site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करको निशानामा उत्तरी नाका, एक सातामै १२ किलो बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ६१ किलो सुन बरामद गरेसँगै नेपालमा हुँदै आएको सुन तस्करीका घटनाहरु उजागर हुन थाले । पटकपटक तस्करीको सुन समातिएपछि विमानस्थलमा सुरक्षा कडा बनाइयो । तर, सुन तस्करी रोकिएन । दिनदिनै किलोका किलो सुन बरामद भइरहेको छ ।

दोलखाको उत्तरी नाका लामाबगरबाट मात्रै पाँच दिनको अवधिमा ११ किलो सुन बरामद भएको छ । बुधबार र शनिबार सात किलो सुन बरामद गरेको प्रहरीले आइतबार त्यहाँबाट थप चार किलो सुन बरामद गरेको छ ।

प्रहरीले लामाबगरस्थित बारीमा लुकाएर राखेको अवस्थामा सुन बरामद गरेको हो । सुन कसले र कहाँबाट ल्याएर राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त सुन प्रकरणमा जोडिएका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा दोलखा बिगु–१ का राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र चसमान तामाङ छन् । उनीहरुमाथि दोलखा प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धान जारी राखेको छ ।

शनिबार मात्रै प्रहरीले रसुवाबाट एक किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । रसुवाको बेत्रावतीबाट विशाल तामाङसहित दुईजना पक्राउ परेका हुन् । रसुवाबाट पक्राउ परेका विशाल तामाङलाई सीआईबीको टोलीले आईतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

चीनसँग सीमा जोडिएको दोलखा र रसुवाबाट सुनसहित मानिस पक्राउ पर्न थालेपछि सीआईबीको टोली रसुवा र दोलखा पुगेको छ । प्रहरीको अनुुसन्धानले विमानस्थलमा सुरक्षा व्यवस्था कडा हुन थालेपछि सुन तस्करले स्थलमार्ग हुँदै तस्करी गर्न थालेका हुन् । त्यसको लागि उनीहरुले रसुवाको टिमुरे र केही दिन अघिमात्रै खुलेको दोलखाको लामाबगर नाका प्रयोग गर्न थालेका प्रहरीको दाबी छ ।

ती ठाउँबाट भइरहेको सुन तस्करीमा पनि ६० किलो सुन भित्र्याउने समूह नै सक्रिय रहेको र विमानस्थलको प्रयोग नगरी स्थलमार्ग हुँदै तस्करी गर्न थालेको आशंका सीआईबीको छ । ६० किलो सुन तस्करीका लगानीकर्ताले हङकङमा बसेर तस्करी गर्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले दोलखामा बरामद भएको सुन तस्करीको अनुसन्धान जारी रहेको बताए । उनका अनुसार दोलखामा भेटिएको सुन तस्करीको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा सीआईबीको टोली दोलखा पुगेको छ ।

राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको ६१ किलो सुनको मुद्दा विचाराधीन अवस्थामा छ । उक्त सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।

६० दिन अनुुसन्धान गरेको सीआईबीको प्रतिवेदनका आधारमा ३१ भदौमा जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्दा अदालत टेकाएको थियो । सातजना चिनियाँसहित २९ जना प्रतिवादी बनाइएको उक्त मुद्दाबारे हाल जिल्ला अदालत काठमाडौंले आरोपीको बयान लिने काम गरिरहेको छ ।

प्रहरीको अनुसन्धानले सुन तस्करीमा चिनियाँ नागरिक याहो पुचिङसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको थियो ।

यस्तै, विद्युतीय सिगरेट भेपमार्फत भएको नौ किलो सुन तस्करीको अनुसन्धान अझै सीआईबीले जारी राखेको छ । सो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका थिए । १३ भदौँमा पक्राउ परेका उनीमाथि अझै अनुसन्धान जारी छ ।

त्यस्तै, त्रिभुवन विमानस्थलबाट ६० किलोपछि थप तीन किलो सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका एसपी पदम विष्टले जानकारी दिए । शुक्रबार मात्रै विमानस्थलबाट दुई केजी ७२० ग्राम सुनसहित फिलिपिन्सकी नागरिक ३० वर्षीया अरिबिक अरोन्स पक्राउ परेकी थिइन् । उनीमाथि प्रहरी वृत्त गौशलाले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्