site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौन अभिव्यक्ति
SkywellSkywell

मन नभएको बेला लेख्नु जस्तो गारो केही छैन । जस्तै अभ्यस्त भए पनि कुरा आउँदैन, र लेख्न भनेको कुरा एक अदृश्य अनुहारसँग कुरा गर्ने भनेको नै त हो नि ।

थाहा छैन, अरू कसरी लेख्छन्, मचाहिँ एक विशेष पाठकको कल्पना गर्छु (सायद त्यो म आफैं पनि हुन सक्छु ।) र त्यस पाठकको ज्ञान म लेखकको भन्दा बढी भएको अनुभव गर्छु (त्यसकारण त्यो पाठक म नहुन पनि सक्छु !) अनि म निर्धक्क लेख्न थाल्छु, उसले नबुझ्ला भन्ने शङ्का मलाई हुँदैन । कारण, नबुझेको कुरा अरूलाई बुझाउने रोगले मलाई अझ छोएको छैन ।

अँ त, लेख्दालेख्दा आजकल अलि वाक्क पनि लाग्न थाल्यो– लेख्ने कुराले होइन, लेखनबीचका कुराले, अझै स्पष्ट भन्ने हो भने नलेखिने कुराले ।

KFC Island Ad
NIC Asia

स्टेट्सम्यानमा हालै प्रकाशित एक लेखमा बहुतै मीठो पङ्क्ति छ, लेखिएको छ– भाषाको आविष्कार भाव छिपाउन भएझैं, बजेटको निर्माण सूचना लुकाउन भएजस्तो छ ।

पढ्दैपढ्दै म टक्क अडिएँ । भाषाको आविष्कार भाव छिपाउन भयो ? मनन गर्न थालें, यसमा कत्तिको सत्य छ ! ...

Royal Enfield Island Ad

भाषाहीन समाज वा परिवारको अभिव्यक्ति कस्तो हुन सक्थ्यो त्यो परिकल्पना गर्नासाथ कुरा बुझिन्छ । भोक लाग्यो, खोस्यो–खायो, रिस उठ्यो, पिट्यो–मार्यो । मनुष्यका भावनाहरूको मौलिक क्रियात्मक प्रदर्शनलाई चिन्तनले ढिला पार्यो र भाषाले झूट बोल्न सिकायो, वा भनौं आफैंलाई छल्न ।

भोक लाग्ने बेलामा समेत खोस्न ‘नहुने’ नियम नै भाषाको अभिव्यक्ति थियो । सायद यही प्राथमिक सिद्धान्तको परम्परागत असर आजसम्म पनि विद्यमान छ– ईश्वरको आकार व्यक्त गर्न हामीलाई ‘निराकार’ शब्द चाहिन्छ, रूप व्यक्त गर्न ‘अरूप’ ।

मनमा अरूप अभिव्यक्ति दर्साउन दुईआयामे शब्द र चिह्न वा ध्वनि । दुईवटा वस्तुका माध्यममै आयामिक पृथक्ता छ भने, एउटाले अर्काको प्रतिनिधित्व कसरी गर्न सक्छ ? लेखन वा चित्रण वा रोदन–गायन र पूर्ण अनुभवको एक आंशिक अयथार्थ अभिव्यक्ति मात्र होइनन् र ?

मैले जानीजानी यहाँ अयथार्थ शब्दको प्रयोग गरेको हुँ । सियोले घोच्दा भएको दर्द र मुङ्ग्र्रोले औंला हिर्काउँदा भएको दर्दको हाम्रो प्राथमिक प्रतिक्रियाको शब्द एउटै छ– ‘ऐय्या ।’

तर दुई दर्दबीचको तीव्रता दुवैमा प्रकट हुँदैन । अनि हामी उपमा खोज्न प्रयास गर्छौं । विश्लेषणको आविष्कार गर्न थाल्छौं । यसबाट हामी वास्तविकताको नगिच पुगेजस्तो अनुभव गर्छौं, वास्तवमा फन्को मात्र मारिरहेका हुन्छौं ।

फन्कोको अन्त्य हुन्छ, मान्यता प्रदान गरेपछि । ‘कमिलाले टोकेजस्तो च्वास्स सियो बिझ्यो’ बाट त्यस दर्दको तीव्रता तौलियो : कमिलाको टोकाइ नबुझुन्जेल र त्यसलाई स्वीकार नगरुन्जेल सियोको घोचाइको ‘ऐय्या’ बुझ्न हामी सक्दैनौं ।

तापनि, रौंचिरा कुरा गर्ने हो भने, त्यो मान्यता स्वयम् यथार्थबाट कत्ति फरक छ ! यथार्थ त एक भिन्न भावको परिवेशमा मात्र व्यक्त भयो । यसैले होला भनिएको– “भाषाको आविष्कार भाव छिपाउन भयो ।”

लगत्तै मैले अघि एक अर्को प्रश्न गरेको थिएँ– यसमा कत्तिको सत्य छ ? अब, यसउपर विचार गरौं । त आजसम्म रचिएका धर्मग्रन्थ, दर्शन र अनेक ऋषिवाणी के त अयथार्थिक अभिव्यक्ति हुन् ? र, तिनलाई हामीले प्रदान गरिदिएको मान्यताकै आधारमा ती टिकेका छन् ?

उनको रौंचिरे अध्ययन गर्न हामीले ती मान्यतालाई पन्छाइदियौं भने तिनको अस्तित्व कस्तो रहन जानेछ ? के यसैकारणले गर्दा हो त, एकपछि अर्को धर्म निस्केर पनि कुनैले परिपूर्णता ग्रहण गर्न नसकेको ? के यही कारण हो त एकपछि अर्को महान् उक्तिहरू निस्केर पनि जनभावनालाई तिनले पूर्णतया उत्प्रेरित गर्न नसकेका ?

अथवा, तिनलाई निर्माण गरिँदाको तिनको मान्यताको मूल्य समयसमयमा अवमूल्यन हुन जान्छ ? जीवन र रचना ज्यादै नगिच हुन्छन् ः एकको प्रभाव अर्काउपर परिरहेको हुन्छ ।

जीवनका असंख्य पक्षले पारिरहेका प्रभावलाई व्यक्त गर्न चित्रकलाले यदि ननफिगरेटिभ अभिव्यक्ति खोज्यो, के त यसै गरी साहित्यले पनि शब्दहीन अभिव्यक्ति खोज्ला ?

(एउटा वैज्ञानिक गल्पमा सुदूर भविष्यको पृथ्वीको जन–जीवन चित्रण गरेको पढेको थिएँ । मानव–मस्तिष्क पूर्ण विकसित भएको त्यस परिस्थितिमा व्यक्ति–व्यक्तिबीच मौन वार्तालाप हुन्थ्यो । मस्तिष्क–तरङ्गलाई सोझै अनुभूतिमा बदल्न ती समर्थ थिए । र हाम्रा युगका साहित्य–कृतिहरूको रसास्वाद प्राचीन कृति भनी ती इन्जेक्सन लिएर गर्थे, भनौं, रोमियो जुलियट नाटकको एक इन्जेक्सन कारण त्यसको रचना नै शब्दका ध्वनिबाट भएको छ, र त्यसलाई उनीहरू स्पन्दन तरङ्गमा मात्र परिणत गर्न सक्थे !)

सम्भव छ, त्यसकारण, यस्तो पनि पढ्ने शैली मानव–मस्तिष्कले खोजी निकाल्ला, जसद्वारा लेखमा नलेखिएका कुरा बुझ्न सकियोस् । अथवा, भन्न सकियोस्– फलानो कविले फलानोबारे किन लेखेन !

(यस सन्दर्भमा, नभनेको कुरा बुझ्ने त्यस विकसित युगका लागि भन्न चाहेको कुरा पनि भन्न नसक्ने हामी लेखक कस्ता पाषाण–युगका बनौंला, म आज परिकल्पना पनि गर्न सक्दिनँ । र, मलाई एक अनौठो लाज लाग्दछ, यस्तो लाज जसलाई व्यक्त गर्न मसँग शब्द छैन । र, सायद शब्द नपाएर त्यसलाई अव्यक्त रहन दिएर त्यसको यथार्थ रूप व्यक्त गर्न म सफल भएँ कि !)

त यस मौन अभिव्यक्तिको के केही अर्थ छ ? मभन्दा सभ्य पाठकको जुन रूप छ मेरो अगाडि, त्यसको अनुहारमा समेत जिज्ञासा उम्रेको तर समाधान नपाएको भाव म देखिरहेछु ।

(यत्ति लेखी मात्र के सकेको थिएँ, लेखन–प्रवाहमा एक बाधा आयो, टेलिफोनको ध्वनिमा । उठें, गएँ, कुरा गरें । रङनम्बरको छोटो प्रेमालापपछि, मलाई प्रवाह पक्रिन लेखिसकेको कुरा सारा फेरि दोहोरÞ्याउनुपर्यो । दोहोरÞ्याएँ र हाँसो उठ्यो ।)

हाँसो केमा उठ्यो भने, मेरो समस्याको प्रस्तुतीकरण त समाधानबाट नै उत्पन्न भएको रहेछ । भनौं न, जसरी व्यक्त गर्नु छोप्नु हो उसरी नै छोप्नु पनि त व्यक्त गर्नु हो । मिनी, मोड र म्याक्सी पोसाकमा समेत त्यही लागू हुन्छ ।

फरक त हेरिदिने आँखा आफ्नो अधिग्रहण शक्ति तथा मनस्थितिउपर छ, उपनिषद्मा बारबार चर्चा हुने सर्प–रज्जुको दृष्टान्तझैं ।

(मैले यो लेखिरहेको कुरालाई अनेकले अनेक अर्थ लगाउने स्पष्ट छ, संसारका सारा व्यक्ति पढे पनि, एउटाको वास्तविक अर्थ अर्कोसँग अलि–न–अलि मात्रामा फरक खानेछ नै । यो उनको आफ्नो वैयक्तिक चरित्रको विशेषता हो, मेरो केही छैन त्यसमा । म त एउटा खसी थिएँ, मरिदिएँ, टुक्रिएँ, अनेक घर पुगिदिएँ ः कवाब वा भुटुवा वा रस वा लेदो जे स्वाद आउँछ खानेलाई– यो त्यसको फ्रिज, प्रेसरकुकर, कसौँडी, ताप्के, मकल र पकाउने प्रक्रियामा भर परेको छ ।)

हाँसो मलाई उठेको कारण यही हो, मैले आफूलाई व्यक्त गर्न आखिरमा चारखुट्टे जनावरको भर लिनुपर्यो र त्यो पनि मांसहारी परिकारको स्वादको माध्यमको । निरामिषका लागि मेरो यो सारा उदाहरण खेर गएन र ? यसरी, मैले आफूलाई व्यक्त गर्नुसट्टा आफूलाई छोपि पो रहेको रहेछु !

यत्ति सारा लेखेर मैले जेजति व्यक्त गरें त्यसभन्दा बढी त लेख्न नसकेर पो व्यक्त गरेको रहेछु !! क्या हास्यास्पद परिस्थिति ?

म पाठकतिर हेर्छु । उसको अनुहारमा पनि हाँसो फुट्न खोजिरहेछ । अब सिर्फ मौन वन्दना ।

(निबन्धकार लामिछानेको कृति ‘गोधूली संसार’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०६:१३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro