site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालका कम्युनिस्ट नेताहरूलाई चीन 'पानी पँधेरो', पाँच महिनामा ५८ जना भ्रमणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताहरुका लागि छिमेकी चीन जानु ‘पानी–पँधेरो’ जस्तै बनेको छ । चीनमा नेताहरुको जाउआऊ बाक्लो छ ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच महिनायता माओवादी केन्द्र र एमालेका टोलीहरु चीन घुमेर फर्किसकेको छ । 

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १५ जना नेता मंगलबार चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी निमन्त्रणमा चीन भ्रमणमा पार्टीका नेताहरु जान लागेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । 

गएको जेठ ५ गते माओवादीका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो ।  १५ दिने भ्रमणको टोलीमा सचिवहरू गणेश शाह, डिलाराम आचार्य, हितमान शाक्यसहितका नेताहरु सहभागी भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

माओवादीका नेता फर्किएको केही महिनामा नै एमालेका नेता चीन गएका थिए ।  भदौ १७ गते एमालेका महासचिव शंकर पोखरलेको नेतृत्वमा २२ सदस्यीय टोली चीन गएको थियो ।  भ्रमण टोलीमा पार्टीका स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत सहभागी थिए । 

त्यस्तै, गएको साउन २५ गते माओवादी महासचिव देव गुरुङ चीन भ्रमणमा गएका थिए । एकीकृत समाजवादीका ‘सम्मानीत नेता’ झलनाथ खनाल असोज २९ गते चीन गएका थिए । 

Global Ime bank

चीनको बेइजिङमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’ (बीआरएफ) मा सहभागी हुन त्यहाँ गएका थिए । उनी कार्तिक ६ गते स्वदेश फर्किए ।  यो बीचमा सरकारका तर्फबाट पनि भ्रमण भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डअसोज ६ गते चीन प्रस्थान गरेका थिए । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कबाट उनी सिँधै चीन गएका थिए । उनी असोज १३ गते स्वदेश फर्किएका थिए ।  माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ असोज २९ गते चीन प्रस्थान गएका थिए । 

चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उनी चीन गएका थिए । तेस्रा तहका कम्युनिष्ट नेता÷कार्यकर्ताहरु तथा समर्थकहरुको भ्रमण बाक्लो हुने गरेको छ । 

विगतमा कहिले को पुगे ?

२०७२ मा एकै महिना एमालेका तीन टोली सीपीसीको निमन्त्रणमा चीन पुगेका थिए ।  तत्कालीन एमाले महासचिव ईश्वर पोखरेलले एकलौटी रुपमा आफू निकटलाई मात्र चीन पठाएको भन्दै त्यतिबेला एमालेकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

२०७४ भदौ महिनामा एमालेका दुई टोली सीपीसीको निमन्त्रणमा चीन पुगेको थियो ।  तत्कालीन उपमहासचिव घनश्याम भुसालको टोली चीनबाट फर्केलगत्तै प्रदीप ज्ञवालीको टोली चीन गएको थियो ।  ज्ञवालीले चिनियाँ नेताहरुलाई जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिएका थिए ।

२०७५ भदौमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सीपीसीको निमन्त्रणामा चीनको भ्रमण गरेका थिए ।  चिनियाँ राष्ट्रपतिले भेट नदिए पनि उनी बेइजिङ पुगी फर्केका थिए । २०७६ असोज महिनामा नेकपाका २९ जना नेताले चीन भ्रमण गरेका थिए ।

यसअघि २०७६ भदौमा नेकपाकै १८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहरी विकास, विपद् व्यवस्थापन र रोकथाम विषय अध्ययन गर्न सीपीसीको निमन्त्रणमा चीन पुगेका थिए । त्यही बेला नेता झलनाथ खनालले पनि चीनको भ्रमण गरेका थिए ।

२०७६ सालमा तत्कालीन परराष्ट्रमन्त्रीको रुपमा प्रदीप ज्ञवाली, मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल, मुख्यमन्त्रीको रुपमा डोरमणि पौडेल, काठमाडौं महानगरपालिकाको मेयरको रुपमा विद्यासुन्दर शाक्य र एमाले नेताको रुपमा माधवकुमार नेपालले चीन पुगेका थिए । 

२०७८ चैत ७ गते एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा काशीनाथ अधिकारी, डा. पुष्पराज कँडेलसहितको टोली चीन गएको थियो ।   त्यसको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली चीन पुगेको थियो ।

सीपीसीले अरु पार्टीलाई पनि निमन्त्रणा गर्दै आएको छ ।  २०७५ असोज २ गते नेपाली कांग्रेसका नेतृत्वमा १४ जना सांसदहरु चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमणमा गएका थिए ।

चीनमा के गर्छन् नेता ?

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका दलहरुलाई लामै भ्रमणमा बोलाउने गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराई सीपीसीले कोभिड–१९ पछि दलहरुलाई भ्रमण गराउने कुराको निरन्तरता दिन थालेको बताउँछन् । 

“चिनियाँ कम्युनिस्ट पार्टीको विश्वका थुप्रै पार्टीसँग सम्बन्ध छ । फरक विचारधारा बोक्ने पार्टीसँग पनि लामो सम्बन्ध छ,” उनी भन्छन् । कोभिडका कारण राजनीतिक दलका नेताहरु भ्रमणमा जाने काम कम थियो ।  भट्टराईका अनुसार, फेरि उनीहरुको निमन्त्रणमा दलका नेताहरुको फेरि भ्रमणले निरन्तरता पाउन थालेको छ ।

उनी यस्ता भ्रमणले देशको सम्बन्ध जनस्तरमा विस्तार गर्न मद्दत पुर्‍याउने बताउँछन् ।  “दुई मुलुकबीचको सम्बन्धले मात्रै सुमधुर सम्बन्ध कायम रहने स्थिति छैन । जनस्तरको सम्बन्ध विस्तार गर्ने कुरामा राजनीतिक दलको सम्बन्ध सघन बनाएर जानुपर्छ । त्यही रुपमा भ्रमणलाई बुझ्नुपर्छ,” उनी भन्छन् । 

भ्रमणमा चीनले आफूले गरिवी निवारण, जलवायु परिवर्तन न्युनीकरणलगायतका विषयमा आफूहरुले गरेको काम देखाएको थियो । 

“विशेषगरी गरिबी निवारणमा उनीहरुले हासिल गरेको अनुभवबारे हामीलाई जानकारी गराएका थिए । इलेक्ट्रोनिक कम्पनीमा भ्रमण गराएका थिए,” उनी भन्छन्, “दुई मुलुकको व्यापार वृद्धि गर्न कस्तो पूर्वाधार निर्माण गरेका छौं ? रेल, समुद्री यातायात, सडक यातायातलाई कसरी जोडेका छौं ? भनी देखाउन ‘फिल्ड भिजिट’ गराएका थिए ।”

एमाले नेताहरुको भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले जलवायुको नकारात्मक प्रभाव न्यूनीकरण गर्न चालेका कदमरबारे अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना गरेको थियो ।  त्यहाँ एमाले महासचिव पोखरेललाई वक्ताको रुपमा बोल्न लगाएको थियो । जलवायु परिवर्तन न्युनीकरण गर्न चालेका कदमबारे भ्रमण पनि गराएको थियो । 

भ्रमणपछि चीनले प्राप्त गरेका उपलब्धि जस्ताको तस्तै लागू गर्ने भन्दा पनि त्यहाँबाट सिक्न सकिने भट्टराई बताउँछन् ।  “चीनले प्राप्त गरेका उपलब्धिहरु जस्ताको तस्तै कपी गर्नुपर्ने होइन । त्यसलाई सकारात्मक रुपले लिनुपर्छ । गरिबी निवारण, सम्मृद्धि, दुई देशीय व्यापार वृद्धि, प्रविधिको अधिकतम उपयोग गरेर अर्थतन्त्रको विकासमा, जलवायु परिवर्तनको न्युनीकरण गर्ने सवालमा लागि भ्रमण सहयोगी हुने हाम्रो बुझाइ छ ,” उनले बाह्रखरीसँग भने । 

त्यस्तै, माओवादीको २० सदस्यीय टोलीलाई प्रविधिमा चीनले गरेको विकास, राष्ट्रपति सी चिनफिङको विचारधारा, गरिबी नियन्त्रणका लागि भइरहेका प्रयासलगायत विषयमा जानकारी गराइएको थियो । 

यस्तै, फाइबरका कम्पनी, ल्याब, युनिभर्सिटी, मोबाइललगायत कम्पनीको भ्रमण गराएको नेताहरु बताउँछन् । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख खतिवडा दुई देशको सम्बन्ध सृदृढ बनाउन भ्रमणमा जान लागेको बताउँछन् । 

“दुई देशबीचको सम्बन्ध अझै सुदृढ बनाउन जान लागेको हो,” उनी भन्छन् ।  एमाले र माओवादी केन्द्रले भने सीपीसीसँग आपसी सहयोग र सहकार्यका लागि सम्झदारीपत्रमा हस्ताक्षर नै गरेका छन् । प्रशिक्षणका कार्यक्रमहरु निरन्तर चलाउँदै आएका छन् । 

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको बेला २०७६ असोज ७ गते नेकपा र सीपीसीबीच काठमाडौंमा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए ।

चीन भ्रमणका क्रममा नेताहरुलाई प्रशिक्षण दिने चर्चा पनि हुँदै आएको छ ।  एमाले विदेश विभाग प्रमुख भट्टराई भने पुँजीवादको वकालत गर्नेहरुले चलाएको हल्लाको रुपमा व्याख्या गर्छन् । “विचारमा धारात्मक प्रतिस्पर्धा सबैका बीचमा छ । पुँजीवादको वकालत गर्नेहरुले समाजवादी मुलुकको भ्रमण गरेको रुचाउँदैनन्,” उनी भन्छन्, “त्यसो हुनाले अनेक किसिमको अफवाह फैलाउन सहज हुन्छ । भारत, अमेरिका, जापान भ्रमणमा जाँदा हुँदैन । प्रचार कसले कसरी गरिरहेका छन् भन्ने मापन हो ।”

त्यस्तै नेताहरुको भ्रमणका क्रममा उच्च स्तरमा कम्युनिस्ट पार्टीहरुको एकताका विषयमा पनि छलफल हुने गरेको नेताहरु बताउँछन् । तर, भट्टराई भने चीनले एकताका लागि पहल गर्ने कुरा स्वीकार गर्र्दैनन् । 

“एकताको कुरा हामीले गर्ने हो । अरु नेतालाई भेट्दा त्यस्तो हुन्छ भन्ने किन लाग्दैन ? चिनियाँ नेतालाई भेट्दा त्यस्तो प्रश्न किन आउँछ ?,” भटराई भन्छन्, “उनीहरुले हाम्रो पार्टी मिलाएको, फुटाएको होइन । उनीहरुले मिलभन्दा मिल्ने होइन । व्यवहारमा नदेखिएको विषयमा चर्चा गर्नु उपयुक्त हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय