site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

केही दिन पहिले हमास लडाकुहरूले सांगीतिक कार्यक्रमका सहभागी गैरसैनिक नागरिकमाथि गरेको आक्रमणको नेपालले निन्दा गरेको थियो । त्यसपछि इजरायलले गाजा क्षेत्रमा सैनिक कारबाही गर्दा मानवीय सङ्कट उत्पन्न भएको छ । 

यसैले शान्तिकामी अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेस्टाइनी पक्षलाई तत्काल भिडन्त रोक्न अनुरोध गरेको छ । परन्तु, गाजामा तत्काल युद्धविरामका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ठोस कदम चाल्न सकेन । त्यहाँ मानवीय सङ्कट झन् विकराल हुन पुग्यो ।   

मानवीय सङ्कट बढ्न नदिन अमेरिकाले सुरक्षा परिषद्मा राखेको प्रस्ताव रुस र चीनको निषेधाधिकार (भिटो) प्रयोगका कारण असफल भयो । यस्तो अवस्थामा संयुक्त राष्ट्र महासभामा जोर्डनले राखेको तत्काल युद्धविरामको प्रस्ताव पारित भएको छ र नेपाल त्यसको पक्षमा उभिएको छ ।

हमासको आक्रमण अमानवीय प्रकृतिको थियो । त्यसमा १० जना नेपालीसमेत मारिएका थिए । हमासले बन्धक बनाएका एक जना नेपालीको अवस्था अझै अज्ञात छ । त्यस घटनाको निन्दा गर्दा सत्तारुढ गठबन्धनकै केही सदस्यले आपत्ति जनाएका थिए । 

अमेरिका, इजरायललगायत १४ मुलुकले जोर्डनको प्रस्तावको विरोध गरेका थिए भने नेपाललगायत १२० मुलुकले पक्षमा मतदान गरे । यसबाट नेपालको परराष्ट्र नीति स्पष्ट शान्तिका पक्षमा रहेको र यथार्थमै असंलग्न भएको पुनः पुष्टि भएको छ ।

नेपालका राजनीतिक दलहरू विशेषगरी कम्युनिस्टहरूको ‘असंलग्नता’ सापेक्ष हुनेगरेको छ । कम्युनिस्ट खेमाका मुलुकहरूको कहिल्यै विरोध नगर्ने तर लोकतान्त्रिक मुलुकहरूको सधैँ विपक्षमा उभिनुपर्ने आग्रह तिनले प्रकट गर्ने गरेका छन् ।   

नेपालले भने केही यताका घटनामा तिनको प्रकृति हेरेर आफ्नो अडान राख्ने गरेको छ । सरकारले अहिले लिएको सक्रिय असंलग्नताको नीतिले नेपाललाई कुनै पनि खेमाको ‘पिछलग्गु’ हुनबाट जोगाएको छ । 

युक्रेनमा रुसी हमलाको पनि नेपालले विरोध गरेको थियो । नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौम सत्ता, शान्ति, लोकतन्त्र र मानव अधिकारमा आधरित हुनुपर्छ । नेपालजस्तो राष्ट्र असंलग्नताका नाममा अन्यायको मुकदर्शक बन्न सक्तैन ।

अर्थात्, नेपालले निरपेक्ष र निःस्पृह होइन शान्ति एवं न्यायका पक्षमा अडान राख्ने असंलग्न परराष्ट्र नीति  अपनाएको हो । यसैले नेपालले अपनाएको यो सक्रिय असंलग्नताको नीति नेपालका लागि उपयुक्त छ र यसलाई निरन्तरता दिनु राष्ट्रको हितमा हुने देखिन्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro