
काठमाडौं । पूर्वमन्त्री एवम् पूर्वराजदूत कूटनीतिज्ञ डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।
डा. भेषबहादुर थापाका साथमा हरिबहादुर थापाले लेखेको पुस्तक थापाद्वयसहित पत्रकार सुधीर शर्मा र सांसदद्वय डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले सामूहिकरुपमा सार्वजनिक गरेका थिए ।
पुस्तक लोकार्पण समारोहमा थापाले परिवार र सद्भाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताएका थिए । उनले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरुमा काम गर्दाको अनुभव रहेको बताए ।
उनले पुस्तकमा व्यक्तिगत धारणा नभइ आफ्नो व्यावसायिक जीवनको दौरानमा राष्ट्रको लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको बताएका थिए ।

“मैले यो पुस्तक लेख्ने कल्पना पनि गरेको थिइनँ । तर परिवार र सद्भाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा यो पुस्तक जन्मिएको हो,” उनले भने, “यो पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत् राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरुमा काम गर्दाको अनुभव छन् । व्यक्तिगत धारणा नभइ आफ्नो व्यावसायिक जीवनको दौरानमा राष्ट्रको लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरेको छु । हाम्रो पुस्ताले गरेका यी प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गरेको छ भन्ने ठानेको छु ।”
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार शर्माले थापाको पुस्तक कूटनीतिक गाइडलाइन भएको बताए । “उहाँको छवि अर्थशास्त्रीमात्रै नभएर कूटनीतिज्ञको रुपमा बढी देखिन्छ,” शर्माले भने, “जीवन नै कूटनीतिज्ञ ।” थापा आफ्नो जीवनको ६५ वर्ष कूटनीतिक जीवनमा रहेको शर्माको टिप्पणी थियो ।
“यो पुस्तकले इतिहासको खाडल पुर्न मद्दत गर्छ,” उनले भने, “अरुले लेखेका संस्मरणभन्दा यो पुस्तक फरक छ । किनकि यसमा निजी धारणा कम छ । आफू संलग्न घटनाबाट बाहिर जानुभएको छैन ।”
थापालाई राजाको मान्छे भनेर आरोप लगाइने भए पनि काम गराइ त्यस्तो नभएको शर्माको भनाइ थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको व्यापारिक चरित्रमाथि पुस्तकमा सटिक टिप्पणी भएको उनले बताए । त्यस्तै सांसद वाग्लेले थापाको पुस्तकमा परिवेश, पेशा र पात्रलाई चित्रित गरेको बताए ।
परिवेशमा देश जोगाएको उल्लेख भएको, पेशाको हकमा राजाले माया गरेर अघि बढाएको र पात्रको रुपमा सामन्तलाई भत्काउनैपर्छ भन्ने देखिएको बताए । त्यस्तै सांसद श्रेष्ठले थापाको पुस्तकबाट वर्तमान पुस्ताले सिक्नुपर्ने धेरै विषयहरु रहेको बताइन् ।
लेखक हरिबहादुर थापाले राजा महेन्द्रदेखि ज्ञानेन्द्र शाहसम्म भोगेका कैयौँ विषय समावेश भएको उल्लेख गर्दै नेपालको विगतदेखिको कूटनीतिलाई बुझ्न पुस्तक अर्थपूर्ण रहेको बताए । कूटनीतिकरुपमा ठूला देशले नेपालप्रति विकासलाई केन्द्रमा राखेर कसरी हेर्छन् भन्ने पनि यसले स्पष्ट पार्ने बताए ।
भेषबहादुर थापा अमेरिकाको विश्वविद्यालय क्लेमरमन्टमा पढिरहेका बेला २४ वर्षको उमेरमा राजा महेन्द्रले बोलाएर राष्ट्रिय योजना परिषद्को सदस्य सचिव बनाएका थिए । त्यसपछि उनी राष्ट्र बैंकको गभर्नर भए भने त्यसपछि अर्थसचिव बनेका थिए ।
राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारी पाएका थापाले ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । पछि उनी परराष्ट्र मन्त्री पनि बनेका थिए भने अमेरिका तथा भारतका लागि राजदूत पनि भएर काम गरे ।
पछिल्लो समयमा उनी नेपाल भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक भएर पनि काम गरेका थिए ।
नेपालको लामो कालखण्डलाई थापाले नजिकबाट प्रत्यक्ष हेर्न र भोग्न पाएका थिए ।