site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकदिवसीय विश्वकप–२०२३ का १० कप्तान : को कस्ता ?

काठमाडौं । भारतमा आयोजना हुने एकदिवसीय विश्वकप–२०२३ अक्टोबर ५ देखि सुरु हुँदैछ । करिब डेढ महिना चल्ने प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा हुने तालिका छ ।

विश्वकपको पहिलो खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्ड भिड्दैछन् । विश्वकपको यस संस्करणमा १० टिम सहभागी छन् । सहभागी १० टिमका कप्तानहरू यस्ता छन्–

jos-butler-england-1696124136.jpg

जस बटलर (इंग्ल्यान्ड)
गत संस्करणको उपाधि इंग्ल्यान्डले जित्दा पनि कप्तानको जिम्मेवारीमा जस बटलर नै थिए । विकेटकिपर ब्याटर बटलर ओपनिङ ब्याटिङका लागि आउँछन् । बटलरले हालसम्म इंग्ल्यान्डका लागि १६९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जसमा उनले ११ शतक र २५ अर्धशतकसहित चार हजार ८२३ रन बनाएका छन् । इंग्ल्यान्ड यो विश्वकपको पनि प्रवल दाबेदारमध्येको एक हो ।

kane-wiliamson-new-zeland-1696124136.jpg

केन विलियम्सन (न्युजिल्यान्ड)
न्युजिल्यान्डको कप्तान केन विलियम्सनलाई विश्व क्रिकेटका ‘सरल कप्तान’ को रूपमा पनि चिनिन्छ । सन् २०१९ को विश्वकपमा फाइनलसम्म पुग्दा विलियम्सन नै न्युजिल्यान्डको कप्तान थिए । विलियम्सनले न्युजिल्यान्डबाट १६१ खेल खेलेका छन् । जसमा उनले ६ हजार ५५४ रन बनाएका छन् । यसक्रममा विलियम्सनले १३ शतक र ४२ अर्धशतक बनाएका छन् ।

babar-azam-pakistan-1696124128.jpg

बाबर आजम (पाकिस्तान)
पछिल्लो केही वर्षयता बाबर आजमले विश्व क्रिकेटमा आफ्नो अलग पहिचान स्थापित गराइसकेका छन् । २८ वर्षीय बाबर यस पटक चिर–प्रतिद्वन्दी राष्ट्र भारतमा विश्वकप आयोजना हुँदा पाकिस्तानको नेतृत्व सम्हाल्दैछन् । पाकिस्तानका लागि १०८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका बाबरको खातामा पाँच हजार ४०९ रन छ । यसक्रममा उनले १९ शतक र २८ अर्धशतक प्रहार गरेका छन् ।

rohit-sharma-india-1696124147.jpg

रोहित शर्मा (भारत)
भारतीय टोलीका कप्तान रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीन दोहोरो शतक बनाउने विश्वका एक मात्र खेलाडी हुन् । ३६ वर्षीय रोहितले २५१ एकदिवसीय खेलमा १० हजार ११२ रन बनाएका छन् । ओपनिङ ब्याटिङमा आउने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० शतक र ५२ अर्धशतक प्रहार गरेका छन् ।

temab-bavuna-south-africa-1696124128.jpg

टेम्बा बवुमा (दक्षिण अफ्रिका)
एकदिवसीय विश्वकपको यस संस्करणमा दक्षिण अफ्रिकाको नेतृत्व टेम्बा बवुमाको काँधमा छ । ३३ वर्षीय दायाँ हाते ब्याटर बवुमा मध्यक्रमको ब्याटिङमा आउँछन् । उनले हालसम्म दक्षिण अफ्रिकाबाट खेलेको ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ३६७ रन बनाएका छन् । यसक्रममा उनले पाँच शतक र चार अर्धशतक प्रहार गरेका छन् ।

pat-kumins-australia-1696124128.jpg

प्याट कुमिन्स (अस्ट्रेलिया)
एकदिवसीय विश्वकपको सबैभन्दा सफल टिम अस्ट्रेलियाको कप्तानी यस पटक प्याट कुमिन्सले सम्हाल्दैछन् । पछिल्लो पटक अस्ट्रेलियाले सन् २०१५ मा विश्वकपको उपाधि जितेको थियो । ३० वर्षीय कुमिन्सले हालसम्म अस्ट्रेलियाका लागि ७७ एकदिवसीय अन्तर्राष्ट्रिय खेले खेलेका छन् । जसमा उनले १२६ विकेट लिएका छन् ।

sakib-al-hasn-bangladesh-1696124129.jpg

साकिब अल हसन (बंगलादेश)
बंगलादेशको कप्तानी जिम्मेवारी स्पिन अलराउन्डर साकिब अल हसनमा छ । साकिब लेफ्ट आर्म अर्थोडक्स स्पिनर हुन् । उनी ब्याटिङका लागि मध्यक्रममा आउने गर्दछन् ।साकिबले हालसम्म बंगलादेशका लागि २४० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले नौ शतक र ५५ अर्धशतकसहित सात हजार ३८४ रन बनाएका छन् । यस्तै, उनले एकदिवसीयमा ३०८ विकेट लिएका छन् ।

scott-edwards-nederlands-1696124130.jpg

स्कट एडवार्ड्स (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्स भारतमा हुने विश्वकपका लागि छनोट भएको एकमात्र एसोसिएट राष्ट्र हो । जसको कप्तानी स्कट एडवार्ड्सले सम्हाल्नेछन् । २८ वर्षीय एड्वार्ड्सले नेदरल्यान्ड्सबाट ३८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जसमा उनले १३ अर्धशतकसहित एक हजार २१२ रन बनाएका छन् ।

dasun-sanaka-shrilanka-1696124147.jpg

दासुन सनाका (श्रीलंका)
श्रीलंकन टोलीको कप्तानी ३२ वर्षीय दासुन सनाकाले गर्दैछन् । फास्ट बलिङ अलराउन्डर सनाका मध्यक्रममा ब्याटिङ गर्न आउँछन् । उनले हालसम्म श्रीलंकाबाट ६७एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । जसमा उनले दुई शतक र तीन अर्धशतकसहित एक हजार २०४ रन बनाएका छन् । उनले २७ विकेटसमेत लिएका छन् ।

hasmatullah-sahidi-afganistan-1696124129.jpg

हस्मतुल्लाह साहिदी (अफगानिस्तान)
अफगानिस्तानको टोलीको कप्तानी जिम्मेवारी हस्मतुल्लाह साहिदीको हातमा छ । २८ वर्षीय साहिदी शीर्ष क्रमका बायाँ हाते ब्याटर हुन् । उनले हालसम्म अफगानिस्तानबाट ६४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जसमा उनले १६ अर्धशतकसहित एक हजार ७७५ रन बनाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro