site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा तथा विद्यार्थीको विदेश पलायन सबैभन्दा ठूलो समस्या : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उनले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए ।

Argakhachi Cement Island Ad

शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको उनले बताए । विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको उनले बताए ।

“विद्यार्थी देश बाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बन्न गएको छ,” उनले भने, “यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक छ ।”

प्रधानमन्त्रीले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागु गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्