site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपक भन्छन्– हाम्रो प्राथमिकता नेपाली सिनेमा, निर्मातालाई ५० प्रतिशत सेयर दिन्छौँ 

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो हलले निर्मातालाई ५० प्रतिशत सेयर दिने बताएका छन् । आजबाट सञ्चालनमा आएको आफ्नो सिनेमा हल आईएनआई सिनेमाको उद्घाटनपछि उनले नेपाली सिनेमाका निर्मातालाई सिनेमाको प्रदर्शनबाट उठेको रकमको ५० प्रतिशत सेयर दिने बताएका हुन् । 

“प्रोडुसरको रूपमा मैले धेरै आवाज उठाएको छु । आज प्रदर्शकको रूपमा आइपुग्दा बिचमा बसेर काम गर्नुपर्ने अवस्था आएको छ । मैले सधैँ भन्ने गरेको प्रदर्शक र निर्माताको सेयर ५०/५० प्रतिशत होस् भन्ने हो,” उनले भने, “हल र निर्माता दुवैलाई बचाउनु पर्छ । यो हलमा नेपाली सिनेमाबाट उठेको सेयरको ५० प्रतिशत रकम निर्मातालाई दिने घोषणा गर्छु ।” 

Argakhachi Cement Island Ad

दीपक–दीपाको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा   

अरु हलले पनि यस्तै निर्णय गर्ने उनको विश्वास छ । प्रदर्शक र निर्माताबीचको सेयर बाँडफाँटको हिस्साबारे रहेको विवाद सुल्झाउन कार्यदलले काम गरिरहेको र उक्त कार्यदलले यही निर्णय गर्नेमा उनी ढुक्क सुनिए । 
 
उनले शो बाँडफाँटमा व्यवस्थापकलाई हस्तक्षेप नगर्ने तर नेपाली सिनेमालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । आफू प्रदर्शकभन्दा पनि पहिला निर्माता भएको भन्दै उनले चलिरहेको नेपाली सिनेमा उतारेर हिन्दी वा अंग्रेजी चलचित्र लगाउने पक्षमा नरहेको बताए । 

तर, यसका लागि नेपाली सिनेमाले व्यापार भने गर्नु पर्नेमा उनको जोड छ । दयामायाले मात्रै सिनेमा नचल्ने दीपकको भनाइ छ । 

“चलचित्रले राम्रो व्यापार गर्दागर्दै हाम्रो हलबाट नेपाली चलचित्र उत्रिने छैन यो विश्वास दिलाउँछु,” उनी भन्छन्, “तर, यसका लागि चलचित्र पनि चल्नु पर्छ । माया र प्रेमले मात्रै सिनेमा चल्दैन, सिनेमा चल्न दर्शक नै आउनुपर्छ ।” 


दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्