site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशका नौ महिना : मुख्यमन्त्री चार र नौपल्ट मन्त्रिमण्डल हेरफेर 

विराटनगर । प्रदेशसभाको दोस्रो निर्वाचनपछि कोसी प्रदेशमा गएको पुस २४ गते नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)ले समेत समर्थन गरेका थिए ।

९३ मध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले पुस २५ गते मन्त्रिमण्डल विस्तार गरे । त्यसयता यहाँ चारपटक मुख्यमन्त्री र १५ मन्त्री फेरिएका छन् । यो अवधिमा नौपटक मन्त्रिमण्डल हेरफेर गरिएको छ । पछिल्लोपल्ट गठित सरकारले समेत विश्वासको मत प्राप्त गर्ने/नगर्ने टुंगो छैन ।

पुस २४ गते बलियो बहुमतसहित गठित कार्की नेतृत्वको सरकार असार १५ गते ढल्यो । कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । एमालेबाहेक राप्रपाले मात्र साथ दिँदा उनले ४६ मत पाए । प्रदेशसभाको विश्वास प्राप्त गर्न ४७ मत आवश्यक थियो ।

केन्द्रमा फेरिएको सत्ता गठबन्धनको असर कोसीमा पनि परेको थियो । माओवादी र जसपा प्रतिपक्ष दल नेपाली कांग्रेसतिर ढल्कँदा कोसीमा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

कार्की दोस्रो कार्यकालका लागि भदौ २१ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि, निवर्तमान मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्ष इस्राइल मन्सुरीले समेत मतदान गरेका थिए । सर्वोच्च अदालतले त्यो प्रक्रियालाई बदर गरिदियो । सर्वोच्चले संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन परमादेश दिएको थियो । सर्वोच्चको परमादेशसँगै कार्की मुख्यमन्त्रीमा दोहोरिएका हुन् ।

असार २१ गते थापाले सभामुखको समेत हस्ताक्षर गराएर सरकार गठनका लागि पहिलोपल्ट दाबी पेस गरेका थिए । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरियो । साउन ११ गते सर्वोच्चले त्यो प्रक्रियालाई पनि बदर गरिदिएको थियो । त्योसँगै उनी पदमुक्त भए । साउन १६ गते थापा दोस्रोपटक मुख्यमन्त्री बन्दा सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाइएको थियो ।

कार्कीले पहिलोपल्ट मन्त्रिमण्डलमा एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई सहभागी गराएका थिए । पुस २९ गते माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य र एमालेका बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।

कार्की सरकार ढलेपछि असार २२ गते तत्कालीन मुख्यमन्त्री उद्धव थापाले नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री बनाए । असार २४ गते माओवादीका जीवन आचार्य र राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्री मन्त्री बनाइए । साउन ११ गते सर्वोच्चको आदेशसँगै सरकार ढल्यो ।

साउन १६ गते थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भए । उनले भोलिपल्ट मन्त्रिमण्डल विस्तार गरे । माओवादीका बाबुराम गौतम, कांग्रेसका प्रदीपकुमार सुनुवार र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई मन्त्री बनाए । मन्त्रिमण्डलमा साउन २६ गते जसपाकी निर्मला लिम्बू थपिइन् । साउन ३१ गते कांग्रेसका गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त गरिए । उनी प्रदेशसभाका ज्येष्ठ सदस्य हुन् ।

सर्वोच्चको परमादेशसँगै भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले एमालेका तिलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र सिर्जना राईलाई मन्त्री बनाएका छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका शेरधन राई र भीम आचार्य र एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । पहिलो पाँचवर्षे कार्यकालमा कोसीमा ३३ जना मन्त्री बनेका थिए । सातपटक मन्त्रिमण्डल विस्तार गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro