कूटनीतिक, लेखन लगायत समाजसेवामा उनको विशेष योगदान रहेकाले सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए ।
हुलाक सेवा विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञ सँगै समाजमा लोपोन्मुख रहेका रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनको समेत हुलाक टिकटमा प्रकाशन गरेर प्रचार प्रसार गर्ने कार्य गर्दै आएको छ ।
कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त, छोराछोरीलगायतको सहभागिता थियो ।
माहिला छोरा हिमालय पाँडेले बुुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गर्नुले राष्ट्रबाट पुरै परिवार नै सम्मानित भएको महसुस गरेको बताएका थिए । सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, संघर्ष र योगदानबाट आफु सधै प्रेरित रहेको बताएकी थिइन् ।
भीमबहादुर पाँडे नेपाली कूटनीतिज्ञ एवम् प्रख्यात इतिहासकार पनि हुन् । २०२९ देखि २०३५ सालसम्म उनी महालेखापरीक्षक थिए भने उनी जर्मनी र भारतको राजदूत पनि भएका थिए । उनी राणाकालीन योजनाकार पनि हुन् । उनलाई २०१७ सालको राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्याएसँगै उनी खोसुवामा परेका थिए ।