मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये चारजनाको परिचय खुलेको छ ।
बर्दघाट सुस्ता पूर्वकै बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना र बुलिङटार गाउँपालिका–४, चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
मृतकमध्ये दुईजनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सातजना सवार थिए ।
दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालको उपचार जारी छ । चितवनको पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किएको थियो । रासस