site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुवासजीको योगदानको सम्मान र उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्छ, चेतना भया !
Sarbottam CementSarbottam Cement

सुवासचन्द्र नेम्वाङको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ । अझै पत्यार नभएको जस्तो स्थिति भएको छ । सुवासचन्द्र नेम्वाङ क्रियाशील, सकारात्मक, मृदुभाषी । उहाँ एउटा देशभक्त जनपक्षीय, न्यायप्रेमी प्रगतिशील, परिवर्तनकारी व्यक्तिको रूपमा सिंगै जीवन रह्यो, इलाममै छँदा विद्यार्थी कालदेखि । एउटा प्रगतिशील विद्यार्थी हुनुभयो । जनपक्षीय, लोकतन्त्र पक्षधर व्यक्तिको रूपमा उहाँ रहनुभएको थियो । 

काठमाडौं आउनुभएपछि २०३२ सालमा उहाँसँग भेट्ने मौका मिल्यो । हामी जेलमै थियौँ । भेटेको अहिले ४९ वर्ष चलिराखेको छ । लगातार हाम्रो सम्बन्ध घनिष्ठ, समझदारीयुक्त, परस्परमा सहयोगी रह्यो । कहिले पनि अर्को ठाउँमा पुगेनौँ । हामी एकै ठाउँमा रह्यौँ । 

नेम्वाङजी सहयात्रीको रूपमा जीवनभर रहनुभयो । लोकतान्त्रिक आन्दोलनको क्रममा, संसदीय भूमिकामा, संविधान निर्माणका प्रश्नमा हामी आफ्ना ठाउँबाट पारस्परिक साथ सहयोगको भूमिकामा सधैँभर अघि बढि रह्य ।ौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

उहाँको असामयिक निधनको अघिल्लो दिन स्वास्थ्य राम्रो भइराखेको छैन भन्ने कोही साथीबाट सुनेँ । कहिलेकाही सामान्य के–के हुन्छ । ज्वरो आउने कुरा भइहाल्छ भन्ने ठानेँ । पछि, राति खबर आयो । पत्याइनँ पनि । तर, खबर साँचै रहेछ, म अस्पताल पुगेँ । नेकपा एमालेले त असाधारण ढंगले क्षति बेहेरोको छ, यस घटनाबाट । सिंगै देशले एउटा असल नेता गुमाएको छ । 

उहाँ भ्रष्ट नेता होइन । साँच्चै क्रियाशील नेता हो । नेतृत्व गर्ने नेता हो । नामको नेता होइन, कामको नेता गुमाएको छ । म दुःख व्यक्त गर्छु । यो दुःखलाई हामीले शक्तिमा बदल्नुपर्छ । दुःख मात्रै पिरोलिएर बस्न नि हुँदैन । जुन घटना भइसक्यो त्यो अब फर्किएर आँउदैन । हामीले मन दह्रो गर्नुपर्छ । 

Global Ime bank

सुवासजीले देशलाई जता लान जस्तो सोच्नुभएको थियो एकदमै सकारात्मक प्रयास गर्नुभएको थियो । त्यो सही प्रयास गर्नुभएको थियो । त्यो प्रयासलाई हामीले अघि बढाउनुपर्छ । उहाँप्रतिको साँचो श्रद्धाञ्जली त्यही हुन्छ । 

आधा शताब्दी भन्दा लामो अवधि उहाँ देशको लोकतान्त्रिक, प्रगतिवादी आन्दोलनमा लगाउनुभयो । सक्रियतापूर्वक निष्ठाका साथ लगाउनुभयो । सुवासजीको विशेषता उहाँ आफूलाई केन्द्रमा राखेर देशका हित, जनता, परिवर्तनका हित जे सुकै होऊन्, उद्देश्यहरू जतासुकै जाऊन् त्यो खालको भावना उहाँमा रहेन । त्यस्तो राजनीति पनि उहाँले गर्नुभएन । देश, जनतालाई केन्द्र भागमा राखेर सकारात्मक परिवर्तनलाई, सामाजिक न्याय, सुशासन, समृद्धिलाई केन्द्र भागमा राखेर राजनीति गर्नुभयो । जुन कुराबाट हामी सबैले सिक्नुपर्छ ।

उहाँ मिठो बोल्नुहुन्थ्यो, त्यो राम्रो कुरा हो । मिठो बोल्ने मान्छे पनि बेइमान भइदियो भने...। उहाँ बेइमान हुनुहुन्नथ्यो राम्रो कुरा हो । मिठो बोल्ने भन्दा ठूलो कुरा चाहिँ निष्ठा हो । उहाँ देशभक्त हुनुहुन्थ्यो । उहाँले कहिले पनि असान्दर्भिक, स्वार्थी कदम चाल्नुभएन । देशको हितमा अडिग रहनुभयो । 

सामान्यतया कहिले कहिले मान्छेको प्रशंसा गर्ने चलन हुन्छ । तर, सुवास चन्द्र नेम्वाङजी यस्ता व्यक्ति हुन्, उहाँको मनदेखि आदरभाव पलाएर आउँछ । सम्मान गरौँ भन्ने भाव उर्लिएर आउँछ । 

कहीँ खोट नभएको व्यक्ति । उहाँले मौका, अवसर, जिम्मेवारी पाउँदा त्यसलाई कुशलतापूर्वक सफलतामा पुर्‍याउनुुभो । सफलता साथ त्यसलाई सम्पादन गर्नुभयो । 

उहाँ पहिलोपटक कानुनमन्त्री हुँदा राम्रो भूमिका निर्वाह गर्नुभयो । ०६२/६३ को आन्दोलनपछि पुनःस्थापित संसद्‌मा आन्दोलनकारीका हैसियतले निर्विवाद नेताको रूपमा अगाडि देखा पर्नुभो ।

यद्यपि, विवाद भए होलान् । दलीय प्रणालीमा गुण दोषको हिसाब कम हुन्छ । त्यस्ता कुरा पनि प्रकट भए होलान् । तर, त्यतिबेला सभामुखका लागि डिजर्बिङ व्यक्तित्व भनेको सुवास नेम्वाङ नै हुनुन्थ्यो । त्यसैले छानिनुभयो । छानिएपछि पुनःस्थापित संसद्ले... । आफैँ प्रत्यक्ष निर्वाचित संसद् हैन । म्याद गुज्रिएको त्यस्तो अवस्थामा पुनस्थित संसद्ले । ब्युँझिएको त्यो संसद्ले कति दृढताका साथ काम गर्न सक्छ ? चुनौतीको कुरा थियो, पुनःस्थापना मात्रै हुने हो कि ? तर, त्यतिबेला राजनीतिक नेतृत्वको दृढता बहुत राम्रो थियो । 

सभामुखको हैसियतमा सुवास नेम्वाङजीको भूमिका असाधारण ढंगले राम्रो थियो । त्यसैकारण थुप्रै महत्त्वपूर्ण युगान्तकारी निर्णयहरू पुनःस्थापित संसद्ले गर्‍यो । वास्तावमा जनप्रतिनिधि संस्थाले के गर्न सक्छ ? भन्ने कुरा राजाका अधिकार सबै खोसेर प्रधानमन्त्रीमा सारिदियो । जनप्रतिनिधिबाट निर्वाचित प्रधानमन्त्रीमा सारिदियो । सम्पूर्ण राजकीय शक्ति प्रतिनिधिसभा र प्रतिनिधिसभाबाट उम्रिएको शक्तिमा पुर्‍यायो । यस्ता थुप्रै कुराहरू छन् । पहिले ०४७ सालको संविधान बनाउन जुन कुरा कमी रहेका थिए । ती कुरालाई फेरि सच्याएर पुनःस्थापित गर्‍यो । २७ वटा कमी भनेर जो त्यतिबेला मदन भण्डारीले बोल्नुभएको थियो । ती कुरालाई पनि त्यसमा सामेल गरियो । यी कुराहरूमा सुवासचन्द्र नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको थियो । 

सभामुखको भूमिका भनेको सर्वेसर्वा हुन्छ भन्ने होइन । विभिन्नतिर राजनीति रुमलिएको हुन्छ । त्यतिबेला झन् अप्ठेरो अवस्था बनिरहेको हुन्छ । सभामुख एउटा पार्टीमा संलग्न नहुने, कतै पक्ष विपक्षमा नहुने बीचबाट चल्ने भन्ने संस्था हो । तटस्थतालाई कायम राखेर ठिक कुरालाई अघि बढाउन र त्यसलाई टुंगोमा पुर्‍याउने काममा प्रभावकारी अभिभावकीय भूमिका सभामुखको हुन्छ । त्यस्ता कुरामा सुवास नेम्वाङजीको भूमिका ज्यादै महत्त्वपूर्ण रह्यो । 

०७३ आश्विन ३ गते, भोलि आठ वर्ष पूरा हुँदै छ  । त्यतिबेला संविधान जारी गर्ने कुरा । सिटौलाजी (कृष्णप्रसाद सिटौला) ले अलिकति कुरा त निकाल्नुभयो । तर, विवादमा जान चाहनुभएन । उहाँलाई नै ठूलो दबाब थियो । मस्यौदा समितिले मस्यौदाकोप्रति टुंगिएपछि यतिबेर सभामुखलाई बुझाउने, सभामुखले यहाँ यतिबेर पार्लामेन्टमा पेस गर्ने, यस दिन पारित गर्ने सबै कुरा टुंगिएको अवस्थामा नबुझाऊ भनेर उहाँलाई दबाब आएको थियो । उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले त्यतिबेला नबुझाउने असंसदीय, अलोकतान्त्रिक, मेरो अधिकार बाहिरको कुरा । मस्यौदा समितिको सभापति हुँ सर्वेसर्वा होइन सुवासजीलाई बुझाउँछु, संविधान बनाउने काममा व्यवाधान पुर्‍याउँदिनँ भनेर उहाँले अडान लिनुभयो । 

यसमा निकै धेरै साथीहरूको पनि मेहनत छ । त्यतिबेला खासगरी नेकपा (एमाले), नेपाली कांग्रेसका नेताहरूको अडान । नेपाली कांग्रेसभित्रको कुरा म भन्दिनँ । खुद नेपाली नेपाली कांग्रेसका नेतामार्फत नै सिटौलाजीलाई दबाब आएको थियो । नबुझाऊ भनेर । 

सुवासजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउदिनँ भनेर भन्नुभएको थियो । त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गर्नुभयो । 

व्यवधान, अप्ठेराहरू थिए । संसद्ले जारी गर्ने नै अठोट गरिसकेपछि यो नहल्लिने अठोट भनेपछि अनि सबैतिरका प्रेसर शान्त भए । र, काम अगाडि बढ्यो । त्यतिबेला राजनीतक दल, संविधान सभामा रहेका नेताहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । संविधान जारी गर्न महत्त्वपूर्ण सकारात्मक प्रयास नेम्वाङजीको रहेको थियो । उहाँ धन्यवादका पात्र हुनुहुन्छ । 

उहाँ कानुनको विद्यार्थी । यो पछिल्लो संविधान निर्माणमा मात्रै होइन । अन्तरिम संविधान जारी गर्दाका बखत पनि, ०४७ को संविधानलगायतका भूमिकाहरू रह्यो । राजनीतिक दलहरूको भूमिका रहने गर्‍यो । 

एकप्रकार संविधान सबैजसो राजाबाट घोषणा मात्रै गरेको हो । राजाले लेखेको होइन । राजाले भनेका दरबारका मान्छेले लेखेको होइन । राजनीतिक दलहरूको प्रतिनिधित्व र समावेशितामा सहभागितमा लेखिएको थियो, ०४७ सालको संविधान । 

त्यो संविधानमा प्रमुख कमजोरी भनेको गणतन्त्रात्मक थिएन । राजतन्त्रात्मक थियो । केही न केही कमी त हरेक संविधानमा देखिन्छ । अहिलको संविधान कार्यान्वयनको क्रममा देखा परेका नमिल्दा व्यवहारमा परिवर्तन आवश्य देखिएका त्यस्ता विषयहरू संशोधन पनि गर्नुपर्छ । 

कि त संविधानको जगको विरोधै मात्र गर्ने, कि संविधानको समर्थन गरेपछि शंसोधन पनि हुन सक्दैन भन्ठान्ने यी दुवै कुरा ठिक होइन । संविधान मान्नुपर्छ । बढो दुःखले, मेहनतले बलिदानको शृङ्खलापछि हामीले आफैँले निर्माण गरेको संविधानसभाबाट आफैँले छानेका जनप्रतिनिधिमार्फत बनाइएको संविधान हो । नेपाली जनताले बनाएको ।  कति राम्रो बनाइयो, कति नराम्रो बनाइयो । आफ्ना आफ्ना बुद्धि मिसाएर बनाइयो । कति लेनदेन भए, कति सहमति भए । कति सम्झौता भए । त्यसका लागि पनि कति छोड्नुपर्‍यो । केही लिनपर्‍यो होला । ती कुरा भए । तर, जे भए पनि आफ्ना जनप्रतिनिधिमार्फत आफैँले लेखेको आफैँले जारी गरेको गणतन्त्रात्मक संविधान हो ।  गणतन्त्रात्मक मात्रै होइन केही लोकतन्त्रात्रिक पनि छ ।

संविधानको परिभाषादेखि लिएर सबै भाग, भाग अन्तर्गतका धाराहरू सुविचारित ढंगले छलफल गरेर त्यहाँ राखेको हो । आज हामी केही संविधान लेखिसकेको संवैधानिक अनुभव हासिल गरेको पुस्तामा छौँ । सुवासजी बित्नुभयो । केही संविधान बनाएका, हटाएका, संशोधन गरेका अनुभव छन् । यही संविधान पनि हामीले दुईपटक संशोधन गरिसकेका छौँ । एकपटक विभिन्न असन्तुष्टहरूलाई सम्बोधन गरेर संविधानको सर्वस्वीकार्यता बनोस् बन्नका लागि ०७२ मंसिरमा पहिलोपटक संविधान संशोधन भयो ।

हाम्रो भूभाग ०५८ देखि गुमेको । सुगौली सन्धिपछि १४६ वर्ष हामीले भोगचलन गरेको तर पछि ०५८ वर्ष हाम्रो नियन्त्रणबाट बाहिर गएको जमिन । हाम्रो सहमतिमा होइन । हामीलाई जानकारी भएर हाम्रो सहमतिमा हाम्रो परामर्शमा त्यो केही होइन । बलजफती हाम्रो नियन्त्रणबाट बाहिर लगिएको जमिन समावेश गरेर नक्सा जारी गर्‍यौँ । त्यो नक्सालाई हाम्रो संसद्ले सर्वसम्मतिले पारित गर्‍यो । त्यसबेला हामीले संविधानको अनुसूची, नयाँ नक्सा सामेल गर्नका लागि संविधान संशोधन गर्‍यौँ । 

एक–एकवटा मात्रै विषयमा हामीले संशोधन गर्‍यौँ । तत्काल चाहिएका विषयमा मात्रै गर्‍यौँ ।  अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटा विषय मात्रै होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ । एउटा हिसाबले बेला भएको छ कि छैन भन्ने पनि छ । एउटा हिसाबले के लाग्छ भने अहिले पनि गम्भीरताभन्दा बढी भावना, सेन्टिमेन्ट । आफ्नै कुराहरू भन्दा प्रायोजित र आयातित कुराबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरू  ती पनि देखिरहेको र अनेक प्रकारका बेठिक उद्देश्यहरू पनि देखिरहेको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने चाहिँ फेरि गम्भीर छ । त्यसकारण यसमा कुनै हतारो गरिहाल्नुपर्ने अवस्था आएको छैन । 

हामी संविधान दिनस पनि मनाइरहेका छौँ । जुन संविधान बनाउँदा संविधान बनाउने संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ हुनुहुन्छ । यसअघिका संविधान दिवस हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौँ, चाहे सरकारी होस्, चाहे गैरसरकारी । हामी सधैँ मनाइरहेका छौँ । उहाँको उपस्थिति हुने गर्थ्यो । यस वर्ष उहाँका योगदान, चिह्न, उहाँले दिनुभएको गोरेटो, दिशा निर्देश के छ भन्नेमा छलफल गर्छौं । 

आज देश जहाँ पुगेको छ । यतिबेला साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आएको छ । सबै पार्टी, पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने अवस्था आएको छ । नत्र धेरै प्रकारका खतराबाट हामी जेलिँदै छौँ । त्यसमा प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो । प्रमुख राजनीतिक दलको आह्वानमा धेरैले जीवन आहुति गरेका छन् । धेरै ठूलो क्षति बेहोरेर यो ठाउँमा आइपुगेका छौँ । यी उपलब्धि आाकशाबाट आएका होइनन् । जीवन, बलिदनासँग मूल्य तिरेर यहाँ ल्याएका छौँ ।  यसलाई गुम्न दिन सकिँदैन । गुम्न दिन हुँदैन । प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्छ । 

सुवास नेम्वाङ र संविधानका सन्दर्भमा कुरा गर्दा जसले संविधान निर्माणको अगुवाइ गर्‍यो, संविधान निर्माण गर्‍यो उहाँ त अब हुनुहुन्न । संविधान निर्माण गर्नेहरू अरू त छौँ नि । उहाँको योगदानको सम्मान र प्रशंसा गर्दै ती उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ । सबैमा चेतना भया ! 

यी उदेश्यलाई तलामाथि हुन नदिन एमाले प्रतिबद्ध छ । 

(नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश ।)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय