हामी २०५५ सालको दसैँको मध्यतिर बिदा मनाइरहेको थियौँ । त्यति बेला हाम्रो दिनचर्या हुन्थ्यो – साँझ महाकाली नदीमा जाल हाल्ने र बिहानको झिसमिसेमा त्यही चिसो पानीबाट जाल निकाल्ने ।
मेरो र रामबहादुरको घरबाट महाकाली नदी दुई किलोमिटरको दूरीमै छ । हाम्रोमात्रै होइन मेरो गाउँमा अधिकांश स्कुले उमेरका सबैको यस्तै दैनिकी थियो । अलि मोटो कपडाको हाफ पाइन्ट लगाएर हामी नित्यकर्म सधैँ त्यही चिसो पानीमा ढुबुल्की मार्दै माछा खोजिरहन्थ्यौँ । हामी दसैँ बिदामा माछा बढी पाइने आशामा हुन्थ्यौँ ।
रामबहादुर र मेरो त दैनिकी नै त्यसैमा बित्ने गर्थ्यो । साँझ पर्यो जाल खोज्यो, बिहान भयो त्यही जाल महाकालीबाट निकाल्नमै बित्थ्यो । हाम्रो हरेक दिनको खुसी जालमा पर्ने माछाले छुट्याउने गर्थ्यो । मेरो जाल भने थिएन । रामबहादुरकै जालको सहारामा रहेक दिन महाकाली नदी किनारमा पुग्ने गर्थ्यौँ ।
माछा बढी परेको दिन बढी खुसी, नपरेको दिन निराश । त्यही माछाका कारण दसैँ बिदा होमवर्क सोमवर्क सबै नगरी बित्थे । हाम्रो विद्यालयमा अलि लामो बिदा दुईपटक हुनेगर्थ्यो । एउटा वर्षाको समयमा र अर्को दसैँ तिहारमा । ती बिदा हाम्रा लागि कहिले पनि पढाइको अवसर बनेनन् । सामाजिक परिवेश नै त्यस्तै भएर होला ।
बिदामा हामीबीच एउटा फरक थियो । ऊ बर्खे बिदामा एक महिना भारत काम गर्न जान्थ्यो भने म कहिले पनि भारत गइन । यसपाली उसले दसैँ तिहारको १५ दिन भए पनि भारत गएर काम गर्ने निधो ग¥यो । तिहारपछि विद्यालय लाग्न समय नजिकिएसँगै शिक्षकले दिएको गृहकार्यको चटारो पनि नियमितै हुन्थ्यो । जेनतेन गृहकार्य सकेपछि उही पुरानै दिन सुरु हुने हरेक वर्ष ।
यसै वर्ष हाम्रो ५ कक्षाको बोर्ड परीक्षा भयो । यो बोर्ड परीक्षाले हाम्रो साथ निर्धारण गर्नेवाला थियो । रामबहादुरले धेरैपटक भन्ने गर्थ्यो – यो परीक्षा पास भएन भने म दिल्ली जाने हुँ ।’ उसले भनेजस्तै भयो । दुवैको साथ परीक्षाफलले निर्धारण गर्यो । परीक्षा दिएर भारत छिरेको रामबहादुर परीक्षाफल नकुरी पढाइ छोड्ने निधोमा पुग्यो । ऊ मजदुरीमै रमायो ।
रामबहादुरले मलाई पटकपटक भनेकै थियो उसको घरको अवस्थाले भारत जानैपर्छ । घरमा कमाउने अर्को कोही छैन ।
हाम्रा दूरदराजका गाउँमा परिवारको पेट पाल्न मुग्लान जानुपर्ने बाध्यताजस्तै छ । घरमै बसुँ खान पुग्दैन । पढाइलाई निरन्तरता दिन पनि पछि जागिरको ठेगान छैन । बिहान खायो । साझ के खाऊँ भन्ने अवस्थामा गुजारा चलिरहेको हुन्छ ।
यस्तै अवस्थामा रामबहादुर पनि थियो । मेरोभन्दा उसको पारिवारिक अवस्था बढी खराब थियो । उसले दैनिक गुजारा चलाउन मुग्लानको सहारा लिनैपर्ने भयो । वर्षमा दुईपटक कमाएको पैसाले उसको जीवन चल्ने गर्थ्यो ।
घरमा बूढा बुवाआमा केही गर्नसक्ने अवस्थामा पनि थिएनन् । सायद यही कारणले होला उसले पढाइ बीचमै छोडेको । वर्षभरी काम गरेर नयाँ कपडा ल्याइदिने उसकै जिम्मेवारी बन्दै गयो ।
यसपाली २५ वर्षपछि रामबहादुरसँग दसैँभन्दा अघि भेट्ने मेसो मिल्यो । हामीमा आत्मीयता उस्तै थियो । धेरै वर्षपछि भेट भएका कारण भलाकुसारी लामै भयो । गाउँठाउँको अवस्थामा देश अवस्थासम्म चिन्ता गरियो । हामीले चिन्ता गर्दा सुध्रिने त होइन तर पनि चिन्ता गरियो । यसै अवस्थामा रामबहादुरले मलाई घतलाग्दो कुरा सुनायो ।
ऊ भारतबाट वर्षमा तीनपटक घर आउने गर्दोरहेछ चाडबाडमा र खेतीपानी गर्नमात्रै ।
हामी देशमा बसेका भन्दा बिदेशमा बसेकाले हाम्रो समाज र देशको बारेमा चिन्ता बढी गर्ने गर्छन् - उसले सुनाउँदै थियो । भारतमा साहुले हरेक दिन केही न केही बहानामा मजदुरलाई दुःख दिने गर्छ । त्यो सोच्दा सबै कुरा छोडेर गाउँ फर्किहालौँ जस्तो लाग्छ तर परिवारको अनुहार झलझली आउँछ । अनि जे पनि सहेर बस्नुपर्छ ।
गाउँ फर्किए पनि रोजगारीको कुनै अवसर छैन । भएका अवसरपनि नेताका आसेपासेकै लागि हुन्छ । खेती गरौँ त्यस्तै छ । व्यापार गरौँ उधारोमै सकिन्छ । गाउँमा हुनेखानेबाहेक अरुको बसाइ दुःखपूर्ण छ । परदेशमा सेठहरूको बोलीले मन धर्धरी रुन्छ । रहेक शब्दमा हेपाइ लुकेको हुन्छ । गाउँमै अवसर पाइने भए को जान्थ्यो र अर्को देशमा ।
पढ्ने लेख्ने उमेरमा गाउँमा परिवार छोडेर जान मन कसलाई पो हुन्छ र ? तपाईँहरूजस्तै गाउँमै भएका स्कुलमा पढेर केही गर्न मन मेरो पनि थियो नि । पढेलेखेका लागि त भारतमा पनि राम्रो जागिर छ । तर, मजस्ता नपढेका मान्छेको भने भारतमा पनि जिन्दगी त्यति सजिलो छैन । अरू देशमा काम गर्दा कि सीप भएकाले राम्रो पैसा कमाउँछन् कि धेरै पढेलेखेकाले कमाउँछन् । मेरो आमाबुवा, पत्नी र छोराछोरीले नयाँ लुगा लगाउने भनेकै काजबार (दसैँतिहार वा नयाँ वर्षमा) हुन् । मैले कमाएको अधिकांश पैसा उहीँबाट किनेर ल्याउने समानमा सकिन्छ । दुईचार महिना टिक्छ । अनि अरू दिन चलाउन उतै जानुपर्छ ।
मेरो पत्नी, छोराछोरीका पनि हुनेखानेका छोराछोरीजस्तै धेरै सपना छन् होला तर चाहे पनि ती सपना पूरा गर्नसक्ने अवस्थामा छैन ।
एकजना परदेशी मझदुरले लाखौं मूल्यको पसिना चुहाएर पनि कमाउने त केही हजारमात्रै न हो । धेरै सपना दबाएर बस्नुपर्ने हुन्छ । हामीले वर्षभर कमाएको पैसा त दसैँमा दुईचार छाक खसीको मासु खाँदैमा सकिन्छ । मलाई कहिले काहीँ लाग्द्छ हामी गरिबका लागि दसैँ पनि दसा नै भएर पो आउँछ ।
एउटै समाजमा बस्नेहरूको चिल्ला बसाइ र कुराले घरीघरी मन कुटुकुटु काटिरहन्छ । हुनेखाने सधै हुनेखाने भइरहने यो समाजमा गरिब झन् गरिब भइरहेको हुँदोरहेछ । अहिले पनि सोच्दैछु । छोराछोरी जेनतेन पढाएर नेपालमै केही गर्न सक्ने बनाऊँ । हामी भए पनि नभए पनि भाग्यलाई दोष दिन लागि रहन्छौं । तर, छोराछोरीलाई कर्म गर केही न त केही होला भनेर सम्झाउने गर्छु ।
म मेरो आफन्तलाई बढी दक्षिणा दिन पनि सक्दिन । मैले जेनतेन कमाएको दुईचार हजारले दसैँतिहार सिद्ध्याउनु पर्छ । मेरा छोराछोरीले वर्ष दिनमा दुई चारपटक मात्रै खसीको मासु खान पाउँछन् । दसैँ तिहारमा काटिने खसीबोकाजस्तै मेरा छोराछोरीका सपना पटकपटक मैले काट्नु परेको छ । उनीहरूले भनेअनुसारको लुगाफाटो किन्न सकिएको छैन । उनीहरूले भने अनुसारको खाना खुवाउन सकेको छैन ।
ऊ थप्दै थियो - साँझबिहान खान नपुग्ने मान्छे नेता भएपछि कसरी एकाएक बलेरो र स्कोर्पियोमा सवार हुन सक्छ ? उसको जीवनशैलीमा एकाएक परिवर्तन हुँदोरहेछ ।
रामबहादुरको कुरा सुनेर म झसंग भएँ । एकजना परदेशीले आफ्नो समाज र देशको यति चिन्ता गर्दो रहेछ । यसरी नै हाम्रा सबै नेताले देश र समाजको बारेमा सोचिदिएको भए सायद समाज यस अवस्थामा पुग्ने थिएन कि ?