site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मिर्मिरे लघुवित्तले आजदेखि एफपीओ निष्कासन गर्दै

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणमा थप एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणतर्फको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

Argakhachi Cement Island Ad

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

यो एफपीओ खरिदका लागि लगानीकर्ताहरूले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरे कात्तिक ९ गतेसम्म बिक्री लम्बिनेछ । एफपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिंङ लिमिटेड छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

एफपीओ निष्कासनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ ।

कम्पनीको अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको छ । जारी पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।

एफपीओपछि कम्पनीको कुल चुक्ता पूँजीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्