काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख रहेको बताएका छन् । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्रमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको बताए ।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरू देखापर्न थालेको बताए ।
उनले दुई वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरू क्रियाशील रहेको जानकारी दिए ।
"अहिले न्यायपालिका स्वाभाविक लयमा हिँडन थालेको छ । र, सुधारको मार्गमा उन्मुख भइरहेको छ । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ," उनले भने ।