site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कथा लुकाउनु अर्को कुरा 

सागरमा मिसिएर नदीले 
आफू पनि सागर भएको 
दाबी गर्नु एउटा कुरा, 
त्यही सागरमा हराएको 
आफ्नो अलग अस्तित्वको
कथा लुकाउनु अर्को कुरा ।

अँध्यारोमा धुरीमा आगो लाग्दा खरले
आफूले उज्यालो छरेको 
दाबी गर्नु एउटा कुरा, 
त्यही आगोमा जलेर
खरानी भएको धुरीको 
कथा लुकाउनु अर्को कुरा ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रियतमको बाटो कुर्दै प्रेयसीले 
जुनीजुनी सँगै बाँच्ने 
दाबी गर्नु एउटा कुरा, 
त्यही बाटोमा कुर्दाकुर्दै
बितेको आफ्नो जवानीको 
कथा लुकाउनु अर्को कुरा । 

मुग्लानमा महलछेउ फोटो खिच्दै परदेशीले 
आफू हाँसीखुसी भएको 
दाबी गर्नु एउटा कुरा, 
त्यही महल चुलिँदै गर्दा 
बगेका उसका आँसु, पसिनाको 
कथा लुकाउनु अर्को कुरा । 

चारैतिर फाँट हेर्न 
डाँडा चढ्ने आगन्तुकले 
स्वर्ग रहेछ पाखा भनी 
दाबी गर्नु एउटा कुरा, 
त्यही पाखामा पानी ल्याउन 
घण्टौँ हिँड्ने महिलाको 
कथा लुकाउनु अर्को कुरा । 
(बर्लिन, जर्मनी)
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्