site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
केराका थाम र बाँसका भाटामा अडेको दियो
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

पाँच दशकअघिसम्म झापाको हाम्रो गाउँमा बिजुली बत्तीको कल्पना सायदै कसैले गरेका होलान् ।

तीसको दशकको सुरुआती समयको सन्दर्भ हो । भर्खरै महेन्द्र राजमार्गले पूर्णता पाएको थियो । सवारीसाधनको आवागमन हुन थालेको थियो, काँकडभिट्टादेखि पश्चिम धरान, विराटनगरतिर ।

हाम्रो गाउँमा पनि थापा जिम्दारहरूले ठूलो मिल खोलेका थिए । त्यसअघि भने सानो डिजेलबाट चल्ने टुकटुके मिल थियो । त्यसमा गाउँलेहरूको तोरी पेल्ने, धान कुट्नेलगायत कार्य गरिन्थ्यो ।

Agni Group

त्यसअघि भने झन्डै चार किलोमिटर उत्तर नकलबन्दामा रहेको घोडाप्रसाद कानुको मिलमा धान कुटाउन लैजानुपर्ने बाध्यता थियो । त्यसको धमिलो सम्झना मेरो मानसपटलमा अझै पनि छ ।

ठूलो तामझामसाथ थापा जिम्दारहरूको ठूलो मिल उद्घाटन गरिएको थियो । उत्निखेरका शिक्षामन्त्री हीरालाल विश्वकर्माले मिलको उद्घाटन गरेका थिए । जसलाई स्थानीयले ‘अटोमेटिक मिल’ भन्दै आएका थिए । त्यो मिल पनि डिजेलबाट नै चल्थ्यो सायद ।

Global Ime bank

अर्जुन धन राइस आयल एन्ड फलोर मिल्स प्राइभेट लिमिटेड भनेर मिलको नामकरण गरिएको थियो । उनीहरूका बाबुको नाम अर्जुनबहादुर थापा र आमा धनकुमारीको नामबाट मिल चालु भयो ।

त्यही मिल नै तिनताक हाम्रो क्षेत्रको सम्भवतः ठूलो उद्योग थियो । वर्षमा झन्डै ६ महिना उसिना चामल उत्पादन गर्ने मिलको उत्पादित चामलको पूरै हिस्सा भारतको पश्चिम बंगाल र उडिसातिर जान्थ्यो ।

त्यस बेला देश कृषिप्रधान थियो । आज त्यो प्रधानता धुमिलिएर धान–चामलमा भारतबाट आश्रित हुन पुगेका छौँ ।

त्यो ठूलो मिलमा केही स्थानीय महिला–पुरुषले ज्यालादारीमा मजदुरी पाएका थिए । केही किराना पसलको व्यापार फस्टाएको थियो । मिलका मुनिमलगायत कर्मचारी र प्राविधिक भने थोरै नेपाली र अधिकांश भारतीय नै थिए । ती कोही बिहारी मूलका त कोही बंगाली मूलका ।

सुरुमा त्यही मिलले गाउँभरिका केराका थाम जम्मा पारेर सोही थाममा बाँसका भाटा जोडेर दियो बाल्ने बन्दोबस्त मिलाइएको थियो । अनि, मिलको छानामा लहरै माटाका पालामा तोरीको तेल हालेर झिलिमिली बत्ती बाल्न थालियो ।

त्यो देखेपछि नै गाउँलेले त्यसैको सिको गरेर केराका थाममा बाँसका भाटामा दियो राखेर बाल्न थालेका हुन् ।

दसैँले भर्खरै रित्तिएका किसानलाई तत्कालै आएको तिहारले आर्थिक चटारो थपेर हैरान पारेको हुन्थ्यो । बेच्न मिल्ने धान पाकेकै हुँदैन थियो । अन्नका भकारी प्रायःको खालीखाली नै हुन्थ्यो ।

कसैकसैले खसी र बोका बेचेर पनि गर्जो टार्ने गर्थे । नत्र थाप्लामा साहुमहाजनको मने ब्याज (एक सय रुपैयाँको एक मन (४० किलो) धान) ऋण बोक्नुको विकल्प थिएन । साहुमहाजन कोहीकोही त झन् कालो नुनिया धान समेत लिन पछि नपर्ने खालका थिए ।

मोटा धानभन्दा तीनगुना महँगो हुन्थ्यो, कालो नुनिया धान । सोझासाझा किसान त्यसैको मारमा पर्दथे ।

भन्नु मात्र हो, वास्तवमा दसैँभन्दा तिहार खर्चिलो चाड हुन्थ्यो, एउटा सामान्य परिवारका लागि ।

अरूको घरमा भन्दा अगाडि राइस मिलमा तिहारको रौनक सुरु हुन्थ्यो । माटाका पाला बेच्न नक्सलबारी बजारबाट कुमालेहरू ठेला लिएर आउँथे र पाला गाउँघर, बजारमा डुलाएर बेच्थे ।

मिलमा भिजाएर राख्ने पालाले तेल बढी खान्छ भनिन्थ्यो । त्यसैले गोबर र रातोमाटो मुछेर पालामुनि राखेर त्यसलाई अड्याउने काममा पनि मिलका मजदुरहरू दत्तचित्त रहन्थे ।

अरू गाउँलेका आ–आफ्नै हैसियतअनुसार, कसैका घरमा मैनबत्ती र पालाले तिहार उज्यालो पारेर लक्ष्मी भित्र्याउने काम हुन्थ्यो । मिलमा पूजा सकिएपछि गद्दीघरमा जुवा खेल्न सुरु हुन्थ्यो ।

गाउँका कोही खेल्न र कोहीकोही भने च्याँखे थाप्नका लागि पुग्थे । केटाकेटीहरूका लागि जुवाको खालमा जानै पनि बन्देज थियो । तर, कोहीकोही केटा लुकेरै भए पनि जुवा खेलेको हेर्न पुगिहाल्थे ।

भोलिपल्ट बिहानै ‘फलानाले यति रकम मारेछ त फलानाले यति हारेछ’ भन्ने चर्चाले गाउँमा एक किसिमको तरंग नै ल्याउँथ्यो । सोही विषयले कसैकसैका घरमा झगडा समेत हुने गरेको थियो । वास्तविकता के हो, हामी केटाकेटीहरूलाई के थाहा ! हामीले त सुनेको कुरा न हो ।

पञ्चक लाग्नुअघि नै चेलीले माइतीलाई तिहारको टीका लगाउन डाक्ने चलन थियो । कसैले सयपत्री फूल शिरमा राखेर निम्तो दिन्थे, कसैले मिठापानको निम्तो दिएर ‘ल, तिहारमा आउनु है’ भन्थे ।

उता आदिवासी समुदायमा भाइटीका लगाउने चलन थिएन । उनीहरू नाचगान, रमाइलो गर्ने र देउसी खेल्नेजस्ता काममा भने सरिक हुन्थे । राजवंशी र किसान समुदायका मानिसले गाईतिहारका दिन बेलुका खेतमा गएर सन्ठीको त्रिकुटी बनाई दियो बालेर अन्नले धनधान्य होस् भनेर पूजा–अर्चना गर्दथे ।

उनीहरू सोहोरे गीत गाउँथे । धान पाक्न ठिक्क परेको हुन्थ्यो । लक्ष्मीपूजाका दिन बेलुका चेलीबेटीले भैलो र कुकुर तिहारका दिन बिहान गोरु पूजेपछि बेलुकी केटाहरूले देउसी खेल्थे ।

कतिपय त भाइटीका लगाएर पनि देउसीमा हिँड्थे । देउसी खेल्दा घर बिराउने चलन थिएन । सबै घर नछुटाईकन खेल्ने प्रचलन थियो । एक वर्ष त मैले दिनभरि नै देउसी खेलेर चार रुपैयाँ भाग लाग्दा ठूलै रकम हात लागेको हिजैजस्तो लाग्छ ।

देउसीमा एक रुपैयाँ दक्षिणा पाउनु पनि ठूलो कुरा हुन्थ्यो । नत्र २५ पैसा र ५० पैसाको ढ्याक नै हुन्थ्यो, दक्षिणाको रकमकलम । त्यसपछि अर्को वर्षका लागि तिहारले बिदा माग्थ्यो ।

वास्तवमा गाउँमा तिहार सबै किसिमले उपयुक्त चाड थियो । त्यो स्मृतिले सधैँ ‘नोस्टाल्जिक’ बनाउँछ ।

बितेको साढे तीन दशकदेखि काठमाडौंमा छु । यसबीच थोरैपटक मात्रै झापा पुगेको छु । त्यसरी जाँदा पनि बाल्यकालीन तिहारको पुनः अनुभूति गर्न पाएको छैन, उमेरजन्य कारणले पो हो कि !

ठूलो मिल भग्नावशेषमा परिणत भएको धेरै वर्ष बितिसकेको छ । मिल मालिकहरूमध्ये केहीले यो धरा छोडिसके । विभिन्न कारणले अचेल प्रायः तिहारमा काठमाडौंले छोड्दैन ।

दियोका ठाउँमा छिमेकी मुलुक चीनले नानाभाँतीका बिजुलीबाट चल्ने झिलिमिली बत्ती पठाउन थालेको छ । कतिले त दुरुस्तै माटाका पालाको झल्को समेत दिन्छ । यहाँ झिलिमिली बत्तीको तिहार छ । कागलाई भात र पालेका कुकुरको पूजा हुन्छ ।

राजधानीमा अचेल गाईको पूजा गर्न पाउने भाग्यमानी साहै्र थोरै मात्र होलान् । गोरुबहरको पूजा गर्न कहाँ पाउनु अब ? देउसीभैलो पनि घर छुट्ट्याएर खेल्ने चलन आइसकेको छ । धेरै दिनेकहाँ जाने, थोरै दिनेकामा पस्दै नपस्ने !

बरु, टेलिभिजनमा देउसी गीत हेरेर रमाउने पंक्ति ठूलो छ, जो यसैबाट आफ्नो विगत र भोगाइको स्मरण गर्न बाध्य छन् ।

मेरो पाँच दशक कटिसकेको उमेरले पनि यस्तैयस्तै अनुभूति गरेर तिहारको मूल्यांकन निरन्तर गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu