काठमाडौं । नेपालका पौडीबाजद्वय डुवाना लामा र नासिर हुसेनले जारी १९औँ एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन गर्दै बाहिरिएका छन् ।
हानझाओ ओलम्पिक सेन्टरस्थित एक्वाटिक स्पोर्ट्स एरिनामा बुधबार डुवाना र नासिर दुवैले खराब प्रदर्शन गरेका हुन् ।
पुरुष दुई सय मिटर फ्रिस्टाइलमा नासिरले दुई मिनेट १४ मिलिसेकेण्ड समय निकाले । उनको समय हिटमा नै सातौँ स्थानमा रह्यो । नासिरले जारी एसियाडमा आफ्नै उत्कृष्ट प्रदर्शन एक मिनेट ५७ सेकेण्ड २६ मिलिसेकेन्डको समय पनि भेट्टाउन सकेनन् ।
उनले यो राष्ट्रिय कीर्तिमान सन् २०२३ मा जापानमा भएको विश्व च्याम्पियनसिमा बनाएका थिए ।
यता, महिला एक सय मिटर ब्रेस्टस्टोकमा प्रदर्शन गरेकी १७ वर्षीया डुवाना पनि हिटमा नै पुछारमा रहिन् ।
उनले एक मिनेट २० सेकेण्ड १५ मिलिसेकेण्डमा उक्त दुरी पूरा गरिन् । उनले पनि आफ्नै उत्कृष्ट समय पनि भेट्टाउन सकिनन् । यस विधामा सन् २०१९ मा नेपालमा नै एक मिनेट १७.२३ सेकेण्ड बनाएकी छन् ।