काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा छलफल गर्न बोलाइएको वार्तामा शिक्षक उपस्थित भएनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजका लागि बोलाइएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधि अनुपस्थित भएका हुन् ।
शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी आह्वान गरिए पनि मन्त्रालयको एकल प्रयत्नमा विधेयकमा परिमार्जन सम्भव नभएको भन्दै उनीहरू अनुपस्थित भएका हुन् ।
महासंघले दिएका सुझाव समावेश नगरी संसद्मा विधेयक पेस गरिएकामा उनीहरूको आपत्ति छ । महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ ।
आफूहरू भोलिदेखि दबाबमूलक आन्दोलनमा उत्रने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । माग सम्बोधन गराउन असोज ३ गते काठमाडौंमा भेला भई बृहत् आन्दोलनको तयारी शिक्षकले गरेका छन् ।