यसपटक दसैँमा एकाध दुःखद सडक दुर्घटना भए पनि भयावह अवस्था देखिएन । विशेषगरी काठमाडौंको मुख्य नाका नागढुंगा - नौबिसे सडकमा यात्रुवाहक सवारी साधन सहजरूपमा जानआउन पाउँदा खासै अप्ठेरो भएन । यसका लागि सम्बन्धित सबै धन्यवादका पात्र भएका छन् ।
यात्रुको सास्ती र सवारी जाममा फस्दा हुने इन्धनको बर्बादीको मूल्य निकाल्ने हो भने सम्भवतः ठूलै राशि बचत भएको देखिनेछ । दसैँमा आवागमन बढ्नु अगाडि गरिएको ट्राफिक व्यवस्थापनका कारण नै यसपटक सवारी साधन सहजरूपमा चलेका हुन् ।
दसैँमा आवागमन सहज बनाउन ठूला मालवाहक सवारी रोकेर ट्राफिक व्यवस्थापन गरिएको थियो । यसैगरी सडकका ससाना खाल्टाखुल्टी पुर्ने काम पनि भएको देखिन्थ्यो । सडकका छेउमा बिग्रेर थन्केका गाडी पनि बिरलै देखिएका थिए ।
सम्भवतः यी सबै कारणले सरदरभन्दा धेरै गुना बढी सवारी साधन चल्दा पनि सहजै ट्राफिक व्यवस्थापन भएको हो । अरू बेला पनि यत्तिकै सहजरूपमा त्यस नाकाबाट सवारी सञ्चालन गराउन सक्नुपर्छ ।
परन्तु, दसैँमा अपनाइएको सबै उपाय सधैँ अपनाउन सकिँदैन । नौबिसे-नागढुंगा सडक विस्तार हुँदैछ । त्यस खण्डमा एउटा सुरुङ पनि निर्माणाधीन छ । निर्माण कार्य सधैँका लागि रोक्न त सकिँदैन ।

यसैगरी, काठमाडौं आउने ठूला मालवाहक गाडी र ढुंगा बालुवा बोक्ने ट्रकका लागि अर्को बाटो पनि छैन । निर्माण कार्य र ठूला सवारी साधन र यात्रुको सुविधा एवं सुरक्षामा सन्तुलन कायम गर्ने उपाय अपनाउनु पर्ने देखिन्छ ।
अधिकांश यात्रुवाहक सवारी साधन दिनमा चल्ने हुनाले मालवाहक ठूला गाडी राति चलाउन सके पक्कै पनि आवागमन अपेक्षाकृत सहज हुन्छ । ढिला गतिमा चल्ने मालवाहक सवारीका लागि पनि रातकै समय बढी सहज हुनसक्छ ।
निर्माण कार्यमा पनि बाटो थुन्नु पर्ने काम रातिमा गर्ने र दिउँसो यात्रुवाहक सवारी रोकिनु नपर्नेगरी तालिका बनाउन सकिन्छ । दसैँका अवसरमा गरिएको ट्राफिक व्यवस्थापन अल्पकालीन थियो । अब त्यतिबेला अपनाइएका उपायहरूलाई समयसापेक्ष बनाउनु उचित हुन्छ ।
ट्राफिक व्यवस्थापनलाई मानवीय दृष्टिकोणबाट हेरेर यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिने नीति अपनाउने हो भने मालवाहक सवारी तथा निर्माण कार्यलाई फरक तरिकाले व्यवस्थापन गर्दा सबैका लागि सहजै हुनेछ ।
सडकमा पूर्ववत् अस्तव्यस्तता सुरु नहुँदै यस्तो नियम लागु भएका पालन गराउन पनि सजिलो हुनेछ । दसैँमा ट्राफिक व्यवस्थापनबाट पाएको सकारात्मक पाठबाट सिकेर सरकारको सम्बन्धित निकायले तत्काल उपयुक्त कदम चालोस् !