सम्राट अशोकको शिलालेखमा उल्लेखित साक्यमुनी तथागत सुकिति (सिद्धार्थ गौतम) बुद्धको नामदेखि नै वास्तविकता लुकाएको/हराएको पाइन्छ । त्यसैगरी उनका पिता राजा सुदोदन (सुद्धोधन), माता रूपन देई (मायादेवी), पत्नी काचाना/कात्यायनी (यसोधरा) र ससुरो सुप्पबुद्ध नामहरू समेत वास्तविक भन्दा भिन्न बनाइएको छ । भगवान बुद्धभन्दा पहिला पनि बौद्ध परम्परा रहेको ससुराको नाम सुप्पबुद्ध हुनुबाटै प्रमाणित हुन्छ । तैपनि इतिहासका पानामा यो गोलमाल किन भो भन्ने अनुसन्धानको विषय हो ।
बुद्धको जन्म
महारानी मायादेवीले सपनामा सेतो हात्ती आफ्नो गर्भमा प्रविष्ट गरेको र गर्भाधान भएको बौद्ध ग्रन्थहरूमा उल्लेख छ । त्यतिबेलाको परम्पराअनुसार बच्चा जन्माउन आफ्नो माइती देवदह जादै गर्दा बीच बाटोमा लुम्विनी वनमा प्रसव पीडा भई मायादेवीको काखीबाट बुद्ध जन्मिएको र जन्मिनासाथ सात पाइला हिँडेको कथा पाइन्छ ।
वास्तविकता
यो काखीबाट जन्मिने र सात पाइला हिँड्ने कुरा वास्तविकता हुनै सक्दैन । बरू बुद्ध जन्मेको सातौ दिनमा मायादेवीको मृत्यु भएको तथ्यलाई केलाउने हो भने प्रसव वेदनामा तलवितल भएको वा संक्रमण भई देहावसान भएको अनुमान लगाउन सकिन्छ ।
वनगमन
गौतम बुद्धले बूद्ध, रोगी र दुखी देखेपछि द्रविभूत भएर सत्यको खोजका लागि वन गए भन्ने बौद्ध ग्रन्थहरूमा पाइन्छ ।
सुख सयलमा हुर्केको राजकुमारको पत्नी यशोधराबाट धेरै प्रयत्नपछि २९ वर्षको उमेर पाएको छोरा राहुललाई सातै दिनमा छोडेर वनतिर लागेको कुरा सुपाच्य छैन । त्यसमा पनि त्यत्रो दरबारमा कोही दुखी नहुनु अनि दरबारमा रोगी नै नहुनु तर्क संगत छैन । त्यसमा पनि राजा सुद्धोधन नै बृद्ध पिता थिए ।
वास्तविकता
शाक्य गणराज्य र कोलीय राज्यबीच नदीको पानी बाँडफाँटसम्बन्धी झगडा थियो । बुद्धबाहेक अरू शाक्यहरू युद्धबाटै निर्णय होस् भन्ने चाहन्थे । तर, सिद्धार्थ गौतम वार्ताबाट टुंग्याउनुपर्छ भन्ने मत राख्थे । मतदान हुँदा सिद्धार्थ अल्पमतमा परे । युद्ध हुने भो । तर सिद्धार्थ भने युद्धमा नजाने जिद्धी मै अडे । त्यसैले सभाले कि देश निकाला कि सर्वस्वहरण कि त मृत्युदण्ड हुने फैसला सुनायो । तीन विकल्पमध्ये उत्तम विकल्पको रूपमा सिद्धार्थ वनगमन गरेका हुन् भन्ने मत पनि पाइन्छ । ( ‘बुद्ध’ - भिमराव अम्वेडकर)
बोधज्ञान र धर्मचक्र वर्वतन
उनलाई ३६ वर्षको उमेरमा बोधज्ञान भएपछि ग्वालापुत्री सुजाता र उनका साथीहरूले "बुद्ध" भनेर सम्बोधन गरे । बुद्धले धर्म देशना दिन अनिच्छुक भएको र "ब्रम्हा" आएर मगधमा अधर्म फैलिएकोले धर्म देशना दिई जगत उद्वार गर्न अनुनय विनय गरेको उल्लेख पनि पाइन्छ । त्यसपश्चात आफूसँगै साधना गरेका पाँचजना शीष्य अज्नाता कुण्डया (कौडिण्य), भरीका, वास्पा, महानामा र अस्भजीतलाई "ब्राम्हण"हरूलाई धर्मदेशना दिए भन्ने बौद्ध ग्रन्थहरूमा पाइन्छ ।
वास्तविकता
त्यतिबेलाको पाली भाषामा "ब्राम्हण" शब्द नै पाइन्न । बुद्धिजीवी विद्वान् (भिक्षु)हरूलाई वमनसमन भनिन्थ्यो । अशोकको शीलालेखमा पनि वमनसमन शब्द पाइन्छ । सातौं शताब्दीका चिनिया यात्री ह्वेनसङले आफ्नो टिपोटमा राजा सुद्धोधनले वनगमन गरेका सिद्धार्थको सहयोगको लागि ५ जना पठाएका थिए र तीमध्ये तीन जना शाक्यहरू थिए तथा यिनीहरू नै उनका पहिला पाँच शिष्य बने भन्ने उल्लेख गरेका छन् । कठिन तपस्या गर्दा मर्नै लागेका बुद्धलाई खीर खुवाएर बचाउने ग्वाला पुत्री सुजाताको पनि उल्लेख गरेका छन् । यिनै सुजाताको विशाल स्तुप विहारको गयामा अझै छ ।
हियान/हिनयान वा थेरवाद
हिनयान शाखामा पाली भाषामा लेखिएको त्रिपिटक (सुत्त पिटक, अभिधम्म पिटक र विनय पिटक) मान्ने गर्छन् । यिनीहरू बुद्धलाई महापुरूष मान्छन् तर ईश्वर मान्दैनन् । र मूर्तिपूजा पनि गर्दैनन् । हिनयानमा थेरवाद (श्रेष्ठ व्यक्तिहरूको कुरा) र स्थविरवाद मूख्य अङ्ग मानिन्छ । थेरवादीहरू गौतम बुद्धले चलाएको चलन र दिएको उपदेशलाई मूल मान्छन् ।
वौद्ध धर्ममा तीन प्रकारका पूर्ण जीव मानिन्छन् ।
१. बुद्ध, जसले ज्ञान प्राप्तिपछि अरूलाई पनि बाँड्छन् ।
२. प्रत्येक बुद्ध, ज्ञान प्राप्त गर्छन् तर अरूलाई बाँडदैनन् ।
३. अर्हत, ज्ञान प्राप्त गरेर पूर्णतया उपयोग गर्छन् ।
हिनयानमा अर्हत हुने मूल लक्ष्य मानिन्छ जसमा जन्ममरणको जन्जाल छोडेर निर्वाण प्राप्त गर्ने ध्येय हुन्छ ।
महायान :
बुद्ध परिनिर्वाण भएको तीन महिना (ई. पू ४८३)मा राजगृहको सप्तपर्णी गुफामा राजा अजातशत्रुको आतिथ्यमा भिक्षु महाकस्यपको अध्यक्षता अनि चारसय उनान्सय अर्हतप्राप्त महाश्रमण भिक्षुहरू र भिक्षु आनन्दको उपस्थितिमा पहिलो संघायन भयो । यसमा सम्पूर्ण बुद्ध वचनलाई विनय पिटक र सुत्त पिटकमा पाली भाषामा संग्रह गरियो । यसमा भिक्षु आनन्दले महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यसैगरी बुद्ध परिनिर्वाणको ११० वर्ष पछि (ई. ३८३) सम्राट कालाशोकको पालामा वैशालिको कुशुमपुरी (बालिकाराम) बिहारमा भिक्षु सब्बकामीर (सुब्बुकामी)को अध्यक्षतामा दोस्रो संघायन भयो । यसमा सात सय महासम्मनहरूले भाग लिएका थिए । यस संघायनबाट बुद्धका अनुयायीहरू स्थाविर र महासंघिक गरी दुई भागमाविभाजन भयो ।
बुद्ध परिनिर्वाणको लगभग ३०० वर्षपछि (ई. पू. २४७) सम्राट अशोकको पालामा पाटलीपुत्रको संघाराम विहारमा मोगलीपुत तिष्यको अध्यक्षतामा तेस्रो संघायन भयो । यो नौ महिनासम्म चल्यो । यहीबेला अभिधम्म पिटक लेखियो । यसपछि नै बुद्ध धर्ममा विनय पिटकलाई पछ्याउने थेरवादी र सुत्त पिटक र अभिधर्मलाई लिएर शून्यवाद, समाधि आदि लाई लिएर महायान परम्पराको सुरूआत भयो । यति बेलासम्म बुद्ध धर्ममा १७ वटा सम्प्रदाय बनिसकेका थिए । थेरवादीहरू आफ्नो मुक्तिमार्गमा मात्रै विश्वास राख्थे भने महायानीहरू समस्त लोकको हितका लागि वोधिसत्वहरूको अवतरण हुन्छ/गर्नुपर्छ भन्ने विश्वास राख्थे । यही महायानी परम्पराबाट बज्रयान, तन्त्रयान, मन्त्रहरूको विकास भएको देखिन्छ ।
चौथो वौद्ध संगति सम्राट कनिष्कले काश्मिरको कुण्डलवनमा गरेका थिए । यसमा त्रिपिटकको टीका र महाविभाषा सूत्र (बुद्ध धर्मको विश्वकोष)को समेत पाली भाषामा रचना गरिएको थियो । सम्राट अशोक महायानी भिक्षु अश्वघोषका अनुयायी हुन् ।
बज्रयान
पाचौैं/छैठौं शताब्दीतिर महायान बुद्ध धर्मबाट बज्रयान वा तन्त्रयान वा मन्त्रयान विकास भएको मानिन्छ । यसका प्रवर्तक बज्रपाणीलाई मानिन्छ । बज्रयानमा मूख्य मन्त्र साधना गर्ने वस्तु बज्र नै हो । यसमा बुद्ध, बोधिसत्व, देवीदेवता (अरहत प्राप्त श्रमण) का लागि मन्त्र, धारणी र मण्डलाहरूको प्रयोग गरिन्छ ।
बज्रयान भारतको पूर्वोत्तर भागमा विकास भएर नेपाल, तिब्बत, भूटान, पूर्वी एसिया हुँदै मंगोलियासम्म फैलिएको मानिन्छ । नालन्दा (भारतको विहार), विक्रमशीला (भारतको विहार), सोमपूरी (हाल वङ्गलादेश) आदि विश्वविद्यालयहरूमा बज्रयानको पढाइ हुन्थ्यो । यिनीहरूमा विदेशबाट शिक्षादिक्षा लिन आउने थुप्रै विद्यार्थी भएकोले बज्रयानको विस्तार चाँडै भएको मानिन्छ । मंगोलियाका चंगेज खानले अपनाएको तेंगी वा तेग्री धर्मसमेत यही तन्त्रयान हो भनिन्छ ।
बज्रयानको सिद्धान्तहरू मञ्जुश्रीकल्प नामक ग्रन्थमा पाइन्छ । यसमा धेरै देवीदेवताको वर्णन छ । शाक्यमुनि बुद्ध र तारादेवी अनि वोधिसत्व अवलोकितेश्वर र देवी प्रज्ञापारमितालाई महत्त्व दिईएको छ । बज्रयानबाटै दशौं शताब्दीतिर कालचक्रयानको उत्पत्ति भएको थियो । यसमा "कालचक्र"लाई सर्वोच्च देव मानिन्छ ।
बज्रयानमा प्रमुख देवताहरूमा यमारी (यमराज), धनका देवता जम्भाला (स्वास्नी वसुंधारा देवी), हेरूका (रूद्रदेव) पर्छन् । त्यसैगरी देवीहरूमा तारा, प्रज्ञापारमिता, अपराजिता, सरश्वती, डाकिनी, बज्रयोगिनी प्रमुख छन् ।
बज्रयानको धेरै कुरा शाक्त सम्प्रदायसँग मिल्दोजुल्दो छ । पछि बज्रयानका मासु, रक्सी र सहवासलाई समेत समेटने कतिपय शाखाहरू बने । यिनीहरूको मुख्य ध्येय नै "विष" लाई ज्ञानमा परिवर्तन गर्ने भन्ने रह्यो ।
नाथ परम्परा :
बज्रयानीहरू मै मध्यकालसम्ममा ८४ महासिद्ध भए । मछेन्द्रनाथ वा मत्सेन्द्रनाथ वा मिनापा वा मचामुनि यस परम्पराका संस्थापक मानिन्छ । उनलाई वोधिसत्व अवलोकेतेश्वर वा "शिव"को अवतार पनि मानिन्छ । उनलाई हठयोग र तन्त्रयानको प्रवर्धक पनि मानिन्छ । त्यसैले पनि अहिले पशुपतिनाथ, मुक्तिनाथ, त्रैलोकनाथ, केदारनाथ आदि आर्यअवलोकेतेश्वरको मन्दिर शिव मन्दिरको रूपमा पुजिन्छ । यिनै मछेन्द्रनाथका शिष्य गोरखनाथ थिए ।
नवनाथमा मछेन्द्रनाथ, गोरखनाथ, जालन्दरनाथ, कान्हापाद, गोहिनीनाथ, भरथरी (भर्तृहरि), रेवननाथ, चरपटीनाथ र नागनाथलाई लिइन्छ ।
हठयोगको उल्लेख तिब्बती भाषामा ई. ११६० मा लेखिएको बज्रयानको ग्रन्थ अमृतसिद्धिमा पाइन्छ । बाह्रौं शताब्दीपछि मात्र "हिन्दु" धर्महरूमा उल्लेख भएको छ । नेपालको गोरखामा रहेको गोरखनाथको खुट्टाको छाप रहेको गुफामा "रोट महोत्सव" विगत ७०० वर्ष देखि बुद्ध पूर्णिमाको दिनमा निरन्तर मनाइँदै आएको छ ।
चौरासी सिद्ध नाथहरूमध्ये मीननाथ, गोरक्षनाथ, चौरंगीनाथ, चामरीनाथ, तान्तिपा, हलिपा, केदारीपा, धोंगपा, दारिपा, विरूपा, कपाली, कमारी, कान्हा, कानखल, मेखल, उन्मन, काण्डली, धोवी, जालन्धर, टोंगो, मवह, नागर्जुन, दौली, भिषाल, अचिती, चम्पक, ढेण्टस, भुम्वरी, बाकली, तुजी, चर्पटि, भादे, चाँदन, कामरी, करवत, धर्मपापतंग, भद्र, पातलीभद्र, भानु, मीन, निर्दय, सवर, सान्ति, भतृहरि, भीषण, भटी, गगनपा, गमार, मेनुरी, कुमारी, जीवन, अधोसाधक, गिरिवर, सियारी, नागवली, विभवत्, सारंग, विविकिधज, मकरधज, अचित, विचित, नेचक, चाटल, नाचन, भीलो, पाहिल, पासल, कमल-कंगारी, चिपील, गोविन्द, भीम, भैरव, भद्र, भमरी र मरूकुटी गरी जम्मा ७६ जनाको मात्र नाम उल्लेख छ ।
राहुल सांस्कृत्यायनद्वारा संकलित तिब्बती बज्रयानी ग्रन्थमा उल्लेख गरिएको ८४ सिद्धिहरू यी हुन् : लूहिपा, लीलापा, विरूपा, डोम्भीपा, शवरीपा, सरहपा, कंकालीपा, मीनपा, गोरक्षपा, चोरंगीपा, वीणापा, शान्तिपा, तन्तिपा, चमरिपा, खड्कपा, नागर्जुन, कण्हपा, कर्णरिपा, थगनपा, नारीपा, शलिपा, कुचिपा, धर्मपा, महिपा, अचिन्तिपा, भलहपा, नलिनपा, भूसुकपा, ईन्द्रभूति, मेकोपा, कुडालिपा, कमरिपा, जालन्धरपा, राहुलपा, धर्मरिपा, धोकरिपा, मेदनीपा, पंकजपा, धण्टापा, जोगीपा, चेलुकपा, गुण्डरिपा, लुचिकपा, निर्गुणपा, जयानन्त, चार्पटिपा, चम्पकपा, भिखनपा, भलिपा, कुमारीपा, चवरि, मणिभद्रा (योगिनी), मेखलापा (योगिनी), कनखलापा (योगिनी), कलकलपा, कन्तालीपा, धहुलिपा, उधनिपा, कपालपा, किलपा, सागरपा, सर्वभक्षपा, ननगवोधीपा, दारिकपा, पुतुलिपा, पनहपा, कोकालिपा, अनंगपा, लक्ष्मीकरा, समुदपा र भलिपा ।
अवलोकेतेश्वर :
वोधिसत्व अवलोकेतेश्वरलाई लोकेश्वर (विश्वनाथ), पद्मपाणी, अर्धनारीश्वर, भोलेनाथ, नीलकंठेश्वरलगायत १०८ नामले पुकारिन्छ । उनको सर्वप्रथम उल्लेख महायान बुद्ध धर्मको अवतंसक सूत्र वा महावैपूल्य सूत्रमा पाइन्छ । त्यसपछि लेखिएको "लोटस"सूत्रको २५ औं अध्यायमा अवलोकेतेश्वरको पशुहरूको रक्षक (पशुपति) को रूपमा वर्णन गरिएको छ ।
अवलोकेतेश्वरलाई ३३ देवताको रूपमा पनि लिइन्छ । जसमा ईन्द्र, प्रजापति, रूद्र, बसु, आदित्य आदि छन् । तिब्बती वौद्ध धर्मका अनुसार यिनको हृदयबाट वोधिसत्व आर्य तारा वा श्यामा (काली)को जन्म भएको मानिन्छ । चौथो शताब्दीको अन्त्य र पाँचौंको सुरूतिर संकलित मन्त्रहरूको संग्रह कारण्डव्यूह सूत्रमा आँखाबाट चन्द्र सूर्य, निधारबाट महेश्वर, काँधबाट ब्रम्हाको, हृदयबाट विष्णुको, घोडाबाट महालक्ष्मीको, दाँतबाट सरस्वतीको, मुखबाट वायुदेवको, पेटबाट वरूण र खुट्टाबाट पृथ्वीको जन्म भएको उल्लेख छ ।
अवलोकेतेश्वरलाई शिव (शान्तचित्तको करूणामय) को रूपमा पनि पूजिन्छ । नेपालमा अवलोकेतेश्वरलाई रातो र सेतो मछिन्द्रनाथको रूपमा पूजिन्छ । वर्षमा एकदिन पशुपतिनाथलाई अवलोकेतेश्वरको रूपमा पूजिन्छ । बूढानीलकण्ठ (भुईजसी) मा मस्तकमा बुद्ध मूर्ति रहेको बुद्ध नीलकण्ठको रूपमा अवलोकेतेश्वरकै मूर्ति हो । मुक्तिनाथमा वौद्धहरू अवलोकेतेश्वर र हिन्दुहरू नारायणको रूपमा पूजा गर्छन् । भारतको त्रिलोकनाथ मन्दिरको मस्तकमा बुद्ध पाइन्छ ।
श्रीलंकामा नाथदेवको रूपमा अवलोकेतेश्वरको पूजा गरिन्छ । म्यानमारमा अवलोकेतेश्वरको पूजा लोकनाथको रूपमा गरिन्छ । तिब्बती लामा परम्परामा अवलोकेतेश्वरलाई चेनरेजिक (तेस्रो आँखाले हेर्नेवाला) भनिन्छ । चीनमा अवलोकेतेश्वरलाई पुरूष र महिला दुवै वोधिसत्वको रूपमा पूजिन्छ ।
चीनी यात्री ह्वेनसङ (सातौं शताब्दी)ले तामिलनाडुको तिरूनालवेदी जिल्लाको अवासमुन्द्रमसँगै माउन्ट पोतलकामा रहेको अवलोकेतेश्वरको विहारमा राजा हर्षवर्धनले पूजा गरेको उल्लेख गरेका छन् । त्यसैगरी बुद्धमित्रको वीर सोलियम ग्रन्थ र महायानी अवंतसक सूत्रमा समेत अवलोकेतेश्वर (शिव)ले अगस्त्य ऋषिलाई तामिल सिकाएको प्रसंग पाइन्छ ।
संभवतः यहीँबाट हिन्दु (ब्राम्हण) धर्मका अहिलेका देवीदेवताको चर्चा सुरु भएको हुनुपर्छ । भारतमा मुगलकालदेखि गोरखनाथ मठ बुद्ध परम्परा छोडेर "हिन्दु" (ब्राम्हण) धर्मतिर ढल्किँदै गएको पाइन्छ ।