काठमाडौं । रोल्पाको सुनछहरीका ५४ वर्षीय रामबहादुर जेएम शक्रुबार शिक्षक आन्दोलनमा माइतीघरमा भेटिए ।
२१ वर्ष शिक्षण पेसामा बिताएका उनी काठमाडौं भने पहिलोपटक आएका रहेछन् ।
“अहिलेसम्म आइएको थिएन, आन्दोलनकै लागि भनेर आएको, आन्दोलन सकिएपछि एक दुई दिन घुम्नुपर्ला,” उनी बाह्रखरीसँग भन्दै थिए ।
धनुषाको राष्ट्रिय आधारभूत विद्यालय बटेश्वरकी शिक्षिका रीना सिंह २८ वर्षको उमेरमा पहिलोपटक काठमाडौं आइन् ।
आन्दोलनमा साथ दिन आइपुगेकी उनलाई काठमाडौं सुनेभन्दा रमाइलो लाग्यो रे ।
“अहिले थोरै दिनलाई आएको बस्ने गरेर फेरी आउनु पर्ला पशुपति तिर पनि जानु छ,” उनले भनिन्, “काठमाडौं घुम्ने रहर पूरा भएको छैन ।”
पाल्पाको रिब्दीकोटकी २३ वर्षीया बर्षा बुचामगरको यसअघि काठमाडौं आउने काम परेकै थिएन ।
१८ वर्षकै उमेरमा शिक्षण पेसामा प्रवेश गरेकी उनलाई काठमाडौं र आन्दोलनको माहोल दुवै रमाइलो लागिरहेको छ ।
“आन्दोलनमा धेरैसँग भेटघाट र चिनजान पनि भयो अब आएको बेला एकदुई दिन घुमेरै जानुपर्ला,” उनी व्यङ्ग्य गर्दै भन्छिन् “आन्दोलन गर्नै काठमाडौं आउन लेखेको रहेछ सौभाग्य भनौँ कि दुर्भाग्य ।”
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध सामुदायिक विद्यालयका शिक्षक शुक्रबार तेस्रो दिन पनि आन्दोलनमा थिए ।
जसमा कतिपय शिक्षकका लागि यो आन्दोलन पहिलोपटक काठमाडौं आउने अवसर पनि बनेको छ ।
काठमाडौंमा आफन्त नभएका शिक्षक नयाँ बसपार्क, सुन्धारा लगायतका होटेलमा बसेका छन् ।
दिनभर माइतीघरमा रहँदा कतिपयले खाजा आफैँले बोकेर आएका थिए ।
रौतहटबाट आएका एक हजार बढी शिक्षक पशुपति क्षेत्रका धर्मशालामा बस्दै आएका छन् । पाटीमा नअटेका शिक्षकलाई पशुपति क्षेत्र विकास कोषले पाल, म्याट र ब्ल्यांकेटको व्यवस्था गरिदिएको उनीहरु बताउँछन् ।
सामुदायिक विद्यालयका शिक्षक असोज ३ गतेदेखि सडकमा उत्रिए ।
काठमाडौं केन्द्रित आन्दोलनका लागि ७७ वटै जिल्लाबाट आएका हजारौँ संख्यामा शिक्षक असोज ३ गते बिहान ११ बजे माइतीघरमा भेला भए ।
पहिलो दिनको आन्दोलन प्रदर्शन केन्द्रित बन्यो ।
आन्दोलनमा सहभागी हुन एउटै पालिकाबाट दुईदेखि देखि सात वटासम्म बस रिजर्भ गरेर काठमाडौं आएका थिए ।
‘शिक्षामन्त्री राजीनामा दे’, ‘शिक्षा ऐन मूर्दावाद’, ‘शिक्षकलाई निजामतीसरह सुविधा दे’ जस्ता नाराबाजी गर्दै जुलुस नयाँ बानेश्वरसम्म पुग्यो ।
बानेश्वरमा तोकिएको निषेधित क्षेत्र पुगेर जुलुस शान्तिपूर्ण ढंगले माइतीघर फर्कियो र कोण सभामा परिणत भयो । कोणसभा ५ बजेसम्म चलेको थियो ।
आन्दोलनको दोस्रो दिन असोज ४ गतेको आन्दोलनमा भने शिक्षक निकै ‘विद्रोही र अराजक शैली’मा प्रस्तुत भए ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा जुलुस बबरमहल हुँदै नयाँ बानेश्वर पुग्यो ।
नयाँ बानेश्वर होटेल एभरेष्ट अगाडिबाट आकासेपुलसम्म निषेधित क्षेत्र कायम गरी नेपाल ठूलो संख्यामा प्रहरी खटाइएको थियो ।
सम्भावित अवस्थालाई मध्यनजर गरी सशस्त्रको पानी फोहोराका लागि वाटर क्यानन् तैनाथ गरिएको थियो ।
‘शिक्षा ऐन खारेज गर’, ‘शिक्षकलाई निजामति सरह सुविधा दे’ लगायतका नाराजुलुस गर्दै आन्दोलनकारीको पहिलो टोली निषेधित क्षेत्रबाट माइतीघरतर्फ नै फर्कियो । तर आन्दोलित शिक्षक त्यहीँ अडिए ।
झन्डै दुई घण्टा नयाँ बानेश्वरमा आन्दोलनकारी र सुरक्षाकर्मीको घम्साघम्सी परिरह्यो ।
आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोड्न हर प्रयास गरे । सुरक्षा बार ढाले, डिभाइडर फ्याँके, पानीका बोत्तलले प्रहरीमाथि प्रहार गरे, वरिपरिका रुखका हाँगा भाँचेर प्रहरीलाई झट्टारो हाने ।
उनीहरू त्यतिमा रोकिएनन् प्रहरीको लाठी समेत खोसे ।
बिहीबार प्रहरीले हदैसम्मको संयमता अपनाएको देखियो । ड्युटीमा खटिएका प्रहरीले बलजफ्ती नगर्न आन्दोलनकारीलाई हातै जोडेर अनुरोध गरेको पनि देखियो ।
दिउँसो करिब ३ बजे बानेश्वरको आन्दोलन केही मत्थर भयो, यता माइतीघरमा अबेरसम्मै कोणसभा चलिरहेको थियो । माइतीघरमा शिक्षकले विभिन्न रचनात्मक ढंगाबाट विधेयकको विरोध गरेको देखियो ।
शिक्षामन्त्रीको राजीनामादेखि शिक्षकका विलौनासम्म उनीहरुले गीत र कविताका माध्यमबाट पोखिरहे ।
सडकमै बसेर हाजिरी गरे, सडकबाटै सरकारलाई खबरदारी गरे अन्ततः चार बजेपछि माइतीघरको भीड पातलिँदै गयो ।
विधेयकप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघले १८ बुँदे माग प्रस्तुत गरेको थियो ।
शिक्षामन्त्री अशोककुमार राईले आह्वान गरेको वार्तामा नगएको शिक्षक महासंघसँग आन्दोलनको दोस्रो दिन वार्ता गर्ने जिम्मेवारी गृहमन्त्रीको काँधमा आइपुगेको थियो ।
सोहीअुनसार गृहमन्त्री श्रेष्ठसँग बिहीबार बिहान महासंघका प्रतिनिधि छलफलमा बसेका थिए । तर त्यो छलफलत निष्कर्षविहीन रह्यो । बिहीबार साँझ पुनः छलफलमा बसेपनि आन्दोरनरत पक्ष र सरकारपक्षबीच सहमति जुटेन ।
तेस्रो दिन शुक्रबार उही संख्यामा शिक्षक सडकमा उत्रिएपनि आन्दोलन भने रचनात्मक र केही शान्तिपूर्ण देखियो ।
मइतीघरमै कोणसभा गरेर बसेका शिक्षकले गीत कविता दोहोरी ब्यङ्ग्य, श्लोक आदिमार्फत् सरकारलाई खबरदारी गरिरहे ।
जस्तोसुकै अवस्थामा पनि आन्दोलन निष्कर्षमा नपुगेसम्म नफर्किने शिक्षकको अडान माइतीघरबाट डगमगाएन ।
यता कोणसभा र रचनात्मक आन्दोलन चलिरहँदा ४ बजेपछि उता सिंहदरबारमा सरकारसँग वार्ता पनि जारी थियो ।
शिक्षक महासंघका प्रतिनिधिसँग वार्ताका लागि गृहमन्त्री श्रेष्ठसहित कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोककुमार राईसहितको सरकारी टोली सहभागी थियो ।
अन्ततः शुक्रबार साँझ सरकार शिक्षकबीचको ६ बुँदे सहमति भयो । सहमतिसँगै शिक्षकले आन्दोलन स्थगित गरे ।
जसअनुसार सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने ।
शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति भएको छ ।
त्यस्तै, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने, प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने, पेसागत सुरक्षाको लागि सजायसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने पनि सहमतिमा उल्लेख छ ।
शिक्षकलाई बिनाआधार सजाय हुन नसक्ने व्यवस्था गर्ने, विगतमा निम्न माध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणीसहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाको लागि आवश्यक व्यवस्था गर्ने पनि सहमति भएको छ ।
त्यस्तै, सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने र प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रूपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने पनि सहमति भएको छ ।
त्यसैगरी शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने, योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गरिने भएको छ ।
कार्यसम्पादन मूल्यांकन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुनेगरी व्यवस्था गर्ने पनि सहमति भएको छ ।
योसँगै आइतबारदेखि देशभरका बन्द रहेका शैक्षिक संस्थामा पठनपाठन सुचारु गर्ने सहमति भएको छ ।