कुरा सोध्नु छ बुवा, साँचो भन्नुहोस् मलाई
न ढाँटी भन्नुहोस् मलाई,
याद मेरो आउँछ कि आउँदैन ?
जन्मिँदा म घरमा बुवा साह्रै नै खुसी हुनुभा’थ्यो
खुसी भएर मिठाई बाँड्नुभा’थ्यो
आमा यो कुरो भन्नुहुन्थ्यो मलाई
बाहिरबाट सधैँ आउँदा बोलाउनुहुन्थ्यो मलाई
म त छैन बुवा घरमा
अब बोलाउनुहुन्छ कसलाई ?
न ढाँटी भन्नुहोस् मलाई
उमेर हुँदासम्म बुवा, कमाउनुभयो हजुरले
सारा कमाइ खर्चिनुभयो हामै लागि हजुरले
बाँकी जो बच्यो घरका लागि जोगाउनुभयो हजुरले
उमेर त हजुरको अब आराम गर्ने हो
बुवा, अब कसका लागि दुःख गर्नुपर्ने हो ?
न ढाँटी भन्नुहोस् मलाई
भन्नुहुन्थ्यो घर अँध्यारो भयो छोरी बिदा गरी
बिदा गर्नुभयो लोकाचार मानेर
गरगहना, लुगाफाटो, गृहस्थीका सरसामान
जोहो गर्नुभो सबै कुरा लुकीलुकी आँखा पुछेर
पुछ्नु हुन्न बुवा आँखा अब त सम्झीसम्झी मलाई ?
न ढाँटी भन्नुहोस् मलाई
यो कस्तो चलन यहाँको छोरीले मान्नुपर्ने
भएर अंश हजुरको घर छाडेर जानुपर्ने
आधाआधा भएर यहाँ छोरीले बाँच्नुपर्ने
माइती र पति घरबीच बाँडिएर बस्नुपर्ने
बुवा, माया हजुरको पनि के आधा अधुरो हो ?
न ढाँटी भन्नुहोस् मलाई