काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशले नेकपा (माओवादी केन्द्र) सधैँ अस्थिर, अस्पष्ट र अवसरवादी रहेको बताएको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक प्रतिवेदनमा एमालेले माओवादी केन्द्रबारे यस्तो उल्लेख गरेको हो ।
“उग्रवामपन्थी धारको प्रतिनिधित्व गर्ने पार्टी, राजनीतिमा सधैँ अस्थिरता, अस्पष्ट र अवसरवादी, सत्ताको लागि जे पनि गर्ने प्रवृत्ति, यसको डबल स्टान्डरको कारण कोसी प्रदेशमा जातीय साम्प्रदायिकता बढेको छ,” एमालेले प्रतिवेदनमा भनेको छ ।
प्रतिवेदनमा माओवादी केन्द्र वैचारिक र सैद्धान्तिक क्षेत्रमा ढुलमुले, जातीय, क्षेत्रीय र अतिवादको विजारोपणको लागि जिम्मेवार भएको उल्लेख छ ।
“माओवादी अन्योल र दिशाहीनता र वैचारिक संकटमा छ । वामपन्थी ताकतमा भन्दा दक्षिणपन्थी ताकतसँग सम्झौतामा रमाइरहेको पार्टी नेकपा (माओवादी केन्द्र) हो,” प्रतिवेदनमा भनिएको छ ।