site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामनारायण विडारीको स्मृतिमा सुवास नेम्वाङ– अहिलेसम्मकै अब्बल सभामुख

काठमाडौं । संविधानसभा सदस्य रामनारायण विडारीले सुवास नेम्वाङलाई एक अब्बल सभामुखका रूपमा स्मरण गरेका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष रहँदा संविधान मस्यौदा समिति सदस्यका रूपमा विडारीले सहकार्य गरेका थिए ।

विडारीले नेम्वाङको कार्यशैली स्मरणयोग्य रहेको बताए । उनका अनुसार संविधान निर्माणका क्रममा नेम्वाङले प्रत्येक धारामा चासो राख्थे । सहमतिको राजनीतिमा जोड दिन्थे ।

Argakhachi Cement Island Ad

“उहाँ (सुवास नेम्वाङ) असल हुनुहुन्थ्यो, उहाँ बडो डिप्लोम्याट हुनुहुन्थ्यो । सहमतीय राजनीतिको सिद्धान्तमा हुनुहुन्थ्यो,” विडारीले भने, “मैले नै भन्नुपर्दा सबै कम्युनिस्टहरू एक हुनुपर्छ भनेर मलाई उहाँले पटक–पटक भन्नुभएको थियो । नेकपा बनाउने कुरामा पनि उहाँको महत्त्वपूर्ण भूमिका थियो । नेकपा बनिसकेपछि पार्टी फुट्न नदिन पनि उहाँले सक्दो मिहिनेत गर्नुभएको हो ।”

संविधान निर्माणका क्रममा नेम्वाङले हरेक धारामा आफ्नो धारणा बुझेको उनले स्मरण गरे । “संविधानसभामा बसेर मैले काम गर्दाखेरि म मस्यौदा समितिमा हुँदा उहाँले बारम्बार बोलाउनुहुन्थ्यो । संविधानका हरेक धाराका बारेमा मेरा धारणा बुझ्नुहुन्थ्यो र आफ्ना धारणा पनि भनेर मेरो विचारमा राख्नुपर्नेचाहिँ यो हो जस्तो लाग्छ, यो गर्नुपर्छ भन्नुहुन्थ्यो,” विडारीले भने, “म संविधान मस्यौदाकारमध्येका पाँचजनामा थिए । त्यसमध्येमा मलाई छुट्टै बोलाएर प्रत्येक धारामा कुरा गर्नुहुन्थ्यो । यसको अर्थ उहाँ आफूलाई लागेको कुरा कार्यान्वयन गर्नका निम्ति सबैसँग यसै गर्नुहुन्थ्यो होला भन्ने लाग्छ मलाई ।”

नेम्वाङ नेपालको अहिलेसम्मकै अब्बल सभामुख भएको उनको भनाइ छ । “म उहाँलाइ एउटै शब्द भन्छु– नेपालको अहिलेसम्म बनेका सभामुखमध्ये सबभन्दा अब्बल सभामुख हो । उहाँका सबै कुरामा म सहमत भइनँ होला, कहीँ विरोध पनि गरे हुँला । कैयौँ कुरा उहाँले भनेको मानिनँ होला, तर सभामुखको रूपमा उहाँ अहिलेसम्म भएका सभामुखहरूमध्ये उत्कृष्ट र अब्बल हुनुहुन्थ्यो,” विडारीले भने ।

उनले नेम्वाङ एकदमै सरल व्यक्ति भएको बताए । “उहाँ कस्तो सरल हुनुहुन्थ्यो भने, राति फोन गरे पनि उठाउने । जुनसुकै बेला फोन उठाउने । केही गरी फोन उठेन भने कलब्याक गर्ने । यस्तो प्रकारको सरलता भएको मान्छे हो उहाँ,” विडारीले भने, “अहिले उहाँ अलिक चाँडै बित्नुभयो । उहाँ केही वर्ष बाँच्नुभएको भए मुलुकलाई फाइदा नै हुन्थ्यो, कुनै नोक्सान हुने थिएन ।”

संविधान जारी हुने समयमा पनि नेम्वाङको महत्त्वपूर्ण भूमिका रहेको उनले सम्झिए । “संविधान जारी गर्ने बेलामा उहाँले राम्रो भूमिका खेल्नुभएको छ । भारतबाट दूत नै आएर यो संविधान जारी गर्ने दिन १५ दिनको लागि भए पनि, सात दिनको लागि भए पनि स्थगित गर्नुपर्‍यो भनेर रोक्ने प्रयास हुँदा शीर्ष नेताले त के–के भन्नुभयो मलाई थाहा हुने कुरा भएन,” विडारीले स्मरण गरे, “तर, उहाँले मलाई बोलाएर संविधान जारी गर्नुपर्छ, तपाईंले पनि शीर्ष नेताहरूलाई संविधानसभामा ह्वीप लाग्दैन भन्ने व्याख्या गरेर अहिले जारी नगरे अस्तव्यस्त हुनसक्छ भनेर भन्नुस् भन्दै छलफल गर्नुभएको कुरा मलाई अविष्मरणीय लागेको छ ।”

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्