काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै ओमानलाई फिल्डिङको निम्तो दिए ।
यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह 'ए' को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।
सेमिफाइनलमा नेपालले समूह 'बी' को विजेता यूएईलाई हराएको थियो । यता, ओमानले भने बहराइनको चुनौती पन्छाएको थियो ।
फाइनलको यात्रा तय गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका छन् ।
यसअघि समूह चरणको खेलमा नेपालले सोमबार सिंगापुरविरुद्ध आठ विकेट र मंगलबार मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो ।
कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।
नेपाल समूह ‘ए’मा थियो । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत थिए ।