site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रशिक्षक अल्बर्टो एनेस भन्छन्– लाओसविरुद्ध आक्रामक फुटबल खेल्नेछौँ 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध खेल्नुअघि उनले यस्तो बताएका छन् ।

छनोटको दोस्रो लेगका निम्ति नेपाली टिम हाल लाओसमा छ । नेपालले मंगलबार (भोलि) लाओससँग उसैको मैदानमा खेल्नेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जित्नैपर्ने दबाब छ ।

यसअघि, दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल लाओससँग १–१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले नेपाली टिमको तयारी निकै राम्रो रहेको बताए ।

“यहाँ आउन पाउँदा खुसी लागेको छ । पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । हामीले यो विषय म्याच कमिस्नरमा पनि उठाएका छौँ । दोस्रो लेगका लागि हामीले निकै राम्रो तयारी गरेका छौँ,” उनले भने, “यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ । यदि, हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ । तर, हामी भिडन्तको लागि तयार छौँ । हामी आक्रामक फुटबल खेल्नेछौँ ।”

नेपाली टिमका कप्तान किरण चेम्जोङले आफूहरूको लक्ष्य जित रहेको बताए । “निकै महत्त्वपूर्ण खेल, हामी सुन्दर फुटबल खेल्न चाहन्छौँ । पछिल्लो खेल निकै निराशाजनक रह्यो । हामीले राम्रो तयारी गरेका छौँ र अगाडि बढ्नको लागि जित हासिल गर्ने लक्ष्य राखेका छौँ,” उनले भने, “हामीले पहिलो हाफमा धेरै साना गल्तीहरू गर्‍यौँ, हामीले त्यसमा काम गरेका छौँ । टोलीको आत्मविश्वास राम्रो छ र केटाहरू भोलि राम्रो गर्न उत्प्रेरित छन् । हामी दसैँ पर्व मनाउने घर फर्केका फ्यानहरूलाई राम्रो नतिजा दिन चाहन्छौँ ।”

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro