गीता रेग्मीको हृदय साँच्चै कोमल, संवेदित र काव्यिक रहेछ, र त ‘प्रशान्तको तीरैतीर’ अब्बल नियात्रासंग्रह बनेको छ । साथै, अनेसास बेलायतबाट पुरस्कृत पनि ।
‘प्रशान्तको तीरैतीर’ले नियात्रासाहित्यको विराटतालाई समेटेको छ । फरकफरक विषयका सुन्दर, स्वतन्त्र र यथार्थ पक्षलाई कलात्मक र सरसपूर्ण ढंगबाट प्रस्तुत गरिएको छ ।
कृतिकार रेग्मीसँगै अस्ट्रेलियामा बरालिन पाउँदा मलाई बढो आनन्द अनुभव भएको छ, यतिखेर । घरको एउटा कोठामा आनन्दले सिरक ओढेर अस्ट्रेलियाको भूगोल, भाषा, भरोसा, कला, कल्चर, काम, विकास, विनाश, विद्रोह, बेमेल र विसंगतिलाई खोतल्दै तर्क र वितर्कहरूको मदानीमा विचारहरू मथ्दै पुस्तक पढ्न पाएकी छु ।
अस्ट्रेलियाका अस्पतालले नागरिक र करदातालाई दिएको उत्कृट सेवा, सुविधा र सुरक्षाको प्रत्याभूतिले हायलकायल भएँ । स्वास्थ्यप्रति राज्यको संवेदनशीलता कार्यान्वयन भएको सत्यसँग नजिकबाट परिचत हुन पाउँदा आमनेपालीलाई झैँ मलाई पनि हजुरआमाले सुनाएको दन्त्यकथाजस्तै लाग्यो ।
रेग्मीले झैँ अस्ट्रेलियाका हरेक सकारात्मक पाटाहरूसँग मैले पनि नेपाल र नेपालीलाई दाँज्दै गएँ । कतै अस्ट्रेलियाको समृद्धि देखेर खुसीले फुरुक्क परेँ त कतै नेपाल र नेपालीका पीर र व्यथाको पिरो धुवाँले रोएँ ।
त्यहाँको संसद् भवन हेर्न जाँदाको सहजता, झन्झटविहीन प्रक्रिया, प्रवेश सुव्यवस्थाको प्रसंग पनि बढो मार्मिक छ । नेपालको संसद् भवन प्रवेश गर्न हारगुहार मागेर एकजना सांसदको औँला समातेर भित्र पसेको सम्झना गर्दै नियात्राकार आश्चर्यमा परेकी छन् ।
जीवन र मृत्युको सँघारमा छटपटिएकी नियात्राकारकी बहिनीको अस्पताल बसाइलाई मैले पनि अनुभव गरेँ । प्रसवको पीडामा म पनि आकुलव्याकुल भएँ । ‘नडराउनु दिदी, अस्पतालले मलाई मर्न दिँदैन क्या !’ बिरामीको अस्पतालप्रतिको भरोसा देख्दा मेरा आँखा पनि गर्वले जलमग्न भए ।
बच्चालाई ढुक्कसँग अस्पतालमा सुरक्षित छोडेर आनन्दले आमा घर गएको बेला आनन्दित म पनि भएँ ।
सानी नानी प्रार्थनाको बालसुलभ चञ्चलताले कैयौँपटक खित्खिताएँ ।
अस्ट्रेलियामा विभिन्न सन्दर्भमा गएका नेपालीजनको जीवनसंघर्षलाई नियात्राकारले नजिकबाट छामेकी छन् ।
श्रीमान्ले आफ्नै श्रीमतीलाई मजदुरका रूपमा बेच्नु, आफ्नै बहिनी र लोग्नेले धोका दिएर अस्ट्रेलियाको कृषि फार्ममा जीवन घिसारिरहेकी दिदीको कथाले ऐँठन पार्छ ।
पैसाका खातिर श्रीमतीलाई अरूसँग पेपर म्यारिज गराएर अस्ट्रेलिया धकेलेर स्वास्नीले नै पठाएको पैसामा मोजमस्ती गर्ने श्रीमान्को चित्र कहालीलाग्दो छ ।
हरियो पासपोर्ट संसारले चिनिसक्यो । तर ‘खाइराइड’ले ग्रस्त कर्मचारीहरूले हरियो नेपाली पासपोर्ट चिन्न सकेनन्, हे दैव ! नियात्राकारलाई बिनाकारण आफ्नै देशका कर्मचारीले दुःख दिएको प्रसंग पनि कृतिमा छ ।
अस्ट्रेलिया पुगेर पनि नेपालीले नेपालीलाई नै ठगेको, दुःख दिएको प्रसंगले हृदय कोक्किन्छ ।
आफ्नो परम्परा, संस्कृति र सम्बन्धलाई तिलाञ्जली दिएर नवीन सम्बन्ध निर्माण गर्दा उत्पन्न भएका मानसिक तनाव र मानसिक स्वास्थ्यको पाटोलाई लिभिङ टुगेदरको चर्चामार्फत नयाँ पुस्तालाई सचेत गराइएको छ ।
वास्तवमा मानव के चाहन्छ ? भन्ने प्रश्न नजानिँदो किसिमले उनले उठान गरेकी छन् ।
‘प्रशान्तको तीरैतीर’को भाषा सरल, सुललित र सरसपूर्ण भएकाले पाठकलाई पुस्तकले बगाएर लैजान्छ ।
गीता रेग्मीले अस्ट्रेलिया यात्रा आफूमा मात्र सीमित नराखेर मजस्तो घरको आँखीझ्यालबाट भए पनि घुम्न मन पराउने मान्छेलाई साहित्यसँगसँगै विदेश यात्राको अवसर दिएकी छन् ।