site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले र कांग्रेसको शेखर समूहको एकै स्वर– सरकार असफल भयो, विकल्प खोजौँ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारको विकल्प खोज्नुपर्ने आवाज जोडदारका साथ उठाउन थालेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा झन्डै दुई घण्टा सरकार र गठबन्धनको विरोधमा बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको विकल्प खोज्न दलहरूलाई आह्वान नै गरे । 

त्यसका लागि उनले सरकार जनसरोकारका मुद्दाबाट विमुख बनेको, भ्रष्टाचारको पक्षपोषण गरेको, सुशासन नभएकोसहितका कारण देखाए । वर्तमान सरकारको आयु जति बढ्यो त्यति देशलाई बोझ हुने तर्क उनको छ । 

“सर्भिस डेलभरी दिन नसक्ने, डेभलपमेन्ट डेलभिरी दिन नसक्ने, केवल रित्तो कोल अथवा ओइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको औचित्य के छ र ?,” ओलीको प्रश्न थियो, “अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ । म सबै माननीज्यूहरूमा, सबै दलहरूमा आह्वान गर्दछु ।”

आज बैठकको शून्य समयमा बोल्ने सांसदहरूले महँगी र कालोबजारीले जनताको ढाड सेकिएको भन्दै आक्रोश पोखेका थिए । चाडपर्वको समयमा जनता पिल्सिएको तर सरकारको त्यसतर्फ ध्यान नगएको उनीहरूको भनाइ थियो ।

त्यसपछि बोलेका ओलीले सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको भन्दै वर्तमान सरकारले संसद् र जनता दुवैको सामना गर्न नसक्ने बताए । 

“यो सरकारले संसद् र जनता फेस गर्न सक्दैन । सरकारको प्राथमिकता वैदेशिक ऋण लिएर कार्यकर्तालाई करारमा जागिर खुवाउने देखिन्छ,” उनले भने ।

कांग्रेसको शेखर समूह पनि सरकारको विपक्षमा !

प्रमुख प्रतिपक्षी दलले सरकारको विकल्प खोज्नु नौलो र अस्वाभाविक विषय हैन । तर, सत्तारूढ दलबाटै सरकार असफल हुन थालेको स्वर उठिरहेको छ ।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसको संस्थापन इतर समूहले त सरकार असफल भइसकेको निष्कर्ष निकालिसकेको छ । उसले कांग्रेस बसिरहन नहुने वा यो गठबन्धलाई लिएर अघि बढ्न नसक्ने धारणामा पुगेको छ ।

इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, प्रदीप पौडेललगायत नेताहरूले कांग्रेस थप सरकारमा बसे ठूलो क्षति हुने धारणा राखिरहेका छन् । उनीहरूले माओवादी नेतृत्वमा भएका नराम्रा कामको अपजश पनि कांग्रेसले बोक्नुपरेको भन्दै यसले पार्टीको साख गिरेको निष्कर्ष निकालेका छन् । 

आइतबार 'रूपान्तरण अभियान'को नाम दिइएको आफ्नै समूहले राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने धारणा राखे । उनले फ्लोरबाट अहिलेको सरकालाई समर्थन गर्नुपर्ने भन्दै अहिले समाजवादी मोर्चालाई मात्रै सरकार चलाउन दिनुपर्ने धारणा राखे । 

“नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनेको छ । पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ,” थापाले भने, “ उहाँहरूले पार्टीसमेत एकै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔँ, अढाई वर्ष उहाँहरूलाई चलाउन दिएर कांग्रेसले फ्लोरबाट समर्थन गरौँ ।”

महाधिवेशन केन्द्रित कार्यक्रम गरिरहेको इतर समूहले अहिलेको सरकारले गरेको नराम्रो कामको जस पनि कांग्रेसले बोक्नुपरेको बुझाइमा छन् । महामन्त्री थापाले कोसीमा माओवादीलाई सरकार चलाउन दिए हुने धारणा राखे ।

अर्का केन्द्रीय सदस्य पौडेलले पनि सरकार निरन्तर आलोचित भइरहेको भन्दै यसको अपजस कांग्रेसले बोक्नुपरेको आशयमा धारणा राखे । उनले महँगी निरन्तर बढिरहने हो भने सरकारमा बसिराख्न जरुरी नहुने भन्दै आक्रोश पोखे । केही व्यक्तिलाई मन्त्री बनाउन सत्तामा जान जरुरी नभएको उनको भनाइ छ ।  उनले आफू जान नपाएर विरोध नगरेको उल्लेख गर्दै सरकारमा जानु भनेको जनताको काम गर्नुभएको जिकिर गरे ।

“महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिरहने हो भने त्यो सत्तामा बस्न कुनै जरुरी छैन,” उनले भने, “केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरुरी छैन । म जान नपाएर भनेको होइन ।”

कांग्रेसबाट सरकारमा १० जना मन्त्री छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro