
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा निषेध गरिएको बताएको छ । नेविसंघ त्रिवि समितिले आज सेवा आयोगमा अनिश्चतकालीन तालाबन्दी समेत गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार त्रिवि सेवा आयोगले भोलि प्राध्यापकका लागि अन्तर्वाताको मिति तय गरेको छ । तर, नेविसंघले आयोगमा तालाबन्दी गरिदिएको हो ।
"नेविसंघले विगतका विवादास्पद परीक्षा र मूल्यांकनका विषयमा आवश्यक छानबिन गरी पारदर्शी हुने गरी उपयुक्त निर्णयमा नपुगी विगतकै अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढाउन खोजिएका काम कारबाहीलाई यथावत् रूपमा अगाडि बढाउने गरी अन्तर्वार्तालगायतका कार्यक्रम अगाडि बढाउनुले विगतकै अनियमिततालाई निरन्तरता दिन खोजेको पुष्टि हुन्छ," नेविसंघले भनेको छ ।
आज योगेन्द्र रावल, विष्णु बडैलासहितको उपस्थितिमा सेवा आयोगमा तालबन्दी गरिएको हो । रावलमाथि उपप्राध्यापक प्रेम चलाउनेलाई कुटेको आरोप छ । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।