site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अटवारी पर्व मनाइँदै
कैलालीको धनगढीको दृश्य । फाइल तस्बिर ।

धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज अटवारी पर्व उल्लासपूवर्क मनाइँदै छ ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा अटवारी मनाइन्छ । यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।

यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आइतबारै यो पर्व मनाइन्छ । भगवान् श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन अटवार मनाइन्छ । यो पर्वपछि उक्त समुदायमा आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ ।

Dabur Nepal
NIC Asia

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सद समयको उपयोग गर्दै टोलटोलमा आफ्नो मौलिक सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्छन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानी समेत नपिएर दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मिठा परिकार पकाइसकेपछि पूजा गर्ने गर्छन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

यी जिल्लामा खेती गरिँदै आएको रैथाने जातको ‘अण्डी’ धानको चामलबाट खानाका मिठा परिकार पकाउने गरिन्छ । पछिल्ला वर्षमा भने यो धानको बीउ हराउन थालेकाले अरू जातको धानको चामल प्रयोग गर्नुपरेको सो समुदायका अगुवाको भनाइ छ । 

यो पर्वमा पूजाको काम सकिएपछि छोरी–बहिनीका लागि अलग्गै छुट्ट्याइने खानाको परिकारलाई ‘अग्रासन’ भनिन्छ । छोरी–बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । पर्वको दोस्रो दिन बिहानै यसरी छुट्ट्याइएको अग्रासन (खानाका परिकार)आफ्नी छोरी–बहिनीको घरसम्म पुर्‍याइदिने चलन छ ।

महाभारतको युद्धमा पराजित भई वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुसियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको डगौंरा चौधरी समुदायका अगुवा बताउँछन् ।

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास यो समुदायमा गरिन्छ । अटवारी पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro