site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डिला संग्रौलाले भनिन्– महिलालाई प्रत्यक्ष निर्वाचन लड्ने माहोल बनाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचित क्षेत्र आरक्षित गरेर महिलालाई प्रत्यक्ष निर्वाचन लड्ने माहोल बनाउनुपर्ने धारणा राखेकी छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले निर्वाचन आयोगमा अहिले ऐन बनिरहेकाले कांग्रेसले यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिले निर्वाचन आयोगले निर्वाचन कानुन बनाउँदै छ । यसमा महिलाहरूको विषयमा विशेष व्यवस्था गर्नुपर्छ,” उनले भनिन्, “विगतमा ३३ प्रतिशत समानुपातिकको व्यवस्था त गर्यौ, अब निर्वाचन क्षेत्र नै आरक्षित गरेर महिलालाई प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउँदा महिलाको योग्यता र क्षमता पनि जनताले देख्ने थिए । त्यसैले निर्वाचन प्रणालीको सुधार गर्ने बहस चलिरहेका बेला महिलाको मुद्दालाई पनि विशेष ख्याल राख्नुपर्छ ।”

केन्द्रीय सदस्य संग्रौलाले पार्टीमा गुट–उपगुट घामजस्तै छर्लङग भएको भन्दै त्यसको प्रभाव वडा तहसम्म पुगेको धारणा राखिन् । उनले केन्द्रीय कार्यसमितिको बैठक सकेर निस्कदै गर्दा नेपाली कांग्रेसले अब हुने विभिन्न उप–निर्वाचनका लागि कस्तो रणनीति लिने हो त्यसमा पनि प्रष्ट हुन जरुरी रहेको बताइन् ।

युवाहरू अहिले विदेश जानेको लर्को लागेको भन्दै उनले सरकारले रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ भनेर सन्तोष माने पनि गाउँ रित्तिसकेको धारणा राखिन् ।

“अहिले खुसी भए पनि १०–२० वर्षमा त नेपाल बुढाबुढीको आश्रयस्थलमात्रै हुने पक्का छ । त्यसैले युवाहरूलाई कसरी हुन्छ देशमै रोजगारी सिर्जना गर्ने वातावरण मिलाउनु पर्छ भने बजेटमा घोषणा गरेका आर्थिक प्याकेजहरू कार्यान्वयनका लागि पहल गर्नुपर्छ,” उनले भनिन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्