site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारका गीतमा शम्भुजितको सुरको छडी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

आफूले गरेको संगीतको पुस्तान्तरण हुन्छ/हुँदैन त्यो भोलिको कुरा, स्रोतामै भरोसा । मिहिनेत भने गर्नुपर्छ भन्ने मान्यता छ, शम्भुजित बास्कोटाको । यो उनको काम गर्ने ‘फर्मुला’ नै हो । सिर्जनात्मक सोच र लगावले काम गरे, सायद त्यही नै उनको सफल सांगीतिक करिअरको मुख्य कारण हो ।

चलचित्रको संगीतलाई कतिपयले पानीको फोकासँग तुलना गर्छन् । हल्काफुल्का हुन्छ, आज आउँछ, भोलि हराउँछ भन्ने टिप्पणी गर्छन् । तर, शम्भुजितको फरक धारणा थियो/छ । चलचित्रको संगीत पनि गहन हुन्छ र एकदेखि अर्को पुस्तामा पुस्तान्तरण हुन्छ भन्ने मान्यता राख्छन्, उनी । जसलाई उनले प्रमाणित पनि गरेका छन् । 

सन्दर्भ शम्भुजितले संगीत भरेका तिहार गीतको । चलचित्रका गीतसंगीतमा शम्भुजितको नाम पर्याय बनिसकेको थियो । अक्सर हरेक चलचित्रका गीतमा उनको संगीत हुन्थ्यो । चलचित्र संगीतमा उनी व्यस्त बनिसकेका थिए । त्यही व्यस्त समयबीच उनले चलचित्रमा ‘सिचुएस्नल’ रूपमा आएका केही तिहार गीतमा पनि संगीत भरे । तिनै गीत बज्दा अहिले पनि आमनेपालीजनलाई तिहार आएको झल्को मिल्छ । हरेक तिहारमा ती गीत बजाइन्छ । गीतको लोकप्रियता बढ्दै गयो । फलतः गीत सदाबहार बने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सुरुमा शम्भुजितले सम्झिए चलचित्र ‘विजय पराजय’को तिहार गीत, ‘निधारमा लर्काएर सप्तरंगी टीका...।’

शैलेश आचार्यले सिनेमाको कथा लेखेका थिए । निर्देशक राजेन्द्र शलभ थिए । तिहार गीत लेख्न दिनेश अधिकारी तय भए । संगीतकार उनै शम्भुजित । उनीहरू सिनेमाको कथा र ‘सिचुएसन’लाई लिएर घण्टौँ कुरा गर्थे । छलफलले विचारलाई बलियो बनाउँथ्यो । क्रिएसनमा सहज गराउँथ्यो ।

Royal Enfield Island Ad

सिनेमाको कथाले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई उजागर गर्थ्यो । त्यहीअनुसार दिनेशले शब्द कोरे । उनी धुन र अब्स्ट्रयाक दुवैमा गीत लेख्न सक्थे । उनले गीत दिएपछि शम्भुजित संगीतका सुरहरूमा खेल्न थाले । संगीतका सुरहरूले शब्दमा केही परिवर्तन खोजे । दिनेश तयार भए । परिमार्जन गरे । 

“यो गीतमा संगीत भर्दा मैले नेपालमा तिहार कसरी मनाइन्छ, अध्ययन गरेँ । दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्ध हेरेँ । साथीभाइका दिदीबहिनीसँग लगाइने भाइटीका पनि अध्ययन गरेँ । देउसीभैलो कसरी खेलिन्छ, त्यो पनि अध्ययन गरेर र त्यहीबीचबाट संगीत सिर्जना गरेँ,” शम्भुजित भन्छन्, “किनकि, पर्व गीत पर्वसँग नजिक हुनुपर्थ्यो । पर्वको मर्म र भावना झल्किने हुनुपर्थ्यो ।”

संगीत सिर्जना गरेपछि उनी बम्बई ल्याब रेकर्डिङ स्टुडियो पुगे । कल्याण आनन्द, बब्लु दा, उत्तम सिंहलगायत सर्जकले काम गर्ने उक्त स्टुडियोमा गीतको एरेन्ज गरे । त्यहीँ ट्रयाक बनाएपछि कसलाई गाउन लगाउने शम्भुजितले सोच्न थाले । उनको दिमागमा आयो लता मंगेशकर र आशा भोस्लेको नाम । लता र आशाले त्यसअघि थुप्रै नेपाली गीत गाइसकेकाले उनीहरूकानाम आउनु स्वाभाविक हो । 

तर, त्यही बेला भेट भयो हेमलतासँग, जसले त्यसअघि नै नेपाली गीत गाइसकेकी थिइन् । लोकगीत गाइसकेकाले नेपाली शब्द उच्चारण उनको राम्रो रहेछ ।

“सेन्टिमेन्ट र इमोसनल गीतमा फिट हुने आवाज लागेपछि मैले हेमलतालाई गीत गाउन लगाएँ,” उनी भन्छन्, “सुगम संगीतको जगमा छ यो गीतको संगीत । सिचुएस्नल क्रिएसन छ यो गीतमा । हरेक तिहारमा बज्ने यो गीतको संगीत मात्रै होइन, शब्द पनि त्यति नै राम्रो छ । दिनेश अधिकारीका राम्रा गीतमध्ये यो पनि एक हो ।”

संगीत सिर्जना हो । सिर्जना अक्सर मुडमा हुन्छ । क्षमतावान् सर्जकले मुड बनाएर पनि सिर्जना गर्छन् । पछिल्लो क्षमता भने कमैमा हुन्छ । शम्भुजितलाई कुनै सिर्जना गर्न लामै समय लाग्छ । कुनै सिर्जना निकै छोटो समयमा सकाउँछन् । यो गीत छोटो समयमा गरिएको सिर्जना हो । 

० ० ०

शम्भु प्रधान निर्देशक थिए । नूतन प्रधान सिनेमा लेखक । चलचित्रको संगीतका निम्ति सिचुएसन के हो ? शम्भुजितले सोधे । एकएक सिचुएसन बताउँथिन् नूतन । चलचित्र थियो, ‘स्वर्ग’ । सिनेमामा तिहारसम्बन्धी एउटा गीत थियो ।

गीतकारका रूपमा जोडिएका थिए, यादव खरेल । शम्भु चलचित्रका गीत स्रोतादर्शकले नोटिस गर्ने र राम्रा पनि हुनुपर्छ भन्ने मान्यता राख्थे ।

यादव गीत भनेको जीवन, जगत् र प्रकृतिसँग नजिक हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी सरल शब्द प्रयोग गरेर उत्कृष्ट गीत लेख्ने गीतकार हुन् । उनले लेखे, ‘तिहारै आयो, लौ झिलिमिली...।’ गीत शम्भुजितको हातमा पर्‍यो । 

त्यसअघि, ‘स्वर्ग’का दुई गीत ‘छोरी मलाई भागीभागी नसताऊ’ र ‘म त अब रिसाउँछु, बोल्दै बोल्दिनँ’ रेकर्ड भइसकेका थिए । ती गीत उनले बम्बई (मुम्बई)मा रेकर्ड गराएका थिए । यो गीत भने उनले यहीँ रेकर्ड गराए । कारण, यो गीत निर्माण पक्षले पछि राख्ने निर्णय गरेको थियो ।

शम्भुजितले संगीत भर्ने क्रममा एउटा सिचुएसन आयो । उनलाई त्यहाँ एक लाइन थप्न मन लाग्यो । यादव खरेललाई भने, ‘दाइ, यहाँनेर एउटा सिचुएसन आयो, तिहार मनाउन लाउरे आउने–जाने पनि गर्छन्, यो लाइन राखौँन ।’ यादवले पनि तत्कालै एक लाइन थपिदिए ।

लोचन भट्टराईले गीतमा स्वर भरिन् । नूतनले पनि एक लाइनमा स्वर दिइन् । 

० ० ०

अभिनयको बाटो हुँदै नायक श्रीकृष्ण श्रेष्ठ अन्ततः सिनेमा निर्माणमा होमिए । उनले सिनेमा बनाउने भए, ‘कोहिनुर’ । कथामै जोडिएको थियो तिहार गीत । संगीतकार उनै चिरपरिचित शम्भुजित बास्कोटा । श्रीकृष्ण पनि कथाको गहिराइमा पुगेर कुरा गर्थे । चलचित्र आकाश अधिकारीले निर्देशन गर्दै थिए ।

श्रीकृष्णकै अफिसमा बसेर शम्भुजित हार्मोनियममा तिहार गीतको धुन निकाल्न थाले । धुन तयार भयो । शब्द भेटिएन । धेरैलाई लेख्न लगाए । गीत उनीहरूसम्म आइपुग्यो, तर कसैको गीत चित्त बुझेन ।

‘ए हजुर, यसपालिको तिहारै रमाइलो...’ एक लाइन राखेर ट्युनिङ गरेर धुन बनाए । त्यसपछि उनले आग्रह गरे सुन्दर श्रेष्ठलाई, जो नेपालको नोट (पैसा)को डिजाइनर पनि हुन् । उनी गीत लेख्थे । सिनेमा पोस्टरका डिजाइनर र एकाध गीत पनि लेख्ने भएकाले शम्भुजितसँग उनको पुरानै चिनजान थियो । त्यसैले शम्भुजितले भने, ‘मलाई तिहारको एउटा गीत चाहियो सिनेमाका लागि ।’

नभन्दै शम्भुजितलाई सुन्दरको गीत ‘सुन्दर’ लाग्यो । श्रीकृष्ण, आकाश र श्वेतालाई पनि गीत मन पर्‍यो । बम्बईमा एरेन्ज गराए । नेपाल आएर प्रमोद खरेल र अञ्जु पन्तलाई गाउन लगाए ।

बम्बईमा नेपाली गीत रेकर्ड गराउँदा कतै उतैको मौलिकता झल्कने संगीत र अरेन्ज हुने त होइन भन्ने डर शम्भुजितलाई हमेसा हुन्छ । त्यसैले सजग भएर उनी नेपाली गीतलाई मौलिकता दिने प्रयास गर्छन् । 

ए हजुर... अरूभन्दा अलि भिन्नै छ ।

जस्तै ?

तिहारमा देउसी गीत पुरुषर भैलो महिलाले गाउने परम्परा छ । “तर, मैले यो गीतमा देउसी र भैलो दुवै कोरसमा राखेँ र महिला–पुरुष दुवैलाई गाउन लगाएँ । जसले गर्दा महिला र पुरुष दुवैका लागि यो गीत गाउन मिल्यो,” गीत चलाउन गरेको चलाखी सुनाउँछन्, शम्भुजित ।

आफ्ना कुनै पनि तिहार गीत एउटासँग अर्को नमिल्ने उनी बताउँछन् । “कम्पोजिसनको हिसाबले मेरो एउटा गीतसँग अर्को मिल्दैन,” उनी भन्छन् । एकै व्यक्तिले संगीत गरेका गीत एउटासँग अर्को नमिल्नुलाई ‘सांगीतिक घराना’ भनिन्छ ।

पर्व गीतमा संगीत गर्दा संस्कृतिबारे जानकारी हुनुपर्नेमा उनी जोड दिन्छन् । “पर्व गीत लेख्दा र संगीत गर्दा दुवैले पर्वको महसुस गर्नुपर्छ । पर्वबारे जानकारी र अध्ययन हुनुपर्छ,” उनी भन्छन्, “आफूले पर्व कसरी मनाइएको थियो, बालक, युवा हुँदा र अहिले कसरी मनाइएको छ ? यसको विशेषता र पौराणिक पक्षबारे महसुससँगै अध्ययन गर्नुपर्छ ।”

उनी संगीतका सुरसँग मात्र होइन, शब्दसँग पनि खेल्छन् । शब्दमा आफूलाई चित्त नबुझे परिमार्जनका निम्ति गीतकारलाई आग्रह गर्छन् । जसले बिग्रन लागेको गीतलाई बचाउँछ । अर्थात्, ठिकठाक गीतलाई राम्रो बनाउँछ ।

सिनेमाको सिचुएसनअनुसार शम्भुजित गीतमा संगीत भर्छन् । निर्देशक र कोरियोग्राफरलाई ‘यो गीत र संगीतको सिचुएसन यस्तो हो, त्यसैले यसको भिजुअल यस्तो हुनसक्छ है’ भनेर सुझाव दिन्छन् ।

संगीत भरेपछि शम्भुजित ‘गीत यो गायक/गायिकालाई गाउन लगाउँदा राम्रो हुन्छ’ भनेर निर्माण पक्षलाई बताउँछन् । अक्सर धेरैले उनको सुझाव मान्छन् नै । नमाने गीत बिग्रन्छ ! त्यो पनि उनले आफ्नो लामो करिअरमा अनुभव गरेका छन् । जसले गीत नै बिगार्ने गरी गायक/गायिका आफैँ रोजे, उनीहरूसँग शम्भुजितले दोहोरिएर काम गरेनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro