काठमाडौं ।
घटना–१
२९ भदौमा तीनकुनेस्थित दिव्य सः मिलमा एकै परिवारका तीनसहित चारजनाको सामूहिक हत्या भयो । सिन्धुपाल्चोक बाह्रबिसेका बोल्न नसक्ने सञ्जय भण्डारीले उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धानले दाबी लिएको छ ।
सञ्जयलाई काठमाडौं प्रहरीको विशेष टोलीले घटनाको ३७ घण्टापछि भक्तपुरबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक नवीन भन्ने विशाल राईसँगको रिसइबीका कारण भण्डारीले सामूहिक हत्याको अपराध गर्न पुगेको देखाएको छ ।
प्रहरीका अनुसार भण्डारीले विशाल राईबाहेक दिव्य मिलमै काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीय अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीय शुभद्रा भुजेलको खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।
पक्राउ परेका भण्डारी जन्मदै बोल्न नसक्ने भएका कारण उनीमाथिको अनुसन्धान गर्न प्रहरीलाई केही असहज भएको छ । यद्यपि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या स्वीकार गरिसकेका छन् ।
प्रहरीको अनुसन्धानले मृतक विशालले वैशाखमा सञ्जय भण्डारीलाई मोटरसाइकले ठक्कर दिएको र सोही रिसइबीका कारण २९ भदौको घटना भएको देखाएको छ । सामान्य विवादले सामूहिक हत्याजस्तो जघन्य अपराध हुन पुग्यो ।
घटना–२
२१ भदौ २०७८ मा पनि संखुवासभाको मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको पनि उस्तै विभत्स हत्या भयो । हत्या आरोपमा प्रहरीले घटनाको एक सातापछि तेजबहादुरकै छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गर्यो ।
लोकबहादुर नातामा तेजबहादुर कार्कीको भतिजा हुन् । तेजबहादुरले आफूलाई निरन्तर हेपेको कारण हत्या गरेको लोकबहादुरले प्रहरीलाई बयान दिएका थिए ।
एकजनाको हत्या गर्ने उनको योजना भए पनि हत्याको घटना सो परिवारका अन्य सदस्यले थाहा पाएपछि घटना लुकाउन एकएक गरी उनले ६ जनाको हत्या गरेको स्वीकार गरेका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
लोकबहादुरले तेजबहादुर कार्कीसहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या गरेका थिए ।
लोकबहादुरले पनि सानो विषयमै उत्पन्न आक्रोशका कारण सामूहिक हत्या गरेका थिए ।
घटना–३
६ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ–३ आरुबोटे गाउँका बमबहादुर फियाक र उनकै ज्वाइँ धनराज शेर्माको परिवारको पनि उसैगरी सामूहिक हत्या भयो ।
उक्त घटनामा दुई परिवारका नौ जनाको ज्यान गएको थियो । कान्छा ज्वाइँ मनबहादुर माखिमले ससुरा बमबहादुर फियाक, साँढुदाइ धनराज शेर्मा, सासु पुर्सीमाया, पत्नी मनकुमारीको हत्या गरेका थिए ।
त्यस्तै, बमबहादुरकी अर्की छोरीतर्फकी नातिनी १० वर्षीया आशिका खजुम, साढुदाइ धनराजकी पत्नी जस्मिता, छोरीहरू युहाना, मुना र भतिजी आठ वर्षीया इच्छाको पनि हत्या गरेका थिए ।
श्रीमतीसँगको मनमुटावका कारण आवेगमा मनबहादुरले श्रीमती, ससुरासहित साढुदाइको परिवार नै सखाप पारेको प्रहरीको अनुसन्धानले देखाएको थियो । उक्त घटनामा हत्यारा आशंका गरिएका मनबहादुरले समेत आत्महत्या गरेका कारण घटनाको भित्री पाटो खुल्न नसकेको प्रहरीको भनाइ छ ।
अझै नसुल्झेको हेमकार परिवारको सामूहिक हत्या
माथिका तीन ठूला सामुहिक हत्या प्रकरण घटना लगत्तै सुल्झिए पनि नेपालगन्जका सुन चाँदी व्यवसायी हेमकार परिवारको हत्या भएको करिब १८ वर्ष पुग्न लाग्दा पनि हत्यारासम्म प्रहरी पुग्न सकेको छैन ।
२३ फागुन २०६२ मा सुनचाँदी व्यवसायी हेमकार परिवारको सामूहिक हत्या भएको थियो ।
नेपालगन्जस्थित सदरलाइनमा न्यू दीप ज्वैलर्स सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपक हेमकार, उनका ८२ वर्षीया हजुर आमा गुलावदेवी हेमकार, ६२ वर्षीय बुबा जगदेव हेमकार, ४५ वर्षीय आमा सीतादेवी हेमकार र ज्वैलर्समा कार्यरत कामदार बाँके साविक खासकुश्मा गाविसका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या भएको थियो ।
उनीहरूको राति सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर रुन्द्रघण्टी नै काटेर हत्या भएको थियो । हत्या गरी सुनचाँदीका गहनासमेत लुटिएको थियो ।
प्रहरीले हेमकार परिवारको हत्या अभियोगमा १३ वर्षपछि १४ असोज २०७५ मा भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउसमेत गरेको थियो । सोनी दीपकका ससुरा हुन् ।
दीपककी पत्नी घरमा नभएका बेला परिवार नै सखाप पार्ने गरी भएको हत्याकाण्डले सम्पत्तिका लागि उनकै बुबा सोनीले हत्या गरेको दाबी प्रहरीको थियो ।
तर, प्रहरीले हेमकार परिवारको हत्या अभियोगमा पक्राउ गरेको अभियुक्तलाई भने सर्वोच्च अदालतले २७ असार २०७६ मै साधारण तारेखमा छोड्न आदेश दियो । त्यसयता प्रहरीले अन्य कसैलाई पक्राउ गर्न सकेको छैन । हेमकार परिवारको हत्या घटना अझै सुल्झिएको छैन ।
‘हिनताबोधका कारण गर्छन् हत्या’
हेमकार परिवारको सामूहिक हत्या प्रकरणबाहेक अरू सामूहिक हत्या घटनाको कारण ठूलो देखिँदैन ।
पारिवारिक मनमुटाव र सामान्य विवादका कारण निर्दोष बालबालिकादेखि वृद्धले समेत अकालमै ज्यान गुमाउनु परेको छ । त्योबाहेक कतिपय सामूहिक घटनाले आफन्तबाट नै जोगिनुपर्ने अवस्था सिर्जना गरेको छ ।
प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायत सामूहिक हत्या मूलतः दुईवटा कारणले हुने गरेको बताउँछन्, एउटा रिसइबी र अर्को पहिचान खुल्ने डर ।
त्योबाहेक कुनै घटनामा पारिवारिक बेमेलसमेत कारक बन्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, "सामूहिक घटना हेर्ने हो भने कसैको परिवार सिद्ध्याउने उद्देश्यले गरेको देखिन्छ, त्यसमा रिसइबी र केही अन्य कारण पनि हुन्छन् । अर्को एउटा मान्छेको हत्या गरेको पहिचान खुल्ने डरले नजिक देख्नेहरूको समेत हत्या गरेका देखिन्छ ।"
मनोविद् पदमराज जोशी भने हत्याको कारण सानो ठूलो भन्ने नभई मानिसमा केही न केही मात्रामा ‘डिप्रेसन’को अवस्थामा पुगेपछि हत्याको अवस्थासम्म पुग्ने बताउँछन् ।
उनी भन्छन्, "जघन्य अपराधमा पुग्ने मानिसमा आत्मसम्मानको कमी र हिनताबोध हुँदा अप्रिय निर्णय लिन पुग्छन् । सामूहिक हत्याको अवस्था पनि त्यही हो । यसको प्रमुख कारण ‘डिप्रेसन’ नै हो ।"
उसलाई समयमै परामर्श दिन सके अप्रिय घटना हुनबाट जोगिने उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ५०१ जनाको हत्या भएको छ । तथ्यांकले यो बढ्दो क्रममा रहेको देखाउँछ । २०७८/७९ मा रोकिनुको साटो थप वृद्धि भएको देखिन्छ ।
यो आर्थिक वर्षमा ५९० वटा व्यक्ति हत्याका घटना भएको छ । जसमध्ये केही सामूहिक हत्याका घटना पनि छन् । तीन आर्थिक वर्षमा करिब ३० वटा सामूहिक हत्या भएको देखिन्छ ।