
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएसँगै नेपालमा टिकटकको प्रयोग घटेको छ । तर, भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र सार्वजनिक रूपमा नि:शुल्क उपलब्ध डोमेन नेम सिस्टम (डीएनएस) सर्भरको प्रयोग गरेर केही प्रयोगकर्ताले टिकटक चलाइरहेका छन् ।
भीपीएनले प्रयोगकर्तालाई फरक देशको फरक इन्टरनेट प्रोटोकल (आईपी) एड्रेसबाट कुनै वेबसाइट वा वेब एपमा पहुँच पुर्याउन मद्दत गर्छ । डीएनएसले कुनै पनि डोमेन नेमलाई त्यो वेबसाइटको आईपी एड्रेसमा पुर्याउन मद्दत गर्छ ।
इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले आफ्नो डीएनएस सर्भरमा टिकटकको आईपी एड्रेस ब्लक गरेसँगै त्यसमा उसका प्रयोगकर्ताले पहुँच पाउन सक्दैनन् । सार्वजनिकरूपमा नि:शुल्क उपलब्ध ओपन डीएनएस, गुगल डीएनएस, क्लाउड फ्लेयर, क्वाड९ लगायत डीएनएस सर्भर सेटअप गरी चलाउँदा प्रतिबन्धित वेबसाइटमा पहुँच पाउन सकिन्छ ।
यी दुवै माध्यमको प्रयोग गरेर नेपालमा केहीले टिकटक प्रयोग गरिरहेका छन् ।
जसले गर्दा हाल करिब २० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेको सरकारले टिकटक चले/नचलेबारे अनुगमन गर्न गठन गरेको समितिका सदस्य एवं नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का अध्यक्ष सुधीर पराजुली बताउँछन् ।

उनले भने, “टिकटक बन्द भएपछि अहिले २० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेको छ । भीपीएन र ओपन डीएनएसको प्रयोग बढेपछि त्यो ट्राफिक टिकटकबाटै आइरहेको छ कि भन्ने हो ।”
भीपीएन र ओपन डीएनएसबाट टिकटकको प्रयोग हुन थालेपछि यी दुवै माध्यम बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रयास थालेको छ । नेपालमा रहेका सबै इन्टरनेट सेवा प्रदायकले यसका लागि काम गर्नुपर्ने हुन्छ । तर, धेरै जसो साना सेवा प्रदायकसँग आफ्नो डीएनएस सर्भर नै नभएको पाइएको छ । त्यसैले यो प्रयास सफल हुनेमा आशंका छ ।
“हामी १३५ वटा अपरेटर छौँ । डीएनएस बन्द गर्ने काम हामी सबैले गर्नुपर्छ । तर, समस्या के भयो भन्दा धेरैजसो साना आईएसपीहरूको डीएनएस सर्भर नै रहेनछ,” सुबिसु केबलनेटका संस्थापकसमेत रहेका पराजुलीले भने ।
यस्तै, पहिलेदेखि नै निकै धेरै वेबसाइट बन्द गरिएका कारण भीपीएनको आईपी एड्रेस ब्लक गर्ने कुरामा समेत प्राविधिक समस्या हुन सक्ने देखिएको उनले बताए ।
“पहिलेदेखि नै निकै धेरै साइटको आईपी हामीले ब्लक गरिराखेका छौँ । अब, हजार/बाह्रसय भन्दा बढी भीपीएनहरूको आईपी ब्लक गर्दा डीएनएस सर्भर नै क्र्यास हुने हो कि ? कतिवटा चाहिँ ब्लक गर्ने ? डीएनएस सर्भरले नै भ्याउँदैन कि भन्ने स्थिति बनेको छ ।”
सरकारको निर्देशनानुसार पूर्णरूपमा टिकटक बन्द गर्न आफूहरू प्रयासरत रहेको उनले बताए । हाल समग्रमा ८० प्रतिशत भन्दा बढी टिकटक बन्द रहेको उनले बताए । तर, पूर्णरूपमा बन्द गर्न सकिने/नसकिने चुनौतीको विषय भएको उनको भनाइ छ ।
सुरुमा बन्द गर्दा केही दिन ९५ प्रतिशत भन्दा बढी टिकटक बन्द भएको बताइएको छ । टिकटक खुला रहँदा क्यासिङबाट चल्ने गरेकामा अहिले ओपन डीएनएस र भीपीएन प्रयोग हुँदा त्यो अन्तर्राष्ट्रिय ब्यान्डविथमा जाने भएको आइस्पानका अध्यक्ष पराजुलीले बताए ।