विसं २०३६ सालको विद्यार्थी आन्दोलनबाट म पनि अलग रहन सकिन । त्यतिवेला म नौ कक्षामा पढ्दै थिएँ । विद्यार्थी आन्दोलनका दौरानमा मेरो सहकार्य नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित तत्कालीन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) सँग भयो । त्यस समयमा विद्यालय स्तरमा अनेरास्ववियुको वर्चस्व थियो । हाम्रो विद्यालयमा सो संगठनका प्रखर र प्रभावशाली विद्यार्थी नेताको रूपमा दिपक थापा र केशव थापा थिए ।
मेरो उनीहरूसँगको सम्पर्कका कारण उनीहरूप्रति लगाव रहन गयो । अर्थात्, म उनसीहरूसँग प्रभावित हुन पुगेँ । उनीहरूले उपलब्ध गराएका कम्युनिस्ट पार्टीका पुस्तक, दस्तावेजहरू पढ्न थालेँ । ती पुस्तकको अध्ययन गरिसकेपछि गरिबको भलाइ गर्ने पार्टी त कम्युनिस्ट पार्टी पो रहेछ भन्ने मेरो बुझाइ बन्यो । हाम्रो परिवारको गरिबी नै मलाई कम्युनिस्ट बन्नका लागि प्रेरणाको स्रोत बन्यो ।
अनेरास्ववियुमा आबद्ध भएर त्यतिबेला विद्यार्थी आन्दोलनमा लाग्ने एउटै कक्षाका साथीहरूमा टौखालका अष्टकाजी श्रेष्ठ, सुन्थानका रमेश खड्का, पनौतीका पुष्पदास स्याउला, भङ्गलाका विदुर के.सी. र म लगायत थुप्रै साथी थियौँ । खासगरी मलाई कम्युनिस्ट बन्न प्रेरणा दिने टौखालका दिपक थापा थिए ।
उनले मलाई मार्क्सवादी, लेनिनवादी थुप्रै पुस्तक पढ्न दिन्थे । त्यतिबेला मोदनाथ प्रश्रितद्वारा लिखित ‘पचास रुपैयाँको तमसुक’ नाटक निक्कै चर्चित थियो र मार्मिक पनि । मलाई पनि उक्त नाटकले निक्कै प्रभावित बनायो । भावुक बनायो । मलाईमात्र होइन हाम्रो परिवारलाई नै भावुक बनायो । अझ भन्ने हो भने उक्त नाटकले हामी सबैलाई रुवायो । पचास रुपैयाँको तमसुक हाम्रो भोगाइसँग मेल खान गएकाले पनि हामीलाई छोएको हो ।
उक्त नाटकमा एक सामन्ती शोषकले गरिवलाई ५० रुपैयाँ ऋण दिएर तमसुकमा ५०० बनाइ किर्ते गरेर शोषण गरेको उल्लेख छ । यसले पञ्चायतकालीन कालरात्रिमा शोषक सामन्तीबाट गरिबलाई गरिएको अन्याय, अत्याचार, शोषण, दमनलाई चित्रण गरिएको छ । त्यस नाटकले त्यतीवेला धेरैलाई कम्युनिस्ट बनाउने काम गरेको थियो ।
यसैगरी रामेश, रायन, जीवन शर्मा र जेबी टुहुरे आदि थुप्रै जनकलाकारको हृदयस्पर्शी प्रगतिशील गीतले जुरुकजुरुक बनाउँथ्यो । गीत सुनेपछि लाग्थ्यो – तुरुन्तै गएर शोषक सामन्तीलाई सिध्याइदिऊँ । त्यतिबेला माओको रेड बुक, मोहनविक्रम सिंहद्वारा लिखित ‘ पेमालामा प्रश्नोतर माला ’ माकुरा र झिंगाजस्ता प्रगतिशील पुस्तक अध्ययन गरेर मजस्ता धेरै युवा कम्युनिस्ट भएका थिए ।
हामीलाई प्रशिक्षण दिन अनेरास्ववियु केन्द्रीय कार्यालयबाट टंक कार्कीहरू पनौती जानुहुन्थ्यो । उहाँहरूले हामीलाई कम्युनिस्ट पार्टीका बारेमा र तत्कालीन राजनीतिक परिस्थिति र हाम्रो दायित्वको बारेमा प्रशिक्षण गर्नुहुन्थ्यो । तत्कालीन भूमिगत अवस्थामा प्रशिक्षणलगायत क्रियाकलापहरु गर्ने काम अत्यन्तै खतरापूर्ण थियो । यस्तो परिस्थितिमा पनि इन्द्रायणी शाक्यले खतरा मोलेर प्रशिक्षणका लागि आफ्नो घर उपलब्ध गराउनुभएको थियो ।
विद्यार्थी आन्दोलनका दौरानमा
पाकिस्तान पिपुल्स पार्टीका संस्थापक जुल्फिकर अली भुट्टोलाई सैनिक शासक जियाउल हकले फाँसीमा झुन्ड्याएर हत्या गरेपश्चात उक्त हत्याको विरुद्धमा नेपालमा विद्यार्थी आन्दोलन सुरु भयो । पंचायती व्यवस्थाका माध्यमबाट निरंकुश तानाशाही सामन्ती राजतन्त्रबाट भएको क्रूर अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनविरुद्धमा नेपालमा पनि सशक्त आन्दोलनको आवश्यकता खड्किएको थियो ।
संयोगवश भुट्टोको हत्या नेपाली विद्यार्थीका लागि आन्दोलन गर्ने उपयुक्त निहुँ बन्न पुग्यो । अन्ततः भुट्टोको हत्याको विरुद्धमा सुरु भएको विद्यार्थी आन्दोलन निरंकुश पंचायती शासनका विरुद्धको आन्दोलनमा परिणत भयो । क्रमशः यो आन्दोलनले देशव्यापी रूप लियो । विद्यार्थीहरूको अगुवाइमा भएको आन्दोलनबाट म पनि अछुतो रहन सकिन ।
म पनि त निरंकुश तानाशाही सामन्ती शासनबाट मुक्ति चाहन्थेँ । त्यसैले अनेरास्ववियुमा आबद्ध रहेर म अरू साथीहरूसँग आन्दोलनमा होमिएँ । आन्दोलनको सहयात्रामा दीपक थापा, केशव थापा, अष्टकाजी श्रेष्ठ, सहदेव थापा, रमेश खड्का, रामवावु खत्री, पुष्पदास स्याउला, विदुर केसी, नारायण श्रेष्ठ, देवलक्ष्मी स्याउला, ईन्द्रायणी शाक्यलगायत थुप्रै विद्यार्थीको संलग्नता थियो ।
हामी प्रहरीको आँखा छल्दै राति राति सामन्ति सत्ताका विरुद्धमा लेखिएका पोस्टर टाँस्ने गर्थ्यौँ । छाप्ने पैसा नभएका कारण हातले बनाएको निङ्गालाको कलमले मसीमा चोपेर लेखिएको पोस्टरको प्रयोग गर्थ्यौँ । राम्रो अक्षर भएका रमेश खड्का पोस्टर लेख्ने काम गर्थे ।
हुन त त्यतिखेर पोस्टर छाप्ने छापाखाना पनि त्यति थिएन र भएका छापाखाना पनि प्रहरी प्रशासनको डरले छाप्न मान्दैनथे । पोस्टरिङबाहेक त्यतिखेरका विरोधका कार्यक्रममा कोणसभा, नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू हुन्थे । नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रम रातको समयमा लुकेर गर्नुपर्थ्यो । प्रहरीले चाल पायो भने समातेर यातना दिन्थ्यो ।
समातिएकाहरुलाई कति क्रूर यातना दिइन्थ्यो भने हातको औंलाको नङभित्र पिन घुसारेर वा कडा खालको गिट्टीमाथि नाङ्गो घुँडा र कुहिना टेकाएर हिँड्न लगाउँथे । प्रहरीबाट सुरक्षित हुँदै छिपाउ बाटोको प्रयोग गर्नुपर्थ्यो । सिधा बाटो हिँड्यो भने प्रहरीले गिरफ्तार गर्थ्यो ।
विसं २०३५ साल चैत महिनाको दिन थियो । दिनको ४ बजे बनेपाको त्रिभुवनको सालिक रहेको चोकमा चारतिरबाट आएर जम्मा हुने र १० मिनेट कोणसभा गरेर तितरवितर भै बुडोलको महादेव पोखरी जाने बाटो नजिकै एउटा घरमा गएर साँझ बस्ने योजना बनाइएको थियो । सोही योजनाअनुसार भाषण गर्न भनेर एकजना विद्यार्थी नेता ( नाम बिर्सिएँ ) सालिकको पेटीमा उभिएर दुई मिनेट के बोलेका थिए प्रहरी आएर हामी सबैलाई तितरवितर बनायो ।
समाउन भने कसैलाई सकेन ।
त्यसपछि हामी अलगअलग बाटो भएर गहुँबारी हुँदै पूर्वयोजनाअनुसार तोकिएको घरमा पुग्यौँ । त्यतिबेलासम्म साँझ परिसकेको थियो । हामी उक्त घरमा भएको शंका गरेर प्रहरीले रातभर घेराबन्दी गरिरह्यो । हामी ७ जना थियौँ । प्रहरीले थाहा नपाओस् भनेर घरधनीले हामीलाई बुईँगलमा लगेर राखिदिएका थिए ।
बुईँगलभर मकैको खोस्टा राखिएको थियो । अँध्यारो भएकोले खाना खाँदा पनि मकैको भुत्ला मुखभित्र पस्थ्यो । आँखा झिमिक्कै नगरी रातभर जाग्राम बस्यौँ । लगभग विहानको ४ बजे घरधनीबाट प्रहरीले छाडेको जानकारी पाएपछि हामी तुरुन्तै निस्केर छुपाउ बाटो प्रयोग गर्दै पनौती गयौँ । यसरी हामी प्रहरीको गिरफ्तारीबाट बच्न सफल भयौं ।
केही समयपश्चात दीपक थापा गिरफ्तारीमा परे । दिपक थापाले नै मलाई कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरणा दिएका थिए । गाईवस्तु चराउन गएकै पाखामा गएर वस्तु बाध्न लगाएर पनौती बजारमा संगठनको काममा लिएर जान्थे ।
यसरी ३६ सालमा जे सोचेर, जुन सपना बोकेर कम्युनिस्ट आन्दोलनमा लागियो ती सबै सपना पानीका फोका बन्न पुगे । सपना सपनामै सीमित रहे । न्याय, समानता र स्वतन्त्रतामा आधारित सुन्दर समाज निर्माणको सपना, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी सबैको पहुँचमा पुग्छ र यसका लागि कोही तड्पिनु पर्दैन भन्ने सपना सबै चकनाचुर भए । अर्थात् - ‘ के सोचेँ मैले के भयो अहिले’ हुनपुग्यो ।