स्वतन्त्रता मानव जीवनसँग कति अन्योन्याश्रित रहन्छ भन्ने ज्ञान यसपटक फेरि सतहमा आएको छ । इरानकी मानवअधिकारवादी पत्रकार नर्गिस मोहम्मदी नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएपछि यो ज्ञान पुनः सतहमा उद्घाटित भएको हो ।
नर्गिसको सम्मानले जीवन र स्वतन्त्रताबीच आश्रित महत्त्वलाई दर्शाएको त छ नै त्यसका साथै मानिसको स्वतन्त्रता बाधित गर्ने कारण र माध्यम मानिस नै हो भन्ने तथ्य पनि पुनः उजागर गरेको छ । मानिसको सत्ता अभिलाषाले पशु र प्रकृतिलाई धेरै प्रकार कज्याएकै हो । आधुनिक समयमा समेत मानिसले मानिसलाई बन्दी बनाउने सत्ता पनि मान्छेकै देन भयो ।
नर्गिस मोहम्मदी इरान सरकारको जेलमा बन्दी छन् । मानिसको नैसर्गिक अपेक्षालाई प्रतिध्वनित गरेकै कारण नर्गिस बन्दी बनाइएकी हुन् । प्रजातन्त्र, स्वतन्त्रता र समानता उनको मूल ध्येय हो । उनको यही ध्येयलाई इरानी राज्यसत्ताले 'अपराध' ठानेको छ र उनी त्यहाँको इभिन बन्दी गृहमा थुनिएकी छन् ।
आधुनिक इरानको यस्तो उदाहरणले नेपालको सन्दर्भमा ठ्याक्कै सुन्दरीजल बन्दीगृहको इतिहास सम्झना गरायो । फरक ६३ वर्षअघि सुन्दरीजलमा प्रजातन्त्र, स्वतन्त्रता र समानता प्राप्तिको उद्देश्यले प्रेरित राजनीतिक नेता, प्रधानमन्त्रीलगायत बन्दी बनाइएका थिए ।
अहिले इरानको इभिन जेलमा मानवअधिकारकर्मी पत्रकार महिला बन्दी बनाइएकी छन् । सुन्दरीजल सैनिक जेलमा बीपी कोइरालासमेत नेताहरू बन्दी बनाइए । जहाँ बीपी त आठ बर्ष बन्दी बनाइनुभयो ।
नर्गिसले इरानमा सत्ताबाट दमित स्वतन्त्रताको पक्षमा आवाज दिइन् । धार्मिक सत्ताले तोकेको निश्चित परिधान (उनका हकमा टाउको छोप्ने हिजाब) 'ड्रेस कोड' पालन नगरेको आरोपमा एक वर्षअघि बन्दी बनाइएकी महसा अमिनीको जेलमा नै मृत्यु भएको थियो ।
इरानी युवती महसा अमिनीको मृत्यु जेलमा दिइएको यातनाको कारण भएको निष्कर्षमा पुगेका इरानी नागरिकले सत्ताको निर्मम शैलीविरुद्ध विद्रोह गरे । त्यहाँ आन्दोलन चर्कियो । नोबेल विजेता नर्गिसले पनि यो आन्दोलनलाई सक्रिय साथ दिएकी थिइन् ।
स्वतन्त्रता अपेक्षित उनको पत्रकारितालाई इरानी सत्ताले राष्ट्रिय हित प्रतिकूल करार गर्यो र उनलाई अहिले थुनेरै राखेको छ । थुनिएकी नर्गिस मोहम्मदी झन् विश्व चर्चित भइन् । इरानी सत्ताको थप टाउको दुःख्ने नै भयो ।
सबैको लागि समानता आग्रह गर्ने पत्रकार नर्गिस इरानस्थित मानव अधिकार रक्षासम्बन्धी केन्द्रकी उपाध्यक्षसमेत हुन् । आफ्नो ध्येयमा सक्रिय ५१ वर्षीया नर्गिस जीवनमा १३ औं पटक बन्दी बनाइएकी हुन् र अहिले थुनामा नै छन् ।
शान्ति पुरस्कार घोषणा गर्दै नर्बेजियन नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस अन्डर्सनले नर्गिस मोहम्मदीको मुक्तिको अपेक्षा व्यक्त गरेकी छिन् । उनले संयुक्त राष्ट्रसंघको आग्रहसमेत उद्धृत गरेर इरानी सत्तालाई नर्गिसको रिहाइको लागि अपिल पनि गरेकी छन् ।
नर्गिसका पति ताघी रहमी पनि पत्रकार र स्वतन्त्रताका पक्षधर हुन् । यही कारण उनी आफ्ना दुई जुम्ल्याहा बच्चासहित पेरिस निर्वासनमा छन् । खुसी हुँदै नोबेल पुरस्कार प्राप्त गरेकी नर्गिसको मुक्तिको अपेक्षा र कामना पति रहमीले पनि गरेका छन् । इरानी सत्ताले नोबेल विजेता नर्गिस मोहम्मदीलाई छोड्छ, छोड्दैन ? प्रतीक्षाकै विषय भयो ।
रहमीले नर्गिसले स्वतन्त्रता र सबैका लागि समानता पाउने ध्येयले गरेको संघर्षको आदर्श प्रेरणा (रोल मोडल) नेल्सन मन्डेला र मार्टिन लुथरकिङ हुन् भन्ने जानकारी पनि दिएका छन् । मानिसले संघर्षको प्रेरणा टाढाका बासिन्दा भए पनि आदर्श व्यक्तित्वबाट लिन्छन् भन्ने उदाहरण भइन् नर्गिस । मन्डेला दक्षिण अफ्रिका र लुथरकिंङ अमेरिकाका हुन् ।
अन्तर्राष्ट्रिय समाचार स्रोतहरू भन्छन् – एक वर्षअघि जेलमा बन्दी बनाइएकी महसा अमिनीको मृत्युपश्चात् भड्किएको आन्दोलमा सयौं मारिएका थिए भने सहभागीमध्ये बीस हजार आन्दोलनकारीलाई इरानी सरकारले थुनेको छ । यसैमध्येकी एक हुन् नोबेल विजेता नर्गिस मोहम्मदी ।
इरान इस्लामिक गणतन्त्र घोषित पश्चिम एसियाली मुलुक हो । राजा रेजा पहल्वीलाई भगाएपछि उत्पन्न तनावबीच इरान इस्लामिक गणतन्त्र घोषित गरिएको थियो । आठ करोड जनसंख्या रहेको इरान अफगानिस्तान, तुर्कमेनिस्तान, इराक, कतार र पर्सिएन (अरबियन) खाडीसँग पनि जोडिएको मुलुक हो । क्यास्पियन सामुद्रिक तटसँग पनि इरान छोइएको छ ।
धार्मिक आस्था र भरोसालाई राजनीतिक सत्ता कजाउन र कब्जा गर्न प्रयुक्त इरानी इस्लामिक शासन प्रणालीप्रति टिप्पणी गर्नु आवश्यक छैन । भन्नु पर्ने इरानी सत्ताले हरण गरेको मानवीय स्वतन्त्रताको विषयमा हो । स्वतन्त्रता जीवनका लागि कति मार्मिक, संवेदनशील र बहुआयामिक हुन्छ भन्ने नै हो । उदाहरण इरान भएको मात्र हो ।
कुनै पनि तानाशाही र अधिनायकी सत्ता मानिसको स्वतन्त्रता हरणको जगमा उठेको हुन्छ । त्यो जातीय, धार्मिक, वंशवादी वा राजनीतिक विचारको नाममा चलाइएका अधिनायकवादी शासन प्रणाली सबै मानवीय स्वतन्त्रताको चिहान खनेर त्यसैमाथि बसेका हुन्छन् । यस्तै धार्मिक ‘स्टेट’ पहिचानको उदाहरण भयो इरान ।
नेपालमा पनि धार्मिक आस्था, भरोसा र मानिसको निजी विश्वासलाई राजनीति कब्जा गर्ने वा कजाउने मनसुवा राख्ने तत्त्व र तिनको समर्थन गर्ने अबुझहरू (इनोसेन्ट)ले पनि यस्ता घटनाबाट स्वतन्त्रताको महत्त्व बुझे हुन्छ । धर्मलाई राजनीतिको माध्यम बनाउन खोज्नेहरूले अन्तःध्यान गरे हुने ।
धार्मिक कट्टरता र शासन वा धार्मिक राष्ट्र घोषणा कस्तो ? मान्छेको स्वतन्त्र सत्ता र अस्तित्वभन्दा माथि ? कट्टरपन्थी धार्मिक मुलुकहरूतिर फर्किएर हेरे पुग्छ । इरानमात्रै किन ? त्यसो त लोकतान्त्रिक मुलुक भारतमा अहिले हिन्दुत्वको अनुदार प्रक्रिया चलाइएको आरोपतिर हेरे पनि धार्मिक सत्ताको आरम्भिक निदान पहिचानको आँखीझ्याल होला ।
नैसर्गिक स्वतन्त्रताको अपेक्षा व्यक्त गर्दा सयौँ मारिनु, जेलमा हजारौँ बन्दी बनाइनु, कतिपय निर्वासनमा भाग्न वाध्य बनाइनु इरानको उदाहरणले स्वतन्त्रताको उद्बोध गर्न प्रेरणा दिन्छ । नेपालले यस्ता दुर्दिन भोगेको इतिहास छ ।
अहिले सैनिक सत्ताको बुटमुनि शासित तानाशाही सत्ताले बर्माकी स्वतन्त्रता नेतृ आङ साड्.सुकीलाई पुनः बन्दी बनाएर राखेको छ । बीचमा सैनिकसत्ताले निर्वाचन गराएको थियो । त्यतिबेला सुकीको दल विजयी भयो । उनी वैदेशिक मामला हेर्ने मन्त्री पनि भइन् । सेनाले भनेको संविधान थियो । विदेशीसँग वैवाहिक सम्बन्ध भएका कारण उनलाई प्रधानमन्त्री बन्न दिइएन ।
निर्वाचनअघि सीमित स्वतन्त्रता पाएकी सुकी सैनिक सरकारको अनुमति लिएर नेपाल भ्रमणमा आएकी थिइन् । त्यतिबेला नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सुकी पोडिएममै निकै रोइन् । उनको बलिन्द्र आँसुले हलमा उपस्थित सबैलाई रुवाएको सम्झन्छु ।
आङ साङ सुकीले भनेकि थिइन् – ‘स्वतन्त्रताको महत्त्व हामी बर्मेलीले बुझेको छौँ । स्वतन्त्रताको अभावमा मान्छेको जीवन हामीले भोगेका छौँ । तपाईंहरू (नेपाली) ले स्वतन्त्रता पाउनु भएको छ, खुसी हुनुहुन्छ, खुसी रहनुहोस् ।’
त्यतिबेला नेपालीले २०४६ को जनआन्दोलनबाट प्रजातन्त्र र स्वतन्त्रता पुनः पाएका, ल्याएका थिए । यही उदाहरण दिएर अश्रुपुरित सुकी हृदय विदारक अभिव्यक्ति दिँदै थिइन् । श्रोता सबै स्तब्ध भए । सायद, सुकी नेपालमा गर्न थालिएको गुनासोप्रति पनि लक्षित भइन् । यस्तै लाग्छ ।
यी यस्ता दृश्य प्रेरणा हुन् जसले नेपालीलाई प्रेरित गर्नुपर्छ । प्रजातन्त्र, स्वतन्त्रता र समानताको उद्बोधको अर्थमर्म बुझ्नुपर्छ । धर्म वा कुनै पनि प्रकारको तानाशाही शासन सत्ताले जनताको हुर्मत कसरी लिन्छ र खोस्छ भन्ने बुझे हुन्छ । धर्मको नाममा तानाशाही पुनरोदय गर्ने मनसुवा राख्ने राजनीतिकर्मी वा दलको अभीष्ट बुझे हुन्छ ।